www.tandavnews.com
Fact ~ In search of truth

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउः आठ करोड बक्यौता बाँकी

काठमाडौं ।

उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि आज बिहान सर्लाही पठाएको जानकारी दिए ।

Batas

उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उनलाई सर्लाही पठाइएको छ ।

उनका अनुसार सर्लाहीका उखु किसानले रु १७ करोड दाबी गर्दै अग्रवाललाई पक्राउ गर्न दिएको निवेदनका आधारमा काठमाडौँमा पक्राउ गरेर जिल्ला पठाइएको हो । अग्रवाल सञ्चालक रहेको दुई चिनी मिलले उखु किसानलाई रु आठ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।

गृह मन्त्रालयको तथ्याङ्कअनुसार सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिलको १७ करोड र नवलपरासीमा रहेको इन्दिरा सुगर मिलको  चार करोड ७० लाख गरी दुई चिनी मिलले २१ करोड ७० लाख बक्यौता रकम रहेको थियो । उक्त रकममध्येमा मंगलबार साँझसम्म अन्नपूर्णले १२ करोड ६३ लाख ७२ हजार र इन्दिराले ८३ लाख गरी १३ करोड ४६ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ ।

लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत मंसिर २८ गतेदेखि उखु किसानले काठमाडौँमा आन्दोलन शुरु गरेका थिए । आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो । उक्त सहमतिअनुसारको समय माघ ५ गते नै सकिए पनि चिनी उद्योगले अझै उखु किसानलाई सबै बक्यौता रकम भुक्तानी गरेका छैनन् ।

यसअघि प्रहरीले बक्यौता रकम भुक्तानी नगरेको भन्दै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई वीरगञ्जबाट प्रक्राउ गरिएको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.