अफ्रिकी देशले नयाँ महामारीको घोषणा गरेको छ । पश्चिम अफ्रिकी राष्ट्र गीनीले तीन मृत्यु र आठ सङ्क्रमणका घटना पुष्टि भएपछि इबोलाको नयाँ महामारी घोषणा गरेको बीबीसीले जनाएकाे छ। पश्चिम अफ्रिकामा यसअघि इबोला महामारी अन्त्य भएको चार वर्षभन्दा बढी भइसकेको छ।
अहिलेसम्मकै सबैभन्दा घातक भनिएको इबोला महामारीले ११,००० भन्दा बढी मानिसको ज्यान लिएको थियो। पछिल्लो महामारी दक्षिण पूर्वी गीनीको एउटा अन्त्येष्टि समारोहबाट फैलिएको बताइएको छ। सन् २०१३ देखि २०१६ सम्म पनि त्यही क्षेत्रमा इबोला महामारी देखा परेको थियो।
इबोला जङ्गली जनावरमा रहेका भाइरसबाट मानिसमा सर्ने विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको भनाइ छ। त्यसपछि यो मानिसबाट मानिसमा सर्ने गर्छ।

यसको प्रारम्भिक लक्षणमा ज्वरो आउने, कमजोर अनुभव हुने, मांसपेशी दुख्ने र घाँटी खराब हुने हो। यी सुरुआतका लक्षणहरू मात्र हुन्, त्यसपछि बान्ता हुने, झाडापखाला लाग्ने र कसैकसैलाई आन्तरिक र बाहिरी रक्तश्राव पनि हुन्छ।
यो भाइरस सङ्क्रमण भएपछि मानिसमा रोगको लक्षण देखा पर्न लाग्ने समय दुईदेखि २१ दिनसम्म हुन्छ। इबोला सङ्क्रमण भएका वा इबोलाका कारण ज्यान गुमाएका व्यक्तिका रगत वा जीउबाट निस्कने तरल पदार्थ (रगत, दिसा वा बान्ता) सँग प्रत्यक्ष सम्पर्क हुँदा यो रोग सर्ने गर्छ।
इबोलाका बिरामीहरूको जीउबाट निस्कने तरल पदार्थले सङ्क्रमित भएका वस्तुहरूबाट पनि यो सर्छ।
इबोलाको सङ्क्रमण पुष्टि भएका वा आशङ्का गरिएका व्यक्तिको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीमा बारम्बार यो समस्या देखा पर्दै आएको छ।
प्रारम्भिक चरणको सङ्क्रमणका क्रममा परम्परागत सामुदायिक अन्तिम संस्कार महामारी फैलने अर्को माध्यम हो। किनभने समुदायका अधिकांश व्यक्तिले मृतकका शरीरलाई छुने, पखाल्ने र चुम्बन गर्ने गर्छन्।
इबोलाबाट ज्यान गुमाएका व्यक्तिको शव अत्यन्तै सङ्क्रामक हुन्छ।
बीबीसी
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.