www.tandavnews.com
Fact ~ In search of truth

अबदेखि ‘अटोरिक्सा’ले घुमाउनेछ कुश्मा

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

पर्वत सदरमुकाम कुश्मा बजार र कटुवाचौपारी जोड्ने गरी बनेको नेपालकै अग्ला र लामामध्येको एउटा कुस्मा–ज्ञादी जोड्ने झोलुङ्गे पुलमा घुम्दै गरेका पर्यटकहरुले पदयात्रीहरुलाई बन्जी जम्प कहाँनेर पर्छ ? भनेर सोधेको देख्न पाइन्छ । बन्जी घुम्न आएकाहरुले पनि झोलुङ्गे पुलमा जाने बाटो र त्यहाँ पुग्ने सवारीको सुबिधाका बारेमा सोधिरहेका हुन्छन् । तर त्यहाँ पुग्नको लागि बजारभित्र कुनै पनि सवारीको सुविधा छैन् ।

आफ्ना नीजि सवारी वा समूहमा मिलेर आएकाहरुले आफ्नै बस वा जीप ती गन्तब्यमा लिएर जाने भए पनि अन्य पर्यटकहरु भने गन्तब्यमा पुग्न उपाय नपाउँदा खिन्न बनेर बसीरहेको भेट्न पाइन्छ । झोलुङ्गे पुल, गुप्तेश्व गुफा, बन्जी जम्प, मोदीवेणी धाम लगायतका ठाउँहरु एकै ठाउँमा नहुँदा ती स्थानमा पुगेर आउनको लागि लामो समय मैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यही सम्स्याको समाधान गरी पर्यटक तथा बजारबासीहरुलाई पनि सुबिधा दिने उद्धेश्यले पर्यटकीय शहरको रुपमा विकास हुँदै गरेको पर्वत सदरमुकाम कुश्मा बजारमा अटो रिक्साको सुविधा थप्न लागिएको छ ।

Batas

बजारमा नगर बस सञ्चालनमा नरहेको अवस्थामा निजी साधन लिएर नआएका आन्तरिक तथा बाह्य पर्यटकहरूलाई फरक फरक गन्तव्यमा पुग्न समस्या भएपछि अटो रिक्साबाट सेवा दिन थालिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । कुस्मामा रहेका पर्यटकीय स्थलहरू छिरलिएका ठाउँमा रहेका कारण टाढाबाट आएका पर्यटकहरु अलमलमा पर्ने, बजारभित्र ठुला बसहरू छिराउँदा समस्या हुने र कतिपय ठाउँमा बस नजाने भएका कारण ती समस्याको समाधानको लागि अटो रिक्सा सञ्चलन गर्न लागिएको उनको भनाई छ ।

‘हाम्रो बन्जी एक ठाउँमा छ, पुलहरू अर्कातिर छन्, गुप्तेश्वर गुफा अर्कैतिर छ । कतिपय आन्तरिक पर्यटकहरूलाई ती ठाउँको रुट थाहा भए पनि अन्य जिल्लाबाट आउने तथा बाह्य पर्यटकहरूलाई रुट चिन्न पनि समस्या छ ।’ नगरप्रमुख जोशीले भने, ‘त्यसमा पनि बजारमा ठुला गाडी छिराउँदा ट्राफिक जाम लगायतका समस्या देखिने गरेको छ । निजी सवारी नभएकाहरूलाई पर्यटकीय गन्तव्य पुग्न सहज होस भन्ने हिसाबले यो काम गर्न लागिएको हो ।’

कुश्मा नगरपालिका अन्तर्गतको पर्यटन समितिका सदस्य तथा अटो रिक्सा सञ्चालन तथा व्यवस्थापन तर्फका संयोजक शिव शर्मा पौडेलले कुस्मा बजारमा पर्यटकहरूको आगमन बढ्दै गएकाले कुस्मा–ज्ञादी जोड्ने गरी बनेको मोदी खोलामाथिको झोलुङ्गे पुल, कुस्मा–मुडिकुवा जोड्ने झोलुङ्गे पुल, कुस्मा–खरेहा जोड्ने मोदीमा नै बनेको झोलुङ्गे पुल, कुस्मा–बलेवा जोड्ने गरी काली गण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल, गुप्तेश्वर गुफा, बन्जी जम्प, बन्दै गरेको सुपर म्यान शैलीको जीपलाईन लगायतका ठाउँमा जाने गरी अटो रिक्सा चलाइने जानकारी दिए ।

‘लकडाउनको बेलामा समेत बन्जीले पर्यटक तानेको थियो। बन्जीमा आएका पर्यटकहरु अन्य ठाउँमा जाँदा नै समस्या भयो। कोरोना अवस्था सामान्य रहँदा पर्यटकहरूको सङ्ख्या झनै बढिरहेको छ ।’ उनले भने, ‘बजारलाई पर्यटनमैत्री बनाउनको लागि पनि यो कामको महसुस भएको थियो । पर्यटकहरूलाई घुम्न मात्रै नभई गाउँबाट विभिन्न कामले बजारमा आएकाहरूलाई फरक फरक कार्यालय वा ठाउँमा जानको लागि सुविधा पाउँदै छन् ।’

पर्वत पर्यटन प्रवर्द्धन केन्द्रका संस्थापक अध्यक्ष समेत रहेका पौडेलले अब बाहिरबाट आउने ठुला बसहरूलाई बजारको मुखैमा रहेको बान्द्रेबिँडी बसपार्कमा राखेर पर्यटकहरूलाई त्यहीँ झारिने छ । बसपार्कबाट पर्यटकीय गन्तब्यहरुसम्म जानको लागि तयारी अवस्थामा रहेका अटो रिक्साले सेवा दिने भएपछि यसले उद्योग तथा व्यापारको समेत प्रवर्द्धन हुने उनको भनाई छ । ‘ठुला बस बजार हुँदै सिधै गन्तव्यमा पुगेर सिधै फर्किने गर्थे। पर्यटकहरूले राम्रोसँग बजार समेत देख्न पाउँदैनथे ।’ उनी भन्छन्, ‘अब रिक्सामा बसेर बजार बजार डुल्दा यहाँका उत्पादन तथा विभिन्न बस्तुहरू किनेर चिनेको रूपमा लैजान पाउने छन् ।’

अटो रिक्सा सञ्चालन भएपछि गन्तव्यमा पुग्ने रुट थाहा नपाएर अलमलमा परेका तथा आफ्नो सवारी नहुँदा पैदल यात्रा गरेर ती ठाउँमा पुग्न कष्ट भोग्दै आएका पर्यटकहरूलाई सहज हुने छ । लामो समयदेखि पर्यटनको क्षेत्रमा काम गर्दै आएका पौडेलले यो ठाउँमा अटोरिक्सा सुबिधा दिँदा प्राकृतिक दृश्य, कालीगण्डकीको खोच लगायत ठाउँ हेर्दै पर्यटकहरुलाई डुलाउँदा उनीहरुलाई फरक खालको महसुस हुने पनि बताउँछन् ।

घरेलु तथा साना उद्योग कार्यालयसँगको सहकार्यमा अहिले अटो रिक्साको चालक बन्न चाहनेहरुलाई तालिम दिने काम भइरहेको छ । अटो रिक्सा सञ्चालनमा आएपछि कम्तीमा पनि २५ जनाले प्रत्यक्ष रोजगारी पाउने लक्ष्य राखिएको छ । चालकहरूलाई अहिले एक महिने तालिम चलिरहेको र उनीहरूले सवारी चालक अनुमति पत्र प्राप्त गरेपछि सुरुमा बढीमा २५ ओटा सम्म अटो रिक्सा सञ्चालन गर्ने तयारी रहेको नगरपालिकाले बताएको छ ।

अटोरिक्साको लागि भइरहेको चालक तालिममा सिक्न चाहनेहरुको भीड उल्लेख्य रहेको यसमा काम गर्न चहाने निकै हौसिएको पाएको तालिम प्रदायक आर.सी. दाईको ड्राईभिङ स्कुलका सञ्चालक आर.सी. पौडेल (रामचन्द्र) बताउँछन् ।

बेरोजगार भएर बसेका युवाहरूको लागि पनि यो यो योजना उपयोगी हुने कुस्मा नगरपालिकाले बताएको छ । चालक आफैले चाहेमा अटो रिक्सामा लगानी गर्न सक्ने, यदि नसकेमा लगानी कर्ता खोजेर बैङ्कमा न्यूनतम ब्याजमा कर्जाको व्यवस्थापन गरेर पनि बेरोजगारी समस्याको हल गर्न आफूहरूले प्रयास गर्ने नगरप्रमुख जोशी बताउँछन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.