www.tandavnews.com
Fact ~ In search of truth

सेनाले धारा बनाईदिएपछि स्थानीयका दुःखका दिन गए

संजय रेग्मी,
पर्वत / ताण्डव न्यूज ।

बर्षौँदेखि पानीको समस्या भोगिरहेको पर्वतको मोदी गाउँपालिका–५ बाजुङ्गको ओखलढुंगा गाउँमा नेपाली सेनाले आफ्नै लगानी खानेपानी आयोजना निर्माण गरेको छ ।

सिंगो गाउँको लागि दुई ओटा धार मात्रै रहेको गाउँमा गर्मी महिनामा खडेरी लाग्दा पानी नआउने अनि बर्खामा हिलो र लेदो सहितको पानी आउने समस्या रहेको थियो । गाउँमा पानीको समस्या समाधान गरिदिन भनी विभिन्न निकायमा धाउँदा पनि कहीँकतैबाट बजेट नपाएर निरास बनेका स्थानीयलाई नेपाली सेनाको पर्वतमा रहेको केवजंग गुल्मले पानीको व्यवस्था गरिदिएको हो ।

Batas

नेपाली सेनाको सामाजिक आर्थिक विकासका पूर्वाधार निर्माण कार्यहरू अन्तर्गत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित गुल्मले पानीको आयोजना बनाइदिएपछि गाउँलेहरूले वर्षौँदेखि भोग्दै आएको समस्या समाधान भएको हो । गाउँबाट करिब आठ सय मिटर टाढा रहेको पानीको स्रोतलाई प्रयोग गरेर इन्टेकहरू निर्माण गरेर गाउँमा पानी वितरण गरिएपछि गाउँलेहरूलाई सुविधा भएको गुल्मका सेनानी रमेश थापाले बताए ।

पानीको मुहानपछि २० हजार लिटर पानी अट्ने क्षमताको ट्याङ्की निर्माण गरेर अहिले गाउँमा पानी वितरण भइरहेको छ । २२ परिवारका लागि २२ ओटा धारा बनाइएको छ भने बाटो हिँड्नेहरूका लागि सार्वजनिक ठाउँमा दुई ओटा र बालज्योती आधारभूत विद्यालयमा एउटा धारा राखिएको छ ।

सेनाको १० लाख, मोदी गाउँपालिकाको दुई लाख र स्थानीयको जनश्रमदान एक लाख रुपैयाँ गरी १३ लाख रुपैयाँको लगानीमा खानेपानी आयोजना सम्पन्न भएको हो । वर्षौँदेखि भोग्दै आएको समस्या दुई महिनामा नै समाधान भएपछि गाउँलेहरू पनि खुसी भएका छन् । स्थानीय सुरेशबहादुर क्षेत्रीले अब कहिले फोहोर पानी पिउनुपर्ने त कहिले त्यही पानी पनि नपाउने अवस्थाको अन्त्य भएको बताए । ‘गाउँमा खानेपानीको समस्या रहेको भनेर वडादेखि पालिका र सरकारका अन्य निकायमा पनि धाएका थियौँ ।

तर छायामा परेको गाउँलाई कसैले योजना दिएन । अहिले आर्मीले २५ ओटा धारा राखेर गाउँमा पानी बाँडेको छ । सेनाले हाम्रो दुःख देख्यो ।’ उनले भने, ‘फागुन चैत जस्ता गर्मी महिनामा गाउँमा ल्याइएका दुई ओटा धारा सुक्ने गरेका थिए । त्यो बेलामा गाग्री बोकेर आधा किलोमिटर टाढा रहेको खोलामा पानी लिन जानुपर्ने बाध्यता थियो । बर्खा याममा हिलो र लेदो सहितको पानी धारामा आउँथ्यो त्यही पानी पिउनुको विकल्प थिएन। अब भने बर्खा र गर्मी दुवै अवस्थाको समस्या समाधान भएको छ ।’

खानेपानी आयोजनाको नेपाली सेना पश्चिम पृतना हेडक्वार्टरका पृतनापति विनय विक्रम राणा र मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेलले संयुक्त रूपमा शुभारम्भ गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.