www.tandavnews.com
Fact ~ In search of truth

देशभर लाइसेन्सका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघ्यो

काठमाडौं ।

नयाँ चालक अनुमतिपत्रका लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् ।

गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो । झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा .लोकनाथ भुषालले बताए । उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । उनले भने, ‘सेवाग्राहीले अनुकूल समयमा फारम भर्न सक्नुहुन्छ ।’

Batas

गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भिड भएकाले सेवाग्राहीले फारम भर्न सकेका थिएनन् । अहिले फारम भर्न नसकिने समस्या हटेर गएको प्रवक्ता डा .भुषालले जानकारी दिए । ‘अहिले पनि बिहान र साँझभन्दा दिउँसोको समयमा फारम भर्ने सेवाग्राही धेरै छन्’, उनले भने, ‘फारम नै भर्न सकिएन भन्ने गुनासो बिस्तारै कम भएको छ ।’

विश्वव्यापी माहामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा पनि देखिन थालेको थियो । नेपालमा दोस्रो संक्रमित भेटिएसँगै सरकारले लागु गरेको बन्दाबन्दीका कारण देशभरका सबै सरकारी कार्यालयसँगै यातायात व्यवस्था कार्यालयहरु पनि बन्द भएका थिए ।

कोभिड–१९ बाट सुरक्षित हुँदै असारदेखि कार्यालय खुलेपनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो । कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखेपनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो । प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र संघीय सरकारअन्तर्गतको विभागबीचको समन्वयमा नै गत पुसदेखि नयाँ अनुमतिपत्र खुलाइएको थियो ।

संविधानअनुसार यातायातसम्बन्धी जिम्मेवारी संघ र प्रदेशमा बाँडिएपछि कार्यालयहरु नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । अहिले विभागले चालक अनुमतिपत्रको सर्भरको काम र छपाइको काम गरिरहेको छ ।

कार्यालयहरुले अनुमतिपत्रको परीक्षा सञ्चालन, वितरण र नवीकरण गर्दै आएका छन् । काठमाडौँ उपत्यकामा वाग्मती प्रदेश सरकारले एकान्तकुनासँगै चावहिल, सानो भर्याङ र जगातीमा रहेका कार्यालय रहेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.