www.tandavnews.com
Fact ~ In search of truth

‘टिकट काटेर गुरुङ फिल्म हेर्ने कल्चरको विकास गर्नुपर्नेछ ’

पाेखरा
ताण्डव न्यूज । 

‘घर दैलोमा टिकट किनेर होइन, चलचित्र हलमा गएर सहयोग गरौं’ भन्ने मूल नाराका साथ गुरुङ चलचित्रहरु नियमित रुपमा प्रदर्शन हुने तयारीमा छन् । विसं २०५२ सालमा ‘पाते’ नामक गुरुङ चलचित्रबाट निर्माण सुरुवात भएपनि २५ वर्ष लामो यात्रा पार गरेपनि बल्ल गुरुङ चलचित्र हलमा नियमित प्रदर्शन हुन लागेको छ । माघ २३ र २४ गतेबाट पोखराको मिडटाउन सिनेमाजमा ‘कर्म क्याँ’ प्रदर्शन हुँदैछ ।

यसैबिषयमा गुरुङ फिल्म एसोसियसन नेपालका अध्यक्ष भोजबहादुर गुरुङसँग ताण्डव न्यूजले गरेको कुराकानी  :-

Batas

गुरुङ चलचित्रको नियमित प्रदर्शनको तयारी कस्तो हुँदैछ ?

गुरुङ चलचित्रको २५ वर्षको इतिहासमा हेर्नुपर्दा अहिलेसम्म घरदैलो टिकट विकाउने, स्पोन्सर उठाउने तरिकाबाटै बजार व्यवस्थापन भएको थियो । अब यसरी कति दिन चल्छ भन्ने पनि भयो । अब नियमित प्रदर्शन गर्नुपर्छ भन्ने सोंच बनायौ । हाम्रो बजार फराकिलो बनाउन पर्छ भन्ने हिसावले माघ २३ गतेदेखि गुरुङ चलचित्र नियमित हलमा प्रदर्शन गर्ने भन्ने जिफानले अवधारण ल्याएका छौं । २३ र २४ गते ‘कर्म क्याँ’ गुरुङ चलचित्र पोखराको मिडटाउन सिनेमाजमा प्रदर्शन हुँदैछ । चलचित्र हेर्नको लागि अनलाइन टिकट किन्ने वातावरण मिलाइसकेका छौं । प्रविधमैत्री पूर्ण नभएपनि के हो कसरी हो भन्ने अन्योल परेको अवस्था पनि छ । प्रारम्भिक सुरुवात भएकोले नयाँ बजार व्यवस्थापनको जानको लागि सिकिरहेका छौं । अब हामी घर दैलो गर्दैनौ । अब गुरुङ चलचित्र हेर्नको लागि एक दिन प्रिमियर शो, र बाँकी नियमित प्रदर्शन गर्ने तयारीमा जुटेका छौं ।

गुरुङ चलचित्र नियमित प्रदर्शन हुने भनेपछि कलाकार, निर्माताहरु कत्तिको उत्साहित हुनुहुन्छ ?

कलाकार, निर्देशक उत्साहित त भएकै देख्छु । तर निर्माताहरु उति सारो खुशी देख्दिन । किनभने कोभिडले गर्दा ५० प्रतिशत अकोपेन्सी लिनुपर्छ । त्यहीमाथि ५ प्रतिशत मनोरन्जन ट्याक्स र १३ प्रतिशत भ्याट गर्दा रेभिन्यु कम हुने हुँदा निर्माताहरु उतिसारो खुशी भएको पाएको छैन् । यो सुरुवाती दिन हो सबैले सहयोग गर्नुप¥यो भनेर हामीले यसको बारेमा बुझाउँदैछौं ।

फिल्म प्रदर्शनको तालिका सार्वजानिक गर्नुभएको छ, तोकिएका फिल्म सकिएपछिको निरन्तरता कस्तो रहनेछ ?

हामीले आगमी असार महिनासम्मको लागि तालिका सार्वजानिक गरेका छौं । नयाँ फिल्ममेकरहरु फ्लोरमा जानुभएको छ । निरन्तरता पाउनेमा हामी ढुक्क छौं । नयाँ चलचित्रहरु आउनेछन् । अहिले तत्काल असार सम्मकोलागि १५ वटा चलचित्र प्रदर्शन हुनेछन् ।

प्रदर्शनको सुरुवात पोखराबाट हुँदैछ । बाहिर जिल्लाहरुका हल सञ्चालकसँग कुराकानी भएको छ कि छैन् ?

पोखरा भन्दा बाहिरका हल सञ्चालकहरुसँग पनि कुरा भएको छ । जिफानकै बजार व्यवस्थापन प्रमुख अमिर गुरुङले चितवनमा बुझ्नुभएको छ । पोखराकै सिस्टमले प्रदर्शन गर्ने हो भने हामी पनि प्रदर्शन गर्दिन्छौं भन्नुभएको छ । तर अहिले विश्व बजार नै शून्य रहेको अवस्थामा गुरुङ फिल्म चलाइएपनि हाम्रो कन्टेन्टले दर्शक तान्न सक्छ कि सक्दैन् भन्ने हो । यसकोलागि पहिला एकदुई सिनेमा हलमा प्रदर्शन गरेर हेरौं भन्ने छ । पोखराको मिडटाउनमा गुरुङ फिल्म चल्दैछ, टिकट काटेर हेरौं भन्ने कल्चरको विकास गर्नुछ । त्यसपछि त अन्य हलमा प्रदर्शन गर्नेछौं ।

२५ वर्ष लाग्यो फिल्म प्रदर्शन गर्नको लागि, नियमित प्रदर्शन गर्ने प्रक्रिया निकै अप्ठ्यारो रैछ है ?

गुरुङ फिल्म किन साँघुरो हुँदै गयो । किन जनमानसमा पुग्न सकेको छैन भन्ने कुरा मलाई लागि राखेको थियो । विशेषत २०५२ सालमा पाते चलचित्रको सुरुवात भयो । बैशाखमा गुरुङ चलचित्रको सुरुवात भयो भने सोही वर्षको फागुनबाट देशमा जनयुद्ध सुरुभयो । जनयुद्धले गर्दा मानिसहरु स्वतन्त्र रुपमा एकठाउँबाट अर्को ठाउँमा जान नपाउने भए । वातावरण सहज भएन । १० वर्ष द्धन्द्धमै रुमलियो । त्यसपछि २०६२÷०६३ को आन्दोलन, नाकाबन्दी लगायतका यावत समस्याले गर्दा निरन्तरता हुन पाएन । अर्को कुरा हाम्रो फिल्म मेकर साथीहरुपनि हिजो जुन दर्शकलाई लक्षित बनाएर फिल्म बनाइएको थियो आज पनि सोही शैली हुन थाल्यो । नयाँ अपडेट हुन सकेन् । यसले पनि जति मात्रमा सफल हुन पर्ने हो त्यो हुन सकेन् । अहिले भने पोखरालाई फिल्म नगरी बनाउनको लागि गुरुङ चलचित्र कर्मीहरु लागि राखेका छन् ।

नियमित प्रदर्शन हुनु चलचित्र कर्मीको लागि ठूलो अवसर पनि हो । चुनौतिहरु पनि थुप्रै छन होला नि ?

तत्कालै हेर्दा चुनौतिहरु थुप्रै छन् । अहिले कोभिडले गर्दा नेपाली सिनेमाको बजार त शून्य छ । हाम्रोमा टिकट घरमा पु¥याइदिए फिल्म हेर्न जाने, टिकट दिनुपर्ने अवस्था छ । यस्तो सोंचलाई नयाँ प्रोसेसबाट आचरणमा ल्याउनुपर्नेछ । प्रविधिमैत्री बनाउन पर्नेछ ।

गुरुङ चलचित्र भन्ने बित्तिकै लाहुरे ,रोधि बस्ने मात्र भन्ने बुझिन्छ । यो बाहेक अन्य कथा छैनन र ? के गुरुङ चलचित्रमा कथाको अभाव भएकै हो ?

समाजको मनोविज्ञानले यसलाई ठूलो असर पारेको छ । २ सय वर्षभयो लाहुरे परम्परा सुरु भएको । यो परम्पराले आशिष दिँदा पनि लाहुरे हुनु भन्ने चलन थियो । त्यही मनोविज्ञानले चलचित्र निर्माता, कलाकारले सोही परम्परालाई उतार्न थाले । यसले गर्दा कथाबाचन गर्ने शैली एउटै हुन गएको हो । २५ वर्षे फिल्म यात्रा लाहुरे कल्चरमा छ । तर, गुरुङ कल्चरमा लाहुरे मात्र होइन हाम्रै मिथकहरु छ, विश्वास पद्धति छ । यसमा ध्यान दिनपर्नेछ । हाम्रो कथाबाचनहरु नौलो हुनुपर्ने छ । यसको स्थापना कसरी गर्ने भनेर सेमिनार, गोष्ठी भैरहेको छ । गुरुङ चलचित्रलाई ठूलो परिवर्तन गर्नुपर्नेछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.