www.tandavnews.com
Fact ~ In search of truth

जहाज थपेर उडान विस्तार गर्दै यती एयरलाइन्स,‘भ्यलेन्टाइन डे’मा विशेष अफर

काठमाडौँ ।

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ ।

यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्राएर गन्तव्यका साथै उडान संख्या बढाउने भएको हो । यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौँ आइपुग्नेछ । योसहित यतीसँग छ थान एटिआर जहाज हुनेछन् ।

Batas

कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीपछि खुलेको आन्तरिक उडानमा यतीले तीन एटिआर जहाजमार्फत आन्तरिक उडान गरिरहेको थियो । आगामी मार्चदेखि यतीले हाल भएका पाँचवटै एटिआर जहाज उडाउनेछ । थपिएको एटिआरले पनि छिट्टै उडान भर्ने कम्पनीको योजना छ ।

जहाज थपिएपछि मार्च महिनाबाट पूर्ण क्षमताका साथ आन्तरिक उडान हुने यती एयरलाइन्सका हवाई सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। यतीले हाल नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

प्रेम दिवसमा विशेष अफर

प्रेमदिवस ‘भ्यलेन्टाइन डे’ फेब्रुअरी १४ लाई मध्यनजर गर्दै यती एयरलाइन्सले पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ मा विशेष अफर सार्वजनिक गरेको छ । पर्वतीय उडानमा जाने यात्रुलाई विमानस्थलदेखि घरसम्म बससेवा उपलब्ध गराइनेछ । टिकट भने पुरानै मूल्य अथार्त आठ हजार ८४८ तोकिएको छ । अफर अन्तर्गत पर्वतीय उडानका यात्रुलाई प्रेम उपहारका साथै आठ जिबी डेटा तथा एक हजार क्यास बराबरको स्मार्ट टेलिकमको सीमकार्ड दिइनेछ ।
पोखरा–सिमरा उडान गरिने

आन्तरिक उडानमा बजार विस्तारको रणनीतिका साथ अघि बढेको यतीले छिट्टै पोखरा–सिमरा उडान गर्ने भएको छ । व्यापारिक तथा पर्यटकीय गन्तव्यमा उडान विस्तारको योजना बनाएको यतीले आवश्यक सम्पूर्ण तयारी गरिसकेको छ ।

पोखराका पर्यटन व्यवसायी तथा सरोकारवालासँग यतीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहितका पदाधिकारीले यसैसाताभित्र अन्तिम छलफल गरी उडान निर्णय लिइने कम्पनीले जनाएको छ ।

यतीले पोखराबाट भैरहवा र भरतपुर उडान गर्दै आएको भए पनि कोभिड महामारीका कारण अहिले उडान स्थगित गरिएको छ । उक्त उडान पनि छिट्टै सञ्चालन गरिने जनाइएको छ । यतीले हाल १४ गन्तव्यमा उडान भर्दै आएको छ । कोभिड महामारीकैबीच गत असोज ५ देखि आन्तरिक उडान शुरु भएको थियो । यसअघि भदौ १६ बाटै अन्तर्राष्ट्रिय उडान भएको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.