संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।
गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो पटक मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने भएको छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण लामो समयसम्म सुनसान बनेको गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुन लागेको आयोजक संस्था कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।

सरकारले मंसिर पहिलो सातादेखि खेलकुद प्रशिक्षण लगायतका गतिविधि सञ्चालन गर्ने निर्णय गरेपछि खेल प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्ने क्रम सुरु भएसँगै गण्डकीमा पहिलो पटक मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको आयोजना गरिएको उनको भनाई छ ।
कोरोनाका कारण सुनसान बनेको खेल जगतलाई पुरानै लयमा फर्काउन तथा पोखरालाई पर्यटकीय मात्र नभई खेल नगरीको रूपमा पनि विकास गर्न टेवा पुग्ने गरी प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिता फागुन ४ देखि ८ गतेसम्म हुने भएको हो । अध्यक्ष पराजुलीका अनुसार प्रतियोगितामा प्रदेशका ११ ओटै जिल्लाका खेलाडीहरूको सहभागिता रहने गरी तयारीको लागि सबैलाई खबर गरिएको छ। प्रतियोगितामा महिला र पुरुषका छुट्टा छुट्टै खेलहरू राखिएको छ ।
प्रतियोगिता सञ्चालन गर्नको लागि केही रकम विनियोजन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुरा भइरहेको छ । अरू रकमको जोहो गर्नका लागि संघले व्यक्ति र संघ संस्थाहरुसँग सहकार्य गरिरहेको छ । यस वर्ष पहिलो पटक प्रतियोगिता आयोजना हुने भए पछि अर्को बर्षबाट प्रतियोगितालाई निरन्तरता दिनुपर्ने अध्यक्ष पराजुलीको भनाई छ ।
प्रतियोगितामा विजेता बन्ने महिला र पुरुष टोलीले २/२ दुई लाख नगद सहित र ट्रफी प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुनेहरूले १ लाख र तेस्रो बन्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा फरक फरक ५ ओटा बिदामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको तयारीका लागि अहिले प्रदेशका सबै जिल्लाहरूमा खेलाडी छनोटको काम भइरहेको छ। संघका अध्यक्ष पराजुलीका अनुसार गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई ध्यानमा राखेर त्यसैलाई खेलाडी आपूर्ति समेत हुन सक्ने गरी प्रतिभावान् भलिबल खेलाडीको खोजी पनि यो प्रतियोगितामा हुने छ ।
कास्की जिल्ला भलिबल संघका अनुसार गण्डकी प्रदेशको कास्की, स्याङ्जा, गोरखा, तनहुँ, मनाङ, मुस्ताङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), म्याग्दी, बागलुङ, लमजुङ र पर्वतका गरी ११ ओटी जिल्लाका खेलाडीहरूको सहभागिता प्रतियोगितामा रहने भएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.