www.tandavnews.com
Fact ~ In search of truth

भूजीखोला लघुजल विद्युत आयोजनाका मजदुरले पाँच महिनादेखि पाएनन् ज्याला

बागलुङ ।

पाँच महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौँ लघुजल विद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले पाँच महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् ।

गत भदौ १७ गते राति आएको बाढीले उक्त जलविद्युत् आयोजनाको नहर र विद्युतगृहमा ठूलो क्षति पु¥याएको थियो । ८४ किलोवाट क्षमता भएको आयोजनाका ७० मजदुरले २७ दिन लगाएर काम गरी पुनः सञ्चालनमा ल्याएका थिए ।

Batas

काम सकिएर विद्युत् सञ्चालन भएको पाँच महिना पुगे पनि आफूले गरेको मजदुरीको ज्याला अहिलेसम्म नपाएको स्थानीय मजदुर ओमकार विकले बताए । विकले २५ दिनसम्म लगातार काम गरेको तर अहिलेसम्म पूरा ज्याला नपाएको गुनासो गरे ।

‘बाढीले बिजुलीको कुलो र पावरहाउसमा ठूलो क्षति गरेको थियो, गाउँकै युवा मिलेर करिब एक महिना काम ग¥यौँ, बिजुली छिट्टै नै बाल्यौँ, तर अहिलेसम्म पनि पूरा पैसा पाउन सकेको छैनौँ’, विकले भने,‘काम गरेको पैसा नपाउँदा खर्च चलाउनै हम्मेहम्मे भएको छ ।’ मजदुरी गरेरै पाँच जनाको परिवार पाल्दै आएका विक काम गरेको पैसा नपाउँदा परिवार पाल्न समस्या भएको गुनासो गर्छन् ।

दिनको एक हजारका दरले पारिश्रमिक पाउने गरी सम्झौता गरेर महिना दिन काम गरेको भए पनि जम्मा नौ हजारमात्रै पाएको उनको भनाइ छ । काम गरेको पारिश्रमिक नपाएपछि विद्युतगृहमा काम गरेका मजदुरले केही समय पहिले विद्युतगृहमै तालाबन्दीसमेत गरेका थिए । तर केही दिनमै पारिश्रमिक दिन्छौँ भन्ने प्रतिबद्धतापछि एक दिनमै ताला खोलेको उनीहरुको भनाइ छ ।

बाढी पसेर विद्युतगृहमा क्षति पुगेपछि गाउँमा निरन्तर बत्ती नबल्दासम्म आफूहरुले खटेर काम गरेको भए पनि आयोजनाले पारिश्रमिक नदिएको अर्का मजदुर टेकबहादुर विकको गुनासो छ ।

विद्युतगृहको नहरमा भौतिक संरचनामा पुगेको क्षतिलाई सामान्य बनाउन २७ दिन काम गरेको उनको भनाइ छ । भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजनाका अध्यक्ष पदम घर्तीमगरले ऋण धन गरेर बाढीले क्षति पु¥याएको विद्युत् सञ्चालनमा ल्याएको भन्दै सरकारी निकायबाट सहयोग नहुँदा आफूहरु नै समस्यामा परेको बताउछन् ।

अहिलेसम्म, वडा, नगरपालिका, प्रदेश र केन्द्रबाट कुनै पनि सहयोग नभएको दुखेसो पोख्दै अवलोकन गर्न आउने नेताहरूले आश्वासन मात्रै दिएको उनी बताउछन् । सहयोग गर्छौँ भनेकाहरूले सहयोग नगर्दा मजदुरको पारिश्रमिक समयमा दिन नसकेको घर्तीले बताए ।

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले पाँच लाख दिने आश्वासन दिएको तर अहिले प्रदेशबाट आउँछ भन्दै उम्किएको बताए । गण्डकी प्रदेश सरकारले २२ लाख सहयोग गर्ने भने पनि त्यो सहयोगसमेत अझैसम्म नपाएको उनको दुखेसो छ । ‘बाढीले पीडित बनेका गाउँलेलाई लगाएर काम गरियो, उनीहरूले पैसापैसा भनेर अत्याएका छन् तर आयोजनासँग पैसा छैन, कहाँबाट दिने’, उनले भने ।

विभिन्न संघसंस्था तथा व्यक्तिबाट चार लाख ५० हजार सहयोग भएको भन्दै अन्य सबै आफूहरूले व्यवस्थापन गरेको उनको भनाइ छ । बाढीले उक्त आयोजनाको १५० मिटर कुलो बगाएको थियो भने विद्युत्गृहको जेनेरेटर, टर्वाइनलगायत मेसेरेनरी सामानमा क्षति पु¥याएको थियो ।

बाढीले क्षति पु¥याएको विद्युत् मर्मत गर्नका लागि २२ लाख बढी खर्च भएको अध्यक्ष घर्तीमगरको भनाइ छ । यस आयोजनाबाट ढोरपाटन नगरपालिका वडा नं ८ र ९ का आठ १०० घरधुरी जनता लाभान्वित छन् ।

बाढीले क्षति पु¥याएको विद्युत् आयोजना ४१ दिनपछि सञ्चालनमा आएको थियो । अध्यक्ष घर्तीमगरले १२ लाख बढी मजदुरको ज्याला र अन्य सामान खरिदमा खर्च भएको बताए । मजदुरलाई छ लाख भुक्तानी गर्न बाँकी छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.