काठमाण्डौं,
ताण्डव न्यूज ।
आज १ सय ११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय संकल्पका साथ यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको छ ।समान कामको समान ज्याला पाउनुपर्ने भन्दै सन् १९०८ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरको कपडा कारखानामा काम गर्ने महिलाहरुले सुरु गरेको आन्दोलनको सम्झनामा यो दिवस मनाइन्छ ।

आन्दोलनको १ सय बर्ष पार हुँदा विश्वका अन्य देशका हरेक क्षेत्रमा महिला र पुरुषको समानता भएपनि नेपालका महिलाहरु भने अझै संघर्षरत छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा दिवस मनाउँदै गर्दा नेपालमा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाका हकमा सरकार खास पहल गर्न सकेको छैन ।
यसैबीच पोखरा सभागृहमा आज गृहीणीहरुबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । सभागृहमा हुने प्रतियोगिता अहिले पूर्वान्ह ११ बजेबाट सुरु हुने पोखरा महानगरका उपप्रमुख मन्जुदेवी गुरुङले जानकारी दिईन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको बताएकी छिन् ।
उनले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको पनि बताईन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरूद्ध हुने हिंसा अन्त्य गर्न सशक्तिकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न आग्रह गरेका छन् । दिवसको अवसरमा प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको पनि बताए ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.