www.tandavnews.com
Fact ~ In search of truth

घान्द्रुक आठभाई बाह्रघर प्लहनेरो खलक चेलीबेटीको ‘ठेटर गीत’ विमोचन

अर्जुन गाहा (सुशान्त)
पोखरा/ताण्डव न्यूज ।

घान्द्रुक आठभाई बाह्रघर प्लहनेरो खलक चेलीबेटीद्वारा भकारी ईभेन्टस् प्रालिको व्यानरमा निर्मित ‘रैछ बरी लैलै’ र ‘आँखामा बसीगयो कोईले’ ठेटर गीत विमोचन गरिएको छ ।

पोखरामा सोमबार एक कार्यक्रमको आयोजना गर्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहेका भाईखलक एकता समाजका अध्यक्ष खडक बहादुर गुरुङले अन्नपूर्ण गाउँपालिका १०/११ घान्द्रुकमा छायांकन गरिएको दुई वटा मौलिक तथा ठेटर गीत विमोचन गरेका हुन् । उनले सो अवसरमा बोल्दै आफ्नो चेलीबेटीले मौलिक लोक नृत्यको जगेर्ना गर्न लागेको भन्दै प्रशंसा गरे ।

Batas

उनले हिउँदको समयमा घान्द्रुकको डाडाँमा ठेटर नाचेको स्मरण गर्दै आफुलाई युवा अवस्थाको झल्को आएको सुनाए । उनले आफ्नो चेलीबेटीहरुलाई सिर्जनशिल कामको लागि माईतीपक्षको सदाबहार सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

त्यस्तै शुभकामना व्यक्त गर्दै भकारी ईभेन्ट प्रालिका प्रबन्धक निर्देशक कृष्ण कुमार गुरुङ गाउँमा पाईने मौलिक सामाग्रीलाई आँगनमा सजाएर उक्त ठेटर गीत तयार पारेको बताए । ‘यो गीत लाहुरे प्रथासँगै नेपाल भित्रिएको हो अरु गीतमा भन्दा यसमा बढि मनोरञ्जन हुने भएकाले बढी लोकप्रिय बन्यो, निर्देशक गुरुङले भने, ‘आफ्नै गाउँघरको काठे ठेट भाषा हालेर लय बनाईयो मादल समाउन थालियो र ठेटर नाँच भनिएको हो ।’

उनले ठेटर नाच पछिल्लो समय गण्डकी प्रदेशको विभिन्न ठाउँहरुमा फरक फरक लय र भाकामा नाचिने बताए । उनले उक्त गीतमा फिल्मीशैलीको रस नहुने बताउदै बढि मौलिकता झल्कने र वास्तविकतालाई प्रस्तुत गरिने धारणा राखे ।

उनका अनुसार उक्त गीतको छायांकन काश गुरुङले गरेका छन् भने नेत्र गुरुङले सम्पादन गरेका छन् । त्यस्तै राष्ट्रिय गीत तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष तथा तमु कलाकार संघका अध्यक्ष सुरेन्द्र गुरुङले उक्त गीतले मौलिक संस्कृतिको जगेर्ना गर्न थप सघाउ पुर्याउने धारणा राखे । उनले धेरै गुरुङ बस्तीहरुमा ठेटर नाँच नाचिने बताउदै प्लहनेरो खलकले संरक्षणको प्रयास थाल्नु उदाहरणीय कार्य रहेको बताए । उनले सो प्रकारको मौलिक संस्कृति झल्कने गीतहरुको संरक्षण गर्न ख्याती प्राप्त कलाकार तथा सरकारी पक्षबाट पनि ध्यान दिनुपर्ने बताएका थिए ।

घान्द्रुक आठभाई बाह्रघर प्लहनेरो खलक चेलीबेटीका अध्यक्ष कुन्ती गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव यामु गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत लामा गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.