www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्ला स्तरिय भलिबल प्रतियोगिता’ सुरु, १० जिल्लाका २० टिमको सहभागिता

अर्जुन गाहा (सुशान्त)
पोखरा,ताण्डव न्यूज ।

पोखरामा आज (मंगलबार) देखी पहिलो संस्करणको ‘गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्ला स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०७७’ सुरु भएको छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा गण्डकी प्रदेश सरकारको समन्वयमा आजदेखी लिगकम नकआउट सिस्टममा भलिबल प्रतियोगिता सुरु भएको हो ।

Batas

कास्की जिल्ला भलिबल संघको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी फागुन ८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाले सहभागिता जनाएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले बताए । उनका अनुसार कास्की, नवलपुर, रुयाङ्जा, तनहुँ, लम्जुङ, गोरखा, पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङ जिल्लाका पुरुष तथा महिला टिमको सहभागिता रहेको छ । उनले १० जिल्लाका पुरुष र महिला गरि २० टिमको सहभागिता रहेको बताउदै हिमपातका कारण मनाङबाट सहभागि हुन नसकेको बताए ।

प्रतियोगिताको उद्घाटन खेलबाट महिलातर्फ म्याग्दी, पर्वत र तनहुँले जित निकालेको छ भने पुरुषतर्फ स्याङ्जा र तनहुँले विजयी हाँसिल गरेको छ । आज भएको खेलमा म्याग्दीले नवलपुरलाई, पर्वतले स्याङ्जालाई र तनहुँले लम्जुङलाई २–० को सोझो सेटमै पराजित गर्याे ।

त्यस्तै पुरुष तर्फ कास्कीलाई स्याङ्जाले र मुस्ताङलाई तनहुँले २–० को सोझो सेटले पराजित गरेको थियो । अध्यक्ष पराजुलीले म्याग्दी र बाग्लुङ बिच भएको अन्तिम खेल प्रतिकुल मौसमका कारण स्थगित भएको बताए । उनका अनुसार लिगकम नकआउटमा बेष्ट अफ थ्री अनुसार खेल सञ्चालन हुनेछन् भने नकआउट चरणपछि बेष्ट अफ फाईभ सिस्टममा सञ्चालन गरिने अध्यक्ष पराजुलीले बताए ।

यसअघि प्रतियोगिताको उद्घाटन पश्चात बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई खेलकुदको केन्द्र बनाउने उद्देश्य सहित अगाडी बढेको बताए । उनले सहभागी टिमहरुलाई अनुशासित भएर खेल प्रदर्शन गर्न समेत आग्रह गरेका थिए ।

सो प्रतियोगिताको बिजेता महिला तथा पुरुष दुवै टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित २ लाख प्राप्त गर्नेछ । त्यस्तै उपबिजेता टिमले कप, मेडल तथा प्रमाणपत्र सहित १ लाख हात पार्नेछ भने सान्त्वना स्थान हाँसिल गर्ने टिमले ५० हजार प्राप्त गर्नेछ ।

उक्त प्रतियोगिताबाट उत्कृष्ट बन्ने खेलाडीलाई ५ हजार कप र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ । त्यस्तै उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेण्डरलाई समेत जनही ५ हजारद्वारा पुरस्कृत गरिनेछ ।

प्रतियोगिता पश्चात नवौ राष्ट्रिय खेलकुदको लागि खेलाडीहरुलाई एक महिना बन्द प्रशिक्षणमा राखि उत्कृष्ट प्रतिभाको छनौट गर्दै गण्डकी प्रदेशको टिम निर्माण गरिने समेत आयोजकले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.