www.tandavnews.com
Fact ~ In search of truth

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

बागलुङ ।

बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्यांकअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ ।

विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा सम्बन्धविच्छेद मुद्दा दर्ता गर्नसक्ने व्यवस्था छ ।

Batas

यसैकारण पनि महिला र पुरुष दुवैले सम्बन्धविच्छेद गर्ने क्रम बढेको अदालतले जनाएको छ । जिल्ला अदालत बागलुङमा चालु आर्थिक वर्ष २०७७र०७८ को सात महिनासम्म ११६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले जानकारी दिए । कोरोना भयावहका कारण लामो समय अदालती सेवा बन्द हुँदा पनि यस वर्ष ११६ सम्बन्धविच्छेदका मुद्दा परेको उनको भनाइ छ ।

अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा सम्बन्धविच्छेदका १८६ मुद्दा दर्ता भएका थिए । यो आर्थि वर्षमा गत वर्ष सरी आएकोे महिलाबाट दर्ता भएका ३२ र पुरुषबाट दर्ता भएका ४० गरी ७६ सम्बन्धविच्छेदका घटनामध्ये पुरुषद्वारा दर्ता गरिएका २२ र महिलाबाट दर्ता गरिएका १८ गरी ४० मुद्दा फछ्र्योट गरिएको छ ।

चालीस सम्बन्धविच्छेदका घटनामा अझै फैसला हुन बाँकी छ । यो आर्थि वर्षको फागुन १८ गतेसम्म दर्ता भएका सम्बन्धविच्छेदका ११६ मुद्दामध्ये महिलाबाट ९४ मुद्दा दर्ता भएका छन् भने पुरुषबाट २२ मुद्दा दर्ता भएका छन् । तीमध्ये महिलाले दर्ता गरेका ६८ मुद्दामा मिलापत्र गरिएको छ भने पुरुषले दर्ता गरेका आठ मुद्दामा मिलापत्र गरिएको छ । चालीस मुद्दा फैसला हुन बाँकी रहेको स्रेस्तेदार भण्डारीको भनाइ छ ।

पछिल्लो समय वैदेशिक रोजगार, रेमिट्यान्सको दुरुपयोग, बढ्दो सामाजिक सञ्जालको प्रयोग, महिलामा हिंसा, अन्याय सहनु हुन्न भन्ने सोच, चेतना र जागरणको विकास भएकाले सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेले बताए ।

‘युवा विवाह गरेर विदेश जान्छन्, श्रीमतीलाई बजारमा बसाउने प्रचलन बढ्दो छ, उनीहरुले शहरमा विलासी जीवन बिताउन चाहन्छन्, सामाजिक सञ्जालका कारण श्रीमानश्रीमतीमा आशंका पैदा हुन्छ, चरित्रको आरोप लाग्छ’, उनले भने, ‘यसरी सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिला मात्रै हुन्थे, अहिले नयाँ व्यवस्थानुसार पुरुष पनि आएका छन्, यसमा चारित्रिक विषयका साथै रेमिट्यान्सको विषय मुख्य देखिन्छ, विदेशबाट पठाएको पैसा कहाँ गयो ? भनेर सोधखोज गर्दा धेरै जोडीमा विवाद बढेर सम्बन्धविच्छेदमा पुगेको पाएका छौँ ।’उनले विवाह भनेको आपसी बुझाइ र सहमतिसहितको सम्बन्ध भएकाले पुरुष र महिला दुवै जिम्मेवार बन्नुपर्ने बताए ।

यस्तै चालु आर्थिक वर्षको हालसम्म जिल्ला अदालत बागलुङमा ज्यान मुद्दासम्बन्धी आठ, बहुविवाह पाँच, जबर्जस्ती करणीसम्बन्धी १७, लागुऔषधसम्बन्धी पाँच, चोरीसम्बन्धी नौ, आत्महत्या दुरुत्साहनसम्बन्धी दुई, बाल यौन दुरुपयोगसम्बन्धी दुई, अपहरण गरी बन्धकसम्बन्धी दुई, पशुपक्षीको कसुर छ, बोक्सी आरोपसम्बन्धी एक, विवाह बदर एक, बालविवाह एक, संगठित ठगी एक, हातहतियारसम्बन्धी १०, करारको यथावत परिपालन एक, झुठो विवरण पेश गरी नागरिकता लिएको एक र घरेलु हिंसासम्बन्धी आठ मुद्दा परेको जिल्ला अदालत बागलुङले जनाएको छ ।

यस्ताखाले मुद्दामा जिम्मेवारी सरी आएका ३०३ बाट १२४ फैसला भई १७९ मुद्दा फैसला हुन बाँकी रहेको छ । यो आवमा नयाँ दर्ता भएका २९० मुद्दाबाट ९७ फैसला भई १९४ बाँकी रहेको छ । अहिलेसम्म रहेका ५९३ मुद्दामा २२१ मुद्दा फैसला भएका छन् भने ३७२ मुद्दा बाँकी रहेका छन् ।

विसं २०७४ भदौ १ गतेदेखि मुलकी ऐन, २०२० विस्थापित भई नयाँ मुलुकी संहिता (देवानी, फौजदारी) लागू भएको थियो । पहिलो मुलुकी ऐन जारी भएको १६४ वर्षपछि नयाँ मुलुकी ऐन आएको हो । नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सक्ने, वैवाहिक बलात्कार मुद्दा लाग्ने भएका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.