www.tandavnews.com
Fact ~ In search of truth

संरक्षक नै गुमाएपछि…..

धादिङ ।

कठ्याङ्ग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही विद्यार्थी यही हुलमा थिए ।

उनीहरुको शरीरमा पातलो कपडा छ । थरथर कापिरहेका आठ विद्यार्थीमध्ये पाँचले आमा गुमाएका र तीन जना बाबुआमा दुबै गुमाएर अभिभावकविहीन हुन् । यो कथा जस्तो लाग्ने विषय बेनिघाटरोराङ गाउँपालिका–३ खानी गाउँमा रहेको तीन कन्या बागेश्वरी आधारभूत विद्यालय खानी गाउँको हो ।

Batas

यो विपन्न बालबालिका पढ्ने विद्यालयको रुपमा परचित छ । एउटा पातलो लुगामा देखिएका चार वर्षीय सिर्जन प्रजा यहाँ पढ्छन् । उनको बाबुले दुई वर्ष अघि आत्महत्या गरे । बाबुको मृत्युपछि भूकम्पले भत्काएको घर पुनः निर्माण प्राधिकरणको सहयोगमा बनाउँदै गर्दा आमा ६ महिना अघि विवाह गरेर गएपछि सिर्जन अब टुहुरा भए । ६ वर्षीया दिदी आक्रेसी र ११ वर्षीया आक्रोसी उनका अभिभावक भएका छन् जो सँगै विद्यालय आउजाउ गर्छन् ।

एकसरो लगाउने लुगा छैन । मैलो भएको लुगा, अनुहारमा समेत निन्याउरो पार्दै विद्यालय आएका उनीहरु कहिलेकाहीँ मात्र घरमा खाना खाएर आउने गरेको उनीहरुले बताए । घरमा कोही नभएपछि मामाघर वृद्ध हजुरबुबा हजुरआमाको संरक्षणमा रहेका चेपाङ बालबालिकाको अवस्था टिठलाग्दो र दयनीय छ । जसको अब कोही नभए पनि पढ्नमा भने अब्बल रहेको र विद्यालयको उत्कृष्ट विद्यार्थी रहेर पनि सबै किसिमको सहयोग गर्न नसकिएको विद्यालयका शिक्षक दुर्गा कार्कीले बताए ।

त्यहाँ अध्ययन गर्ने ४ वर्षीय सानुकान्छा, ३ वर्षीया गङ्गा र जमुना मगरको आमाले एक वर्षअघि गरिबीले आत्महत्या गरेकाले सहाराविहीन बन्न बाध्य भए । उनीहरुको अभिभावक भनेको कक्षा २ मा पढ्ने दावा र कक्षा ३ मा पढ्ने गीता मगर मात्र हुन् । चरम गरिबी झेलिरहेका उनीहरुको बाबु ज्याला मजदूरी गर्छन् । कहिलेकाँही मात्र घरमा खाने कुरा ल्याउछन् । धेरैजसो घरमा आउँदैनन् । खाने कुरा अभावमा उनीहरु धेरैजसो खाली पेट विद्यालय आउँछन् । भोकै आएको दिन विद्यालयले खाजा खुवाउने समय कुर्छन् ।

उनीहरुको बाबु छन् तर खाना र लुगा लगाउन नै समस्या छ । मैलो र पुरानो कपडामा विद्यालयमा देखिएका उनीहरु गरिबीसँग जुधेर भए पनि पढाइमा भने अब्बल छन् । विद्यालयले दिने खाजाका लागि आउने र पढाइमासमेत राम्रो भएका चेपाङ र मगर परिवारका बालबालिका अवसर पाए प्रगति गर्नसक्ने क्षमता भएका विद्यार्थीमध्ये रहेको विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर लोहनीले बताए ।

चरम गरिबीले सरक्षक नै गुमाएका बालबालिकाका लागि स्थानीय सरकार, शिक्षाका लागि काम गरिरहेका सहयोगी र अन्य दाताहरुलाई सहयोग उपलब्ध गराउने वातावरण बनाउन विद्यालयका शिक्षकहरुले आग्रह गरेका छन् । विद्यालयमा ३० दलित, सात चेपाङ, २९ जनजाती र अन्य ३६ गरी १०२ बालबालिकाले अध्ययन गरिरहेको प्रधानाध्यापक लोहनीले जानकारी दिए । विद्यालयमा ४५ छात्रा छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.