पोखरा,
ताण्डव न्यूज ।
गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम घृणा गर्न लायक पनि नभएको बताएका छन् ।
आफ्नो स्वार्थ लाद्ने छुट कसैलाई नभएको जिकिर गर्दै सांसद थापाले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

थापाले भने,‘व्यवस्था विगार्ने छुट कुनैपनि शासकलाई हुँदैन, संविधान एउटा दायरा हो । चाहिएको बेला संशोधनका नाममा आफ्नो स्वार्थ लाद्ने छुट कसैलाई छैन ।’उनले थपे,‘कहिले पार्टी विभाजनको अध्यादेश ल्याएको छ, कहिले संसद विघटन भनेको छ । संविधानमै नभएको संसद विघटनजस्तो घृणित कार्यप्रति मेरो विरोध छ, गम्भीर असहमति छ । कुनैपनि हालतमा यो संसद पुनः स्थापना हुनुपर्छ । नेपाली कांग्रेसको एक सुत्रीय माग यही हो र मेरो पनि ।’
जनताका लागि गरिएको भनिएको राजनीतिले पटक पटक जनतालाई दुख दिएको भन्दै जनमतमाथिको अपमान सयौँ वर्षसम्म क्षम्य नहुने थापाको भनाई थियो ।उनले प्रधानमन्त्री ओलीको जति विरोध गरे पनि कम नहुने बताए ।केपी शर्मा ओली राष्ट्रको सर्वोच्च पदले विवेक गुमाउँदा देशले कुन हदसम्मको क्षति ब्यहोर्नुपर्छ भन्ने स्पष्ट सिरियल भएको थापाले बताए ।
यसैबीच सांसद थापाले निर्वाचनको ३ वर्ष पूरा भइसक्दा पनि प्रदेश सरकारको कामले जनताको सामान्य अपेक्षा पनि पुरा गर्न नसक्दा वितृष्णा बढ्दै गएकोतर्फ ध्यानाकर्षण गराए ।
महंगी, करआतंक, विकास निर्माणमा सुस्तता, जनप्रतिनिधिले लिएको सेवा सुविधा लगायत बिषयले जनतामा आक्रोश बढेको उनले बताए ।
यसैबीच सांसद थापाले आफ्नो सेवासुविधा तथा तलबबाट विकास निर्माण र सामाजिक कार्यमा गरेको सहयोगको विवरण सार्वजनिक गरेका छन् । सांसद थापाले सार्वजनिक गरेको सहयोग विवरण अनुसार हाल सम्म उनले विकास निर्माण र सामाजिक कार्यमा १२ लाख ४७ हजार ४० रुपैयाँ खर्च गरेका छन् ।
सांसद थापाले आगामी दिनमा पनि जनताको जीवनस्तर उकास्ने अभियानमा निरन्तर जुटिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.