www.tandavnews.com
Fact ~ In search of truth

बेपत्ता परिवारको गुनासो : ‘ललिपप नदेखाउनुस’

अर्जुन गाहा (सुशान्त),

पोखरा/ताण्डव न्यूज ।

दश वर्षे जनयुद्धको समयमा बेपत्ता पारिएका परिवारका सदस्यहरुले आफुहरुलाई सरकारले न्याय दिलाउने बहानामा विभिन्न आश्वासन दिदै आएको गुनासो गरेका छन् ।

Batas

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगद्वारा पोखरामा आज (सोमबार) आयोजित अन्तरक्रिया कार्यक्रममा आफ्नो अभिव्यक्ति राख्दै उनीहरुले व्यक्तिलाई पशुसरह पैसामा तुलना गरेको भन्दै टिप्पणी गरेका हुन् । ‘मान्छेलाई पैसासँग तुलना गरेर मिल्ने ठाउँ त कतै छैन । दश औला जोडेर बिन्ति छ पैसासँग मान्छेलाई नजोड्दिनुहोला, श्रीमान र छोरा गुमाएका बेपत्ता परिवारका पीडित राधिका सिम्खडाले भनिन्, ‘हाम्रो परिवार बाँचेको भए हामी अरबौको सम्पत्ति कमाएर बस्न पाउथ्यौ कि ?’

पीडित सिम्खडाले बेपत्ता परिवारलाई ३ लाख र १० लाख दिनु भन्दा बेपत्ता पारिएका सदस्यहरु कहाँ छन् भन्ने स्पष्ट पार्नुपर्ने धारणा राखिन् । ‘हाम्रा परिवार कहाँ छन् जिउँदा छन् या मारियो स्पष्ट हुनुपर्याे हामी काजकिरिया गरेर बस्छौ बरु, उनले भनिन्, ‘हामीलाई त्यो ललिपप देखाउदै फकाउदै गर्ने काम अब सरकारले नगरोस । मान्छेलाई भेडा बाख्रा जस्तो व्यवहार नगरोस । हाम्रो त जिवनसाथी होनी हामीलाइ पिडा छैन होला ? हावाले पर्दा हल्लायो भनेपनि मेरो मान्छे आयो कि भन्ने अझै आश छ, उनले थपिन्, ‘तपाईहरुको मान्छे छैन फलानो ठाउँमा लगेर मारेको हो भन्ने स्पष्ट हुन पर्याे यीनै सरकारले हो हाम्रो मान्छे लगेको बेपत्ता बनाका । हाम्रो उमेर पनि दिनदिनै ढल्दै गयो त्यसैले अझै पनि ललिपप दिएर फकाउने काम सरकारले नगरोस ।’

त्यस्तै परिवारका आफ्ना एक्ला छोरा सोम बहादुर विकलाई गण्डकी अस्पतालबाटै लगेपछि पीडित ओम कुमारी विकले छोराको खोजी गर्न ३ वर्ष फुलबारी ब्यारेकमा धाएको बताईन् । ‘मेरो छोरोलाई सुराकीको आधारमा ५ जनाको जठ्ठाले फुलबारी ब्यारेकमा लगेको कुरा छ । कि गोलीगठ्ठासँगै लड्न गएको भए मार्न मिल्छ, उनले थपिन्, ‘प्रचण्डले जितेर खोज्छन गरे भनेर पटुकामा भोट माग्दै पनि हिडियो । उनका अनुसार ओमकुमारीका छोरा सोमबहादुरलाई फुलबारी ब्यारेकलले गण्डकी अस्पतालबाट २०५९ असार ३ गते शनिबार ९ बजे पक्रिएको थियो ।

त्यस्तै अणनाथ बरालले पनि आफ्ना छोरा नेत्र बराललाई बेपत्ता पारिएको बताउदै छोराको बारेमा अनविज्ञ रहेको बताए । ‘मारेपनि हामी किरिया गर्न पाईन्छ भनेर बसेका छौ तपाईहरुले सास या लास एकदम छिटो खोजिदिन पर्याे, पीडित बरालले भने, नत्र हामीलाई नहल्लाउनुस केही दिन पर्दैन । परिचय पत्र पनि नदिनुस केही छैन । तर हाम्रो भाईछोराको काजकिरिया गर्न पाउनुपर्याे । दोषी सहित प्रमाण सहित उपलब्ध गराईदिन पर्याे । उनले थपे नेता र आयोग सँग यही अनुरोध छ कि तत्कालै काजकिरिया गर्नुपर्याे ।

उनले बेपत्ता र सहिद परिवार भनेर नराम्रो आफ्नै आफन्तहरुद्वारा नराम्रो व्यवहारको शिकार हुन पुगेको अनुभव सुनाए । ‘कोही बिरामी भयो भने किरिया नगरेर हो के भनेर टाउको खाको छ । यो त बेपत्ता सहिद परिवार हो भनेर हामीसँग ईष्टमित्रहरु उपलब्ध हुदैनन् हामीसँग बोल्दैनन्, बरालले भने, ‘त्यस्तो स्थिति सिर्जना नगर्नुस । तर हाम्रा भाईछोरा नमरेको भए गणतन्त्र आउने थिएन । यति कुरा ख्याल गर्नुस ।’

त्यस्तै २०५९ सालमा आफ्ना छोरा बेपत्ता पारिएको स्मरण गर्दै कृष्ण प्रसाद पराजुलीले सरकारले बेपत्ता पारेकाले खोजी गर्ने कर्तव्य पनि सरकारकै रहेको बताए । उनले भने, ‘सरकारले बेपत्ता पारेपछि खोज्ने कर्तव्य सरकारको होईन ? सुनिन्छ भैरवनाथ गणमा ४९ जना लगेर जिउदो गाडियो भन्ने कुरा । ठिक छ जनयुद्धको समयमा मारियो तर लास त दिन पर्याे नी ।

पीडित तथा सरोकारवाला निकायसँग गरेको अन्तरक्रिया कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव कृष्णजीवी घिमिरेले आयोगको कार्ययोजना, प्रगती विवरण तथा भावी कार्यदिशाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको तथ्याङ्क अनुसार कास्कीमा ३६ वटा उजुरीको निर्णय भैसकेको छ भने ४ वटा छानविन गर्न बाँकी रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.