www.tandavnews.com
Fact ~ In search of truth

भ्यालेन्टाइन डेमा आन्तरिक पर्यटकले भरिभराउ सौराहा

चितवन ।

पर्यटकीय नगरी सौराहा प्रणय दिवस (भ्यालेन्टाइन डे) मा आन्तरिक पर्यटकले भरिभराउ भएको छ । शुक्रबार र शनिबारको बिदा र यसपछिको प्रणय दिवसले आन्तरिक पर्यटकको आगमन उत्साहजनक भएको हो ।

रेष्टुरेन्ट एण्ड बार एसोशिएसन (रेवान) सौराहाले यही अवसरमा खाद्य महोत्सवको समेत आयोजना गरेको छ । रेवानका निवर्तमान अध्यक्ष गोकर्ण गिरीका अनुसार सौराहाको हात्तीचोकदेखि गैँडाचोकसम्मको ६०० मिटर सडक किनारमा विभिन्न परिकारका कक्ष राखिएका छन् । दुईदिने महोत्सव आजसम्म जारी रहनेछ । महोत्सवका अवसरमा विभिन्न जातिका सांस्कृतिक पहिचान झल्कने खानाका परिकार राखिएका छन् ।

Batas

यस्तै ती जातिले सांस्कृतिक प्रदर्शनीसमेत प्रस्तुत गरिरहेका छन् । उहाँका अनुसार आज ब्राह्मणसहित विभिन्न जातिका नौ वटा जातीय सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन् । थारु, तामाङ, कुमाल, मगर, नेवारलगायतका जातिले आआफ्ना संस्कृति झल्कने प्रस्तुति देखाउने छन् । अध्यक्ष गिरीले भने, ‘अन्य व्यवसायी पनि उत्साहित भएका छन् ।’ सबैले यस्ता कार्यक्रम हरेक शुक्रबार गर्न सुझाएको उनले बताए । स्वीकृति पाएमा रेवानले हरेक हप्ता कार्यक्रम गर्ने उनको भनाइ थियो ।

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार सौराहाका सबै होटल भरिएका थिए । देशका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पारिवारिक र जोडी घुम्न आएका छन् । समूहगतरुपमा घुम्न आउनेको संख्या पनि राम्रो रहेको उनको भनाइ छ । संघका अध्यक्ष दीपक भट्टराईले आज पनि सौराहाका सबै होटल भरिने अपेक्षा गरिएको बताए । उनले भने, ‘लगातार बिदा र त्यसपछि परेको प्रणय दिवसले सौराहा भरिएको छ ।’

अंग्रेजी नयाँ वर्षको दिनपछि शनिबार सबैभन्दा बढी पर्यटक सौराहा आएको उनको भनाइ छ । पर्यटकको संख्या बढेसँगै अन्य पर्यटकीय गतिविधि पनि चलायमान भएको छ । हात्ती सफारी, डुङ्गा सयर, जीप सफारी, थारु सांस्कृतिक प्रदर्शनीसँगै अन्य व्यवसायमा पनि सकारात्मक प्रभाव देखिएको छ । राति अबेरसम्म सौराहाका राप्ती नदी किनारका रेष्टुरेष्टमा पर्यटक रमाउने गरेका छन् ।

सौराहामा पाँच हजार ५०० पर्यटकलाई एकैपटक राख्नसक्ने क्षमता रहेको छ । यहाँ १२० होटल र करीब १०० वटा रेष्टुरेन्ट सञ्चालनमा छन् । मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । विशेष पर्वमा भने सौराहा घुम्नका लागि मात्रै पनि पर्यटक आउने गर्दछन् । चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.