www.tandavnews.com
Fact ~ In search of truth

स्वरोजगार बन्दै पोर्चुगलका नेपाली

पोर्चुगल ।

पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग गरेका छन् । कोरोनाको कारण उद्योग, व्यवसायको उत्पादनमा गिरावट आएपछि बेरोजगार भएका नेपालीले घरमै बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् ।

हुन पनि सन् २०२० को शुरुआतसँगै विश्व कोभिडबाट त्रसित भयो । विश्वका लाखौँ नागरिक संक्रमित भए । मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकाले प्रायः सबै देशले आपत्काल घोषणा गरे । रोजगारीका लागि विश्वभर छरिएका नेपाली जस्तै यहाँका बस्दै आएका नेपाली बेरोजगार भए । बसाइँ अनुमतिपत्र बनाउन सजिलो हुने भएकाले पछिल्लो समयमा पोर्चुगलमा आप्रवासी बढेसँगै नेपाली समुदायको पनि संख्या बढ्दै गएको छ ।

Batas

यसरी बेरोजगार भएका केही नेपालीले सरकारबाट पाइने सुविधा बेरोजगारी भत्ता (फुण्दो) पाएर दैनिक खर्च टारेका छन् त केही नयाँ बसाइँ अनुमतिपत्र नबनिसकेका नेपालीलाई सरकारी सुविधा, रोजगार, बेरोजगारी भत्ता नभएकाले बस्न, खान निकै समस्या छ ।

शुरूआतका केही समय नेपालबाट पैसा मगाउँदै दैनिकी खर्च टार्दै गरे पनि लामो समसयसम्म कोरोनाको महामारी नरोकिएपछि थप समस्यामा परेका नेपाली युवायुवतीले घरमा बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् ।

समयको मागअनुसार आफ्नो सीपको सदुपयोग गर्दै आम्दानीको स्रोत खोज्नतिर नेपाली केन्द्रित भएका छन् । बाक्लो संख्या रहेका नेपाली समुदायलाई आवश्यकता पर्ने मःमः, समोसा, सेलरोटी, पनिरलगायत खाद्यान्न तयार गरी बिक्री वितरण गर्ने अभियानको शुरुआत गर्दै नेपालीले पनि मनग्ये आम्दानी गर्न थालेका छन् ।

पर्बत घर भइ विगत एक वर्ष पहिला पोर्चुगल पुगेका घनश्याम भुसाललाई तयारी मःम बनाउन भ्याइनभ्याई छ । दैनिक १०० प्लेटभन्दा बढी मःमको माग आउँछ । शुरु–शुरुमा १०/१२ प्लेट माग आउने गथ्र्यो । उनी एक्लै बनाउँदै आएकोमा अहिले बजारमा माग बढी आउन थालेपछि श्रीमती र आफू मःम बनाउँनै व्यस्त छन् । अझ आफूले बनाएको मःम नेपालीले मात्रै नभएर विदेशीले पनि लैजाने गरेको उनी बताउछन् ।

उनी मात्रै होइन, सुनिता सापकोटा पनि सेलरोटी, समोसा बनाउन व्यस्त छन् । उनी नेपालबाट काम गर्ने अनुमति लिएर पोल्याण्ड गए, तर बसाइँ अनुमतिपत्र बनाउन सहज हुने हुटहुटीले पोर्चुगल पुगे । उनी पोर्चुगल आएपछि कोरोना शुरु भयो । अनि उनले जानेको सीप सेलरोटी बनाउने भएकाले बजारमा सेलरोटीको माग छ कि छैन भनेर बजारको अध्ययन गर्न थाले । उनलाई हौसला प्रदान गर्दै काम गर्न अनुरोध गरेपछि अहिले बाहिर काम खोज्नु पर्ने अवस्था छैन ।

बनेपाका कृष्ण तिमिल्सिना घरमा दूधबाट पनिर बनाउन निकै ब्यस्त छन्। उनी पनि कोभिड प्रभावले घरमा पनिर तयार गर्ने अभियानमा लागे । दश वर्षे जनयुद्धमा होमिएका तिमिल्सिना शरीरमा गोलीको छिर्का लिएर उज्ज्वल भविष्य बनाउन युरोपेली मुलुक पोर्चुगलमा छन् ।

रोजगारीको खोजीमा विदेशिनु भएका तिमिल्सिनालाई कोभिडले झनै समस्या थप्यो । जीविकोपार्जन गर्न कठिनाइ भएपछि अहिले उनले पनिर बनाउँदै आएका छन् । दैनिक आठ घण्टा काम गर्दा मासिक ६६५ युरो पारिश्रमिक यहाँको सरकारले तोकेको भए पनि आफै घरमा पनिर बनाउँदा मासिक १००० युरोसम्म कमाइ भएको छ । ‘मेरो दुःख देख्नेहरुले पनिर किनिदिएर सहयोग गर्नुहुन्छ । म उहाँहरुप्रति निकै आभारी छु’, उनले भने ।

उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन्। उनीहरुजस्तै विभिन्न किसिमका काम गर्दै घरमै बसीबसी आयआर्जन गर्नेहरुको सख्या बढ्दो छ । इन्टरनेटको माध्यमद्वारा बसाइँ अनुमतिपत्र बनाउन आवश्यक पर्ने कागपत्र बनाउन वा प्रमाणीकरण गर्ने कामलाई सहजीकरण गर्दै आयआर्जन गर्नेहरुको संख्या पनि थुप्रै छ । घरघरमा पुगी सेवाग्राहीको चाहनाअनुसारको सौन्दर्य सम्बन्धित सेवा प्रदान गरिरहेका नेपाली दिदीबहिनी पनि उल्लेख मात्रामा भेटिन्छन्।

कोरोना महामारीको प्रकोप अझै पनि दिनानुदिन बढिरहेकाले पोर्चुगलमा बसोवास गरिरहेका नेपालीमाझमा रोजगारीको सम्भावना खोजीमा लाग्ने नेपालीको संख्या दिनानुदिन बढिरहेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.