अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ । नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो।
सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए।
अवतरणकाे केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो।सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्थामा छ/छैन भनेर हेरिने छ।

यो सन् १९७०को दशकको भाइकीङ मिसन पछि मङ्गल ग्रहमा जीवनको सम्भावना बारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ। छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो।
मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो।
हालसम्म मङ्गल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्।
अमेरिकी प्रयास एकपटक मात्रै सन् १९९९ मा विफल भएको छ।
बीबीसी
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.