www.tandavnews.com
Fact ~ In search of truth

कोरोना विरुद्धका खोप लगाएपछि चिकित्सकहरु उत्साहित

पोखरा,
ताण्डव न्यूज ।

नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ ।

पहिलो चरणमा कोरोना महामारी विरुद्ध अग्रपंक्तिमा खटिएकाहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ । कोरोना विरुद्धको खोप लगाएर चिकित्सकहरुले खोप लगाएपछि उत्साहित भएको प्रतिक्रिया दिएका छन् । कोरोना विरुद्धको खोप लगाउने सरकारले तयारी गरेकै समय जनस्तर र स्वास्थ्यकर्मीबाटै विभिन्न शंकाउपशंका भइरहँदा हिजो चिकित्सकहरुले उत्साहजनक रुपमा कोरोना विरुद्धको खोप लगाएर सबैलाई सकारात्मक सन्देश दिएका छन् ।

Batas

गण्डकी प्रदेशका ११ जिल्लाका १४ वटा खोपकेन्द्रबाट खोप लगाउन सुरु गरिएको छ । पहिलो डोज खोप लगाएपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्मालाई अब कोरोना जितिन्छ भन्ने लागेको छ । केही व्यक्तिलाई खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिङ्गाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता समस्या हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

भेरी प्रादेशिक अस्पताल बाँकेका प्रमुख डा. प्रकाश थापाले अन्य खोप लगाए सरह कोरोना विरुद्धको खोप लगाए तर उनमा कुनै समस्या देखिएको छैन । उनले सीआईएनसँग कुराकानी गर्दै कोरोना विरुद्धको खोप अन्य खोप समान रहेकाले डराउनु पर्ने र आत्तिनुपर्ने अवस्था नरहेको बताए । महामारी विरुद्धको लडाईंमा कोरोना विरुद्धको खोपले नयाँ आशा पलाएको उनको भनाइ छ ।

सुदुरपश्चिम प्रदेशले बाजुरा बाहेकका सबै जिल्लामा खोप लगाउन सुरु गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.गुणराज अवस्थीले कोरोना विरुद्धको खोप लगाएर उत्साहित भएको प्रतिक्रिया दिएका छन् । चितवनको भरतपुर अस्पतालमा मात्रै ७ सय कर्मचारी कार्यरत छन् ।

पहिलो खोप लगाएका मेडिकल सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीलाई खोप लगाएको ठाउँमा दुख्ने बाहेक अरु कुनै समस्या देखिएको छैन । उनले यी समस्या सामान्य भएकाले डराउनुपर्ने अवस्था नरहेको र सबैलाई निर्धक्क साथ कोरोना विरुद्धको खोप लगाउन पनि आग्रह गरेका छन् । विश्वका विकसित देशहरुमा समेत कोरोना विरुद्धको खोपको परीक्षण भईरहेको छ ।

भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको कोभिशिल्ड खोप लगाएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा।शेर बहादुर पुन पनि खुशी छन् । खोप लगाएपछि खुशी भएको भन्दै उनले महामारी विरुद्धको लडाईंमा कोरोना विरुद्धको खोपले आशा जगाएको बताए ।

चिकित्सकहरुका अनुसार १८ वर्ष उमेर नपुगेकाले यो खोप लगाउन हुँदैन । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवती, कोरोना सङ्क्रमित व्यक्तिहरुले पनि खोप लगाउन हुँदैन । पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या देखिएका व्यक्तिलाई दोस्रो डोज नदिईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.