www.tandavnews.com
Fact ~ In search of truth

एक वर्षपछि खुले मनाङका विद्यालय

नवीन लामिछाने
मनाङ, रासस ।

कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विसं २०७६ चैत महिनादेखि हालसम्म बन्द नै भए ।

पहँुच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए पनि यहाँ भने कुनै पनि कक्षा सञ्चालन प्रभावकारी भएन । एक त विकट ठाउँ त्यसमा पनि कोरोना कहरमा घरदेखि बाहिर निस्कने वतावरण नहुनुले पनि कठिन भएको स्थानीय अभिभावक बताउँछन् ।

Batas

केही दिन अगाडि मात्र तल्लो भेगका विद्यालय खुलेका हुन् । सदरमुकाम चामे र नासोँ गाउँपालिकामा रहेका विद्यालयले पढाइ शुरु गरेका छन् । विगतका वर्षमा चैतदेखि नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि यस वर्ष कोरोनाका कारण पढाइ रोकिएकाले छिटो विद्यालय सञ्चालन गरिएको हो । चारवटा गाउँपालिका रहेको यस जिल्लाको माथिल्लो भेग मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका विद्यालय भने फागुन १६ पछि खुल्ने भएको छ ।

जाडो छल्न काठमाडौँ र पोखरालगायत जिल्ला बाहिर पुगेका अधिकांश विद्यार्थी अभिभावकसँगै फर्केका छन् । विगतका वर्षमा वार्षिक परीक्षा सकेर पुस पहिलो साता विद्यार्थी जाडो र हिमपात छल्न शहर झर्ने गरे पनि यस वर्ष कोरोनाका कारण परीक्षा सञ्चालन भएको छैन । चामेस्थित लोकप्रिय माविमा माघ ११ गतेदेखि पठनपाठन शुरु गरिएको प्रधानाध्यापक सुरेश थापाले बताउनुभयो । आवासीय विद्यालयका रूपमा सञ्चालन गरिएको उक्त विद्यालयमा हाल २९२ विद्यार्थी छन् ।

नासोँ गाउँपालिका–१ तालमा रहेको भानु मावि र नासोँ गाउँपालिका– ५ थोँचेस्थित प्रकाशज्योति माविमा पनि माघ २५ गतेबाट विद्यालय सञ्चालन भएका छन् । मनाङको तल्लो क्षेत्रको चामे र नासोँ गाउँपालिकाका विद्यालय खुलेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायण रेग्मीले बताए । उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमिका ११ विद्यालयमा भने पठनपाठन शुरु भएको छैन । विद्यालयमा फागुन १६ गतेबाट पठनपाठन शुरु हुने उनले बताए ।

शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख रेग्मीका अनुसार शिक्षा नियमावलीले ४५ दिन बिदा पाउने प्रावधान छ । स्थानीय बिदा पाँच दिन पाउँछन् । तर माथिल्लो क्षेत्रमा तीन महिना र तल्लो क्षेत्रमा साढे दुई महिना विद्यालय बन्द हुने गरेको छ । यस वर्ष कोरोनाका कारणले भने पठनपाठन नहुँदा यो शैक्षिकसत्र नै प्रभावित भएको छ । जिल्लामा २६ सामुदायिक विद्यालय र एक निजी विद्यालय छन् । जिल्लाभर चार मावि, आठ आधारभूत तह र १५ वटा प्राविमा १९० शिक्षक दरबन्दी छन् । जिल्लाभर ६०२ विद्यार्थी अध्यनरत रहेका शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

माथिल्लो भेगका विद्यालय भने कुनै कक्षा सञ्चालन नभइकन यो शैक्षिकसत्र सकिएको छ । तल्लो भेगमा भने वैशाख महिनादेखि नै नयाँ शैक्षिकसत्र शुरु हुने गरेको छ । अब नयाँ भर्न अभियान गर्ने कि पुरानै कक्षा सञ्चालन गर्ने दोधारमा रहेको छ ।
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.