www.tandavnews.com
Fact ~ In search of truth

पर्वत उद्योग वाणिज्य संघको चुनावी सरगर्मी, प्रजातान्त्रिक पक्षबाट अध्यक्षमा पौडेलको उम्मेद्वारी

पर्वत
ताण्डव न्यूज ।

नजिकिँदै गरेको पर्वत उद्योग वाणिज्य संघको निर्वाचनमा प्रजातान्त्रिक पक्षबाट शिव शर्मा पौडेल अध्यक्ष पदका उम्मेदवार बन्ने भएका छन् ।

चैत ७ गते हुने निर्वाचनमा प्रजातान्त्रिक पक्षबाट नेपाली काँग्रेसले आधिकारिक साझा उम्मेद्वारका रुपमा पौडेललाई अध्यक्ष पदमा उठाउने निर्णय गरेको नेपाली काँग्रेस पर्वतका सचिव अशोक उचै ठकुरीले बताए । फागुन १८ गते बसेको बैठकले पौडेललाई अध्यक्ष पदका उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

Batas

‘हामीले पार्टीमा आपसी छलफल गरेर हाम्रो तर्फबाट साझा उम्मेद्वारको रुपमा शिव शर्मा पौडेललाई नै उठाउने निर्णय गरेका छौँ,’ सचिव ठकुरीले भने, ‘पौडेल जी लामो समयदेखि उद्योग तथा वाणिज्य क्षेत्रमा सक्रिय रहनुभएको छ । पर्यटन व्यवसायमा पनि उहाँको योगदान छ । उहाँको नेतृत्वमा पर्वत उद्योग वाणिज्य संघको टीमले आम व्यवसायीको हकहित संरक्षण सहित व्यवसाय प्रबद्र्धन गर्नमा उल्लेखनीय भूमिका खेल्ने छ ।’

लामो समयदेखि व्यवसायिक रुपमै सक्रिय रहेका उम्मेद्वार पौडेलले आफू आवद्ध रहेको ठाउँमा हरेक पटक व्यवसायीको हक हितको पक्षमा काम गर्दै आइरहेको बताए । कोरोना कहरका कारण लामो समयसम्म बजार बन्द हुँदा धारासायी बनेका जिल्लाका उद्योग व्यवसायी सहित अन्य सबै व्यवसायीको प्रबद्र्धनको लागि आफूले विभिन्न योजना बनाएको सुनाए ।

‘मैले यो वा त्यो भनेर कहिलै पनि कसैलाई काखा कसैलाई पाखा गर्ने काम गरेको छैन,’ उनले भने, ‘ हरेक व्यवसायको प्रवद्र्धन हुनुपर्छ भनेरै मैले समान रुपमा काम गर्दै आइरहेको छु । धेरै साथीहरुले मेरो नेतृत्वमा रहेको उद्योग वाणिज्य संघको टीमलाई हेर्न खोज्नुभएको छ । फरक राजनीतिक दलमा आस्था राख्ने साथीहरुले समेत अबको नेतृत्व तपाइले नै गर्नुपर्छ भनेर समेत साथ दिनुभएको छ ।’

पौडेल पर्वतमा सफल व्यवसायीका रुपमा परिचित छन् । करिब तीन दशक अगाडि पर्वत सदरमुकाम कुश्मा बजारमा शितल डेरी उद्योग स्थापना गरेर व्यवसायिक यात्रा सुरु गरेका उनी अहिले पनि सोही उद्योगकै सञ्चालक हुन् । उनीसँग पर्यटन व्यवसायको पनि अनुभव रहेको छ । पर्वत पर्यटन प्रबद्र्धन केन्द्रको संस्थापक अध्यक्ष समेत रहेका पौडेलले जिल्लामा पर्यटन व्यवसायलाई चलायमान बनाउन पनि विभिन्न काम गर्दै आएका छन ।

यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रिय सदस्यका रुपमा रहेका उनले जिल्लामा रहेका घरेलु तथा साना उद्योगको प्रबद्र्धनका लागि महत्वपूर्ण कामहरु गर्दै आइरहेका छन् । जिल्लामा पर्यटकहरुको चहलपहल बढाउन तथा नागरिकलाई समेत सजिलो बनाउन पौडेलले नेपालकै अग्ला र लामा झोलुङ्गे पुलहरुमध्येको एक कुस्मा ज्ञादी जोड्ने मोदी नदी माथिको झोलुङ्गे पुल निर्माणको बेलामा निकै मिहिनेत गरेका थिए । उनी त्यो बेलामा पुल निर्माण समितिका अध्यक्ष समेत थिए । उनलाई समितिको अध्यक्ष तत्कालिन उद्योग वाणिज्य सघको कार्यसमिति सदस्य रहँदा सघले नै निर्माण समितिको अध्यक्ष बनाएको थियो ।

कुस्मा नगरपालिकाको पर्यटन समितिको सदस्य रहेका पौडेल सोही समिति मार्फत हालै मात्रै कुस्मा बजारमा पर्यटक तथा नागरिकको सहजताको लागि सुरु हुन लागेको अटो रिक्सा सञ्चलन तथा व्यवस्थापनमा संयोजकको रुपमा काम गरिरहेका छन । यस बाहेक उनी दर्जनौँ संस्थाहरुका बिभिन्न पदमा रहेर काम गर्दै आइरहेका छन । पर्वत उद्योग वाणिज्य संघको पूर्व उपाध्यक्ष समेत रहेका पौडेल अहिले उद्योग वाणिज्य संघ पर्वतको कार्यसमिति सदस्य रहेर काम गरिरहेका छन ।

नेपाल घरेलु तथा साना उद्योग महासघको उपाध्यक्ष रहँदा २०६१ सालमा उनकै सयोजकत्वमा सुन्तला तथा लप्सी महोत्सव गरेर स्थानीय उत्पादनलाई बढावा दिएका थिए । यस्तै २०७१मा महासघको अध्यक्ष भइसकेपछि सोही महोत्सवलाई उनकै सयोजकत्वमा निरन्तरता दिने काम भयो ।

कुनै पनि विवादमा नपरी विशुद्ध सेवामा लाग्दै आएका पौडेलको उम्मेद्वारीमा आफूहरुको पनि समर्थन रहेको कुश्माका व्यवसायीहरुले बताएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.