www.tandavnews.com
Fact ~ In search of truth

चार जनाले चाहँदैमा पद त्याग गर्दिन:प्रधानमन्त्री ओली

जीवन सुवेदी,
पोखरा /ताण्डव न्यूज ।

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले चार जना मान्छेहरुले चाहँदैमा आफूले पद त्याग नगर्ने बताएका छन् ।

विधि र प्रकृयागत ढंगले आफू प्रधानमन्त्री नियुक्त भएको बताउँदै प्रधानमन्त्री ओलीले गलहत्याएर निकाल्ने कोशिस गर्नेहरु आफै परास्त हुने बताए ।

Batas

पोखरामा आज गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले विकास र समृद्धिका विरोधीहरुले आफूमाथि पटक पटक आक्रमण गरेको बताए । विगतमा पनि प्रधानमन्त्री पदबाट आफूलाई झलनाथ खनाल, माधव नेपालले प्रचण्डसँग मिलेर हटाएको प्रसंग सुनाउँदै ओलीले त्यसपछि पनि आफू फेरि जनताबाट अनुमोदित भएको उनको भनाई छ ।

सरकारले प्राप्त गरेको सफलतालाई नरुचाउनेहरुले आफूलाई पदबाट हटाउने कदम चाल्दै आएको बताए । प्रभावकारी रूपमा काम गरेको देख्न नसक्नेहरूले सम्पूर्ण रूपमा हमला गरेको जिकिर गरे ।

मुद्धा जितेर नभई चुनाव जितेर बनाएको पार्टी भएकाले सजिलै पार्टी एकतालाई बिग्रन दिन नहुने ओलीको तर्क छ । देश र जनताको हितका लागि विगतमा आफैले केन्द्रिय कमिटि चयन गरेको बताउँदै ओलीले अहिले आफूले चाहेमा उक्त कमिटी पनि हेरफेर हुन सक्ने आशय व्यक्त गरे ।

एक फरक प्रसंगमा ओलीले ‘आफूमाथि शारीरिक हमला भएर तलमाथि भए पनि अनौठो नमाने हुन्छ’ भन्दै कार्यकर्ताको ‘सेन्टिमेन्ट’ तान्ने कोशिस गरे । आफू सतर्क रहँदै आएको भन्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीसँग कुनै हालतमा पनि घुँडा नटेक्ने बताए । उनले देशलाई अन्धकारमा जानबाट रोक्न आवश्यक रहेको पनि बताए ।

ओलीले आफूले सरकारको नेतृत्व गरेसँगै देशले विकासमा फड्को मारेको दाबी समेत गरे । गण्डकी प्रदेशमा आफू निकटको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले विकासमा छलाङ मारेको दाबी गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, सेवाको क्षेत्र, पर्यटनको क्षेत्र विकास अभूतपूर्व रुपमा भैरेहको बताउँदै ओलीले पूर्वाधारका सन्दर्भमा पुलपुलेसा, दुर्गममा झोलुंगे पुल, तुइन विस्थापन, लगायत महत्वपूर्ण काम भैरहेको बताए ।

सरकारको कामको गति र वेग असाधारण भएको दावी गर्दै एक दिनमा ५.७ किलोमिटरको दरले बाटो बन्नु त्यसको उदहारण भएको ओलीको भनाई छ ।

विकासका लागि राष्ट्रिय एकताका साथ अघि बढौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताए । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उनले संघीय सरकारले सात प्रदेशमार्फत र प्रदेश सरकारले ७५३ स्थानीय तहमार्फत विकासका प्रयासलाई अघि बढाउने बाटो लिएको बताए ।

विकासका लागि स्वस्थ राजनीति र आर्थिक क्रियाकलाप, भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, जनतालाई सेवासुविधा सहज र सुलभ ढंगले अत्यधिक मात्रामा पु¥याउँदै जनताका मौलिक हकको कार्यान्वयनको उद्देश्य लिइएको उनले बताए ।‘तीनवर्षे समयावधिमा विकासनिर्माणका धेरै कामले गति लिएको छ, यस अवधिमा परिवर्तित संरचनानुसार पूर्वाधार विकास एवं कानून निर्माणका काम अघि बढेको तथा शक्तिको बाँडफाँट समुचितरुपमा गर्दै संविधानसँग बाझिएका कानूनलाई संशोधन गरी नयाँ संविधान एवं कानूनअनुसार समयानुकूल बनाइएको छ’, उनले भने ।

राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले ‘म खाऊँ मै लाऊँ’ भन्ने भावना त्याग्दै दृढताका साथ राष्ट्र निर्माणका अभियानमा जुट्न सबैमा आग्रह गरे । सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्नका लागि सुशासन र विकासको बाटालाई अघि बढाइएको तथा शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रमा विकास बढेको बताए ।

दुई छिमेकी मुलुक भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशले पर्यटनसहित कृषिका धेरै सम्भावना बोकेको बताउँदै प्रधानमन्त्रीले यहाँका कास्कीसहित तनहुँ, स्याङ्जालगायत जिल्ला कृषिको आधुनिकीकरणमा नमूनाउन्मुख बनेको बताए । उनले भने, ‘ फेवातालमा माछापुच्छ्रे प्रतिविम्बित हुने मात्र हैन, यहाँ धेरै कुरा प्रतिविम्बित हुन्छन्, हाम्रा भविष्यका सपना प्रतिविम्बित हुन्छन् ।’

सरकारले सबै नागरिकलाई पुग्ने गरी खोप ल्याउन लागेको तथा त्यसलाई सबैमा पु¥याइने विश्वास व्यक्त गरे । ‘हामी गरीब छौँ तर मनका धनी छौँ, कोभिडविरुद्ध सफलता प्राप्त गर्ने विश्वका एक प्रतिशत देशभित्र हामी पनि परेका छौँ’, उनले भने, ‘हामीले आराम कम, थकाइ कम र काम बढी गरेका छौँ ।’

संयुक्त राष्ट्र संघले नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा सिफारिश गरेको बताउँदै उनले अन्य सूचकांकमा पनि नेपाल अघि रहेको र सन् २०३० अघि नै दिगो विकासको लक्ष्य हासिल गरिने दृढता व्यक्त गरे ।

पोखरा रंगशालामा भनेजस्तो पुर्वाधार बन्छ –प्रम

प्रधानमन्त्री केपि शर्मा ओलीले निर्माणाधिन पोखरा रंगशालाको निरिक्षण गरेका छन । सोमबार पोखरा आएका ओलीले कार्यकर्ता भेला सकेर सिधै रंगशाला पुगेर निरिक्षण गरेका हुन । निरिक्षणपछि बोल्दै ओलीले रंगशालाका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाए ।

पोखरा रंगशाला देशको मात्र नभई दक्षिण एसियाकै साझा रंगशालाको रुपमा विकाश गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले यसको नेतृत्व गर्नुपर्ने र राष्ट्रिय खेलकूद परिषदले यसमा साथ दिनुपर्ने भन्दै ओलीले आवस्यक पूर्वाधार निर्माण कुनै हालतमा रोकिन नदिने बताए । उक्त अवसरमा राष्ट्रि खेलकूद परिषदका सदस्य सचिव रमेश सिलवालले रंगशालाको भौतिक प्रगतिबारे व्रिफिङ गरेका थिए ।
यसैबीच प्रधानमन्त्री ओली पोखरा आएपश्चात् उनीविरुद्ध विभिन्न स्थानमा विरोध प्रदर्शन तथा कालोझण्डा देखाइएको छ । पोखरा रंगशालाको निरीक्षणका लागि त्यहाँ पुगेका प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइएको हो ।

कालो झण्डा देखाउने ४ जना यूवा पक्राउ परेका छन् । उनीहरुलाई कालो झण्डा देखाउना साथ प्रहरीले पक्राउ गरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.