www.tandavnews.com
Fact ~ In search of truth

१५ दिन बित्यो, ओछ्यानबाटै वेपत्ता पारिएका दम्पत्तीको अझै पत्ता लागेन

जलेश्वर ।

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फागुन १० गते राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकामा अहिलेसम्म उनीहरुको कुनै अत्तोपत्तो लागेको छैन ।

Batas

घरमा दुई बुढाबूढी मात्रै सुतिरहेको अवस्थामा उनलाई बेपत्ता पारिएको हो भने उनको घरको ओछ्यान र चौकसमा रगतका छिटा देखिएकाले घटना रहस्मय भएको भन्दै प्रहरीले यही फागुन ११ गते बिहानैदेखि वृद्ध दम्पतीको व्यापकरुपमा खोजतलास गरिरहेको छ । घटनाको १५ दिन भइसक्दा पनि वृद्ध दम्पती नभेटेपछि घटना झन्झन् जटिल बन्दै गइरहेको बताइएको छ ।

प्रहरीले उनको गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाका विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषाका समेत विभिन्न स्थानमा व्यापकरुपमा खोजतलास गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाएको छ ।

वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेका कारण उनीहरुको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाले आँकलन गरिरहेका छन् । प्रहरीले उनीहरुको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म तीन दर्जन बढी व्यक्तिलाई ल्याइसकेको र आवश्यक सोधपुछ गरिसक्दा पनि वृद्ध दम्पतीका बारेमा कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.