www.tandavnews.com
Fact ~ In search of truth

विसं २०७८ मा तीन दशैँ

काठमाडौं ।

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ ।

वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ ।

Batas

असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मंगलबारदेखि शुरु हुनेछ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।

चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दशैँलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा .डा रामचन्द्र गौतम बताउछन् ।

वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन । यस वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा तीन वटा दशैँ परेको उनले जानकारी दिए। रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.