www.tandavnews.com
Fact ~ In search of truth

वृद्धाभत्ता मासिक पाँच हजार पुग्छ : उपप्रधानमन्त्री पोखरेल

ओखलढुङ्गा ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पु¥याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन् ।

गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उनले आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्ने उल्लेख गरे । उपप्रधानमन्त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको बताए । विकास र समृद्धिका अभियान निरन्तर अघि बढ्ने उनको भनाइ थियो ।

Batas

उनले अघिल्लो निर्वाचनमा प्रधानमन्त्री ओलीको हस्ताक्षरबाट उम्मेदवारी सिफारिस भएको स्मरण गर्दै विगतदेखि नै पार्टीको नेतृत्व ओलीले गरेकाले अहिले पनि ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने बताए । सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपाकै हुने उनले जिकिर गरे ।

खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले खानेपानीको समस्या समाधान गर्ने बताए । ओखलढुङ्गासहितका पहाडी जिल्लामा खानेपानीको अभाव देखिएकाले त्यसको समाधानमा सरकार जुटेको बताए । प्रधानमन्त्रीको नेतृत्वमा मुलुकको विकास अघि बढेको जिकिर गर्दै थापाले वर्तमान सरकारको विरोध गर्नेहरु विकासका बाधक बनेको आरोप लगाए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड–नेपाल समूहलाई प्राइभेट कम्पनीको सङ्ज्ञा दिए । उनले प्रचण्ड–नेपाल समूहले फोहोरी खेलमा मुलुकलाई लैजान खोजेपछि ताजा जनादेशमा जानु परेको बताए । प्रधानमन्त्रीको कदम असंवैधानिक बताउने समूह नै विधिविधानभन्दा फरक बाटोमा गएको उनले आरोप लगाए ।

प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले जिल्लाको विकासमा आफूले गरेका पहलबारे विस्तृतमा जानकारी गराएका थिए । उनले चिशङ्खुगढी गाउँपालिकामा प्रदेश सरकारबाट आएको बजेटबारे जानकारी गराउँदै स्थानीय सरकारले अपेक्षित काम गर्न नसकेको बताए ।

ओलीको पक्षमा जनमत बटुल्न जनसभा आयोजना गरिएको चिशङ्खुगढीका नेकपा नेता अशोक थापाले बताए । उनका अनुसार कार्यक्रममा हजारौँ सर्वसाधारण र नेकपाका नेता कार्यकर्ताको उपस्थिति थियो ।

रासस
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.