www.tandavnews.com
Fact ~ In search of truth

नेपालको पहिलो ४०० केभी क्षमताको विद्युत सवस्टेशनको प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

जनकपुरधाम ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सवस्टेशनको आज उद्घाटन गरेका छन् ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सवस्टेशन ४००,२२० र १३२ केभी क्षमताको छ ।

Batas

नेपालमा विद्युतको एक शताब्दीभन्दा पुरानो इतिहास र विसं १९६७ मा फर्पिङ विद्युतगृह निर्माणपछि अहिले प्रथम पटक ४०० केभी सवस्टेशन निर्माण सम्पन्न भई ढल्केवर–मुजफ्फरपुर लाइनसहित ४०० केभी सञ्चालनमा आएको हो ।

संघीय सरकारको राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको जिआइएस प्रविधियुक्त सो सबस्टेशनमा हाल ३१५ एमभीएका तीन थान, ४०० र २२० केभी ट्रान्सफर्मर तथा ८० एमभीए क्षमताको एक थान, ४०० केभी रियाक्टर जडित छ जसबाट करिब ९०० मेगावाट विद्युत् आदानप्रदान गर्न सकिन्छ ।

हाल सञ्चालन रहेका नेपालका सबस्टेशनमध्ये सबैभन्दा ठूलो ढल्केवर सवस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरी परीक्षण सम्पन्न गरिसकिएको छ । सो सबस्टेशनलाई प्राधिकरणको इतिहासमा सबैभन्दा ठूलो सफलताका रूपमा पनि लिइएको छ ।

यी संरचनाले गर्दा ढल्केवर सवस्टेशन मुलुकभित्र नै पूर्वपश्चिम विद्युत् आपूर्ति र भारतसँग व्यापारका लागि ठूलो केन्द्रसमेत बन्न पुगेको छ । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करीब एक हजार मेगावाट विद्युत् आयानिर्यातका लागि पूर्वाधार तयार भएको छ भने ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।

वर्षायाममा बढी भएका खण्डमा ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतमा सीधै निर्यात गर्न सकिने छ । कूल ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडो याममा भारतबाट थप विद्युत् आयात गरी देशभित्रको माग धान्न आपूर्ति गर्न सकिन्छ । यस्तै ४५६ मेगावाटको माथिल्लो तामाकोशी आएपछि आन्तरिकरूपमा खपत हुन नसकेको विद्युत् निर्यात गर्ने पूर्वाधार तयार भएको छ ।

 

खिम्ती–ढल्केवर २२० केभी डबल सर्किटमा छिट्टै चार्ज गर्ने गरी कामसमेत भइरहेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत ढल्केवर पु¥याइने छ । ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन ४०० केभीमा चार्ज भए पनि विद्युत् प्रवाहको संरचनाको अभावले त्यसलाई १३२ मा परिणत गरी प्रवाह भइरहेको छ ।

कूल १३ बिघा १४ कठ्ठा वर्ग मिटर क्षेत्रफलमा रहेको सबस्टेशनको डिजाइन र निर्माणको सुपरीवेक्षण नेपाली इञ्जिनीयरले गरेका छन् । सो सबस्टेशन भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको छ भने सोहीबमोजिम अरूण तेस्रो जलविद्युत् आयोजनाबाट नेपालले प्राप्त गर्ने निःशुल्क ऊर्जासबस्टेशनलाई प्राप्त हुने प्रावधान भएकाले सोबमोजिम थप विस्तार पनि भइरहेको छ ।

सो सबस्टेशनबाट नेपाल भारतबीचमा करीब एक हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने र २२० केभीमा खिम्तीबाट आउने दुई फिडरमार्फत माथिल्लो तामाकोशीको विद्युत् आपूर्ति हुनेछ । त्यस्तै हेटौंडादेखि इनरवासम्म बन्दै गरेको ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि करीब दुई हजार मेगावाटसम्मको विद्युत् हेटौँडातर्फ र दुई हजार मेगावाटसम्मको विद्युत् इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तयार हुने छ ।

 

सो ४०० र २२० केभी सबस्टेशन सन् २०१७ डिसेम्बर ८(२०७४ मङ्सिर २२) मा ठेक्का सम्झौता भई निर्माण भएको हो भने २०२० नोभेम्बर ११ (२०७६ कात्तिक २६ गते ) मा चार्ज भई हाल ४०० केभीमा चालु अवस्थामा आएको छ ।

सो आयोजना सम्पन्न गर्न करीब १७.७४ मिलियन अमेरिकी डलर र नेपाली २२ करोड गरी जम्मा करीब नेपाली रकम दुई अर्ब २० लगानी छ । त्यसैगरी २२० र १३२ केभीको कूल लागत करीब ६.९ मिलियन अमेरिकी डलर र नेपाली २८ करोड छ जसमा बैंकको प्रसारण लाइन तथा सवस्टेशन गरी जम्मा १३८ मिलियन अमेरिकी डलर ऋण सहयोग छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.