www.tandavnews.com
Fact ~ In search of truth

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा शोभायात्रा

काठमाडौं।

यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको छ ।

पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १०० वटा धार्मिक संघसंस्थाको सहभागिता रहेको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले गरेका थिए ।

Batas

कार्यक्रममा मन्त्रालयका सचिव यादव कोइराला, कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, परिषद् सञ्चालक सदस्यद्वय देवीप्रसाद बराल र आशा पाण्डे, कार्यकारी निर्देशक डा .घनश्याम खतिवडालगायत कर्मचारीसहित पाँच हजारभन्दा बढीको उपस्थिति रहेको थियो ।

मन्दिर परिसरबाट आरम्भ भएको शोभायात्रा पिङ्गलास्थान, गौशाला जयवागेश्वरी, सिफल, लामपोखरी हुँदै चावहिल गणेशस्थानसम्म पुगेको थियो । पुनः त्यही मार्गबाट फर्किई जयवागेश्वरीबाट मूल मन्दिरअघि पुगेर यात्रा समापन गरिएको थियो । यात्रामा सहभागीले ‘ॐ नम ः शिवाय’, ‘जय शम्भो’, ‘हर हर महादेव’ जस्ता मन्त्रोच्चारण गरेका थिए ।

समापनका अवसरमा कार्यकारी निर्देशक खतिवडाले आज बेलुकी पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन र बुधबार बिहान महाशिवरात्रिको तयारीस्वरुप सरसफाइ गरिने जानकारी दिए । महाशिवरात्रिका अवसरमा पशुपति दर्शन गर्न आउने भक्तजनलाई मास्कसहित सुरक्षा मापदण्ड पूरा गर्न पनि उनले आह्वान गरे ।

महाशिवरात्रिका विषयमा थप जानकारी दिन कोषले आज दिउँसो पत्रकार सम्मेलनको समेत आयोजना गरेको जनाइएको छ । शोभायात्रामा मारवाडी सेवा समिति नेपालले पानी एवं सर्वतको व्यवस्था गरेको थियो ।

पशुपतिनाथमा एक वर्षपछि विशेष पूजा शुरु

फाल्गुण कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ । यसैबीच कोरोना महामारीका कारण गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा पनि महाशिवरात्रिका अवसरमा आजैदेखि शुरु भएको छ ।

स्वास्थ्य सुरक्षाका विधि अपनाएर एक हजार १०० देखि २७ हजारसम्मका विशेष पूजा आजदेखि शुरु गरिएको कोषाध्यक्ष डा .मिलनकुमार थापाले जानकारी दिए ।

महाशिवरात्रिका दिन भने पशुपतिनाथ मन्दिरमा पाँच हजार ५०० र ११ हजार गरी दुई किसिमका विशेष पूजामात्र गरिने पनि उनले बताए । पाँच हजार ५०० पूजा गर्ने दुईजना कर्ता र ११ हजार रसिद काटेर विशेष पूजा गर्ने चारजना कर्तालाई पशुपतिनाथ मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.