www.tandavnews.com
Fact ~ In search of truth

मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

काठमाडौं ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ ।

क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान ८ः४० बजे काठमाडौँ अवतरण गर्नेछ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्मु भएर त्यहाँ अलपत्र अवस्थामा थिए ।

Batas

मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याउन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।

उनले भने, ‘निगम राष्ट्रिय ध्वजाबाहक भएको नाताले मुनाफा वा फाइदा मात्रै हेर्न मिल्दैन, हामी नागरिकको सेवा सुविधा एवं सामाजिक उत्तरदायित्व बहन गर्न पनि उत्तिकै जिम्मेवार र प्रतिबद्ध हुनुपर्छ र छौँ ।’

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज प्रयोग गर्न लागेको हो । वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ ।

निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको थियो । निगमले कोभिड–१९ महामारीको संक्रमणमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध गरिएको अवस्थामा पनि उद्धार उडान तथा कोभिडका औषधिजन्य सामग्री ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.