संजय रेग्मी
पाेखरा, ताण्डव न्यूज ।
नेपाली काँग्रेस, गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले बिगतका तीन बर्षमा गण्डकीमा भइरहेका कामहरुप्रति सरकारलाई धन्यवाद दिँदै आगामी दिनमा बिभिन्न कुरामा ध्यान दिनुपर्ने बताएका छन्।
गण्डकी प्रदेश सरकार स्थापना भएको तीन बर्ष पूरा भएको अवसरमा प्रदेश राजधानी पोखरामा आयोजना गरिएको तेस्रो वार्षिकोत्सव समारोहमा बोल्दै उनले गण्डकी प्रदेश सरकारले आगामी दिनमा ध्यान दिनुपर्ने बिभिन्न क्षेत्रहरुको फेहरिस्त सुनाए।

गत बर्षको दोस्रो वर्षको वार्षिकोत्सवमा पनि यस्तै कार्यक्रम गरिएको र अहिले तेस्रो बर्षमा आइपुग्दा भएका प्रगतिको बारेमा उनले प्रश्न उठाएक छन्। नेकपालाई जनताले पत्याएर दुई तिहाई मत दिएको भए पनि अहिलेको अवस्था आउनु दुःखद भएको नेता नेपालीको भनाई छ। देशको केन्द्रिय राजनीतिका कारण प्रदेश सरकारले गर्ने काममा समेत चुनौती आउन सक्नेतर्फ संकेत गर्दै उनले माथिको राजनीति जे भए पनि त्यसको प्रभाव प्रदेशमा नपार्न सुझाए।
गण्डकी प्रदेशलाई देशकै धनी र उत्कृष्ट प्रदेश बनाउने भनिएको भए पनि त्यो अनुसार प्रगति नभएको नेता नेपालीले औँल्याएँ। तीन बर्षमा अन्तराष्ट्रिय रंगशाला बनाउने भनिएको भए पनि त्यसले अहिलेसम्म कुनै आकार लिन नसकेको, एक स्थानीय तहमा एक औधोगिक ग्राम बनाउने भनिएकोमा त्यसमा प्रगति नभएको, पोखरा उपत्याकामा प्रवेश गर्दासाथ प्रदेश सरकार देखीने प्रगती नभएको उनको भनाई छ। देश संघियतामा जाँदा समेत मालपोत र नापी कार्यालयमा काम गर्ने पुरानै शैलीको भएको कारण जनताले संघियताको महसुस गर्न नसकेको उनले बताए।
‘मालपोत र नापीमा हिजोकै जस्तै बेथिती छ। बिना पैसा काम फटाफट भएको कुरा सुन्न पाइएको छैन्।’ नेता नेपालीले भने, ‘मालपोत र नापीमा पैसा नतिरीकन फटाफट काम भएको सुन्न पाइयोस्।’ प्रदेश सरकारले यति जनालाई रोजगारी दियो भन्ने केही नभएकोप्रति पनि उनले चासो देखाए। त्यस्तै, प्राकृतिक दोहन नियन्त्रणमा कुनै प्रगतिको कुरा नदेखिनु, प्रदेशमा धेरै कानुन बनाए पनि कार्यान्वनको पक्षमा ध्यान नहुनु लगायतका पक्षमा पनि उनले मुख्य मन्त्रीको ध्यानाकर्षण गराए।
‘सुर्ती र एक खिल्ली चुरोटका बिषयमा बनाइएका कानुन कहीँ लागु भएनन्। त्यो बेलामा कुन दुःखले हो ती बनाएको तर कार्यान्वन कहा भएको छ?’ नेता नेपालीले थपे, ‘बर पिपलको संरक्षण गर्न बनाइएको ऐनको कार्यान्वयन कहाँ पुग्यो? यसको कार्यान्वयन गर्ने दायित्व त सरकारकै हो।’ प्रदेशलाई राम्रो र शक्तिशाली बनाउने हो भने कर्मचारीको नियुक्तिका लागि प्रदेश लोकसेवा आयोग बनाएर त्यसै मार्फत कर्मचारी भर्ना गरिनुपर्ने र प्रहरी संगठन राम्रो बनाउनुपर्ने उनको धारणा छ।
आफूहरु कतिपय कार्यक्रममा जाँदा प्रदेश किन चाहियो? भनेर आक्रोशित आवाज आउने गरेको बताउँदै संसदीय दलका नेता नेपालीले यस प्रश्नको जवाफ प्रदेशको सफलता वा असफलता नै भर पर्ने बताए। प्रदेश सरकारका कामले सफलता पाएमा जनताबाट यस्ता प्रश्न नआउने तथा प्रदेशको सफलता वा असफलताले नै संघियताको सफलता वा असफलताको निधो गर्ने उनको भनाई छ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.