www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ :अल्ट्रा म्याराथनको तयारी तीव्र

तनहुँ ।

शहीद दिवसको अवसरमा यही माघ १६ गते आयोजना हुने चौथो तनहुँ व्यास अल्ट्रा म्याराथनको तयारी तीव्र पारिएको छ । चवालीस किमी दूरीको म्याराथनका लागि देशका विभिन्न जिल्लाबाट धावकहरुले नाम दर्ता गर्ने क्रम जारी रहेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः ८५ हजार ७७, ६५ हजार ७७, ५५ हजार ७७ र सान्त्वना पाँच जनाले १६ हजार ७७ नगद पुरस्कार पाउनेछन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः ८१ हजार ७६, ६१ हजार ७६ र ५१ हजार ७६ प्राप्त गरेका थिए ।

Batas

माघ १४ गतेसम्म नाम दर्ताको समय राखिएको र १५ गते धावकलाई अभिमुखीकरण सञ्चालन गरिनेछ । धावकले नियम पालना गरे÷नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिनेछ । व्यास–४ व्यास रेन्जपोष्ट, व्यास–१० पिजनहिल खहरे, व्यास–७ पाथ्रा मन्दिर, व्यास–७ पातल सत्रसय, व्यास–८ रिस्ती सोतीबेँसी, व्यास–८ सुनपोखरी, व्यास–८ गाडापानी र व्यास–८ पुलिमराङमा चेकविन्दु स्थापना गरिनेछ ।

म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटारचोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँडिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जितेका थिए ।

उनले ४४ किमी दूरी दुई घण्टा ५९ मिनेटमा पार गरेका थिए । प्रतियोगितामा कालिकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएका थिए। रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.