www.tandavnews.com
Fact ~ In search of truth

जाउँ है पोखरा अभियान सकियो, पश्चिम नेपाल र पोखराबिच कनेक्टिभिटीमा जोड

पोखरा।

जाउँ है पोखरा अभियानका कार्यक्रमहरु सकिएको छ ।

पश्चिम नेपाल र पोखरा विच कनेक्टिभिटी विस्तार र पर्यटकीय लाभका लागि आपसी सहकार्यको विषयलाई जोड दिंदै यो बर्षको जाउँ है पोखरा अभियानका कार्यक्रमहरु हालै सम्पन्न भएका हुन् ।

Batas

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा जाउँ है पोखरा अभियान अन्तर्गत सञ्चालित आन्तरिक पर्यटन पुनःउत्थान तथा पर्यटन प्रर्वद्धन कार्यक्रम पश्चिम नेपालमा सम्पन्न भए । यही फागुन २१ देखि २४ गते सम्म पश्चिम नेपालका नेपालगञ्ज, धनगढी र बर्दियामा स्थानीय व्यवसायी र सञ्चारकर्मीसँग पोखराका होटलकर्मीहरु छलफल र अन्तरक्रियामा जुटेका थिए ।

गएको मंसीर २४ देखि २७ गते सम्म पूर्वी नेपालका विभिन्न शहरमा सञ्चालित जाउँ है पोखरा अभियानको दोश्रो संस्करणको रुपमा पश्चिम नेपालमा पनि सञ्चालित प्रर्वद्धन अभियान प्रभावकारी रुपमा सम्पन्न भएको आयोजक संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । नेपाल पर्यटन बोर्डसँग मिलेर संघले यो अभियान सञ्चालन गरेको हो ।

पश्चिम नेपालमा आयोजित कार्यक्रममा व्यवसायीले पोखरा पुग्नका लागि नेपालगंज र धनगढीबाट सिधा हवाई उडान हुनुपर्ने र महेन्द्रनगर विमानलस्थललाई समेत संचालनमा ल्याई पोखरासम्म हवाई सेवा सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

गएको फागुन ७ गतेदेखि सिता एयरले हप्तामा दुई दिन पोखरा नेपालगञ्ज रुटमा चार्टर्ड उडान सञ्चालन गर्दै आएको छ । यस्तो उडानलाई नियमित उडानको रुपमा सञ्चालन गरी दिगो पना दिनुपर्ने विषयमा व्यवसायीले चर्चा गरेका थिए । ४०–४५ मिनेटको यो उडान अन्तर्गत पाँच हजार रुपैयाँमा एकोहोरो यात्रा गर्न सकिने बताइएको छ ।

तर कोभिड– १९ का कारण विगत लामो समयदेखि नेपाल भारत सिमा नाका बन्द हुँदा भारतीय पर्यटक नेपाल आउन सकेका छैनन् । नाका खुलेमा बुद्ध एयरले समेत नेपालगंजबाट दैनिक पोखरा उडान गर्ने बुद्ध एयरका विनित शाहले बताए ।

त्यसैले पनि पोखरा र पश्चिमका व्यवसायीले भारतीय सिमा नाका यथासक्य छिटो खोल्न माग गर्दै आएका छन् । होटल व्यवसायी संघ धनगढीका अध्यक्ष कलम बमले सिमा नाका खोल्ने विषयलाई प्राथमिकता दिनु पर्ने भनाई राखे ।

यस्तो भएमा पश्चिम नेपाल आईपुग्ने भारतीय लगायत अन्य पर्यटकलाई त्यहाँका व्यवसायीले पोखरा पु¥याउने र पोखराका व्यवसायीले पोखरा घुम्न आउने देशीविदेशी पर्यटकलाई पश्चिम पु¥याउन सहयोग गरी आपसी पर्यटकीय लाभ लिने विषयमा समेत छलफल गरिएको थियो ।

तर अहिले पर्यटक आगमन नै नगन्य हुँदा सबै तिरका पर्यटन व्यवसायी समस्यामा परेका छन् । कोभिड– १९ ले थला परेको पर्यटनलाई पुनर्जिवन दिँदै आन्तरिक पर्यटनलाई चलायमान बनाउने उद्धेश्यले प्रर्वद्धन अभियान सञ्चालन गरिएको आन्तरिक पर्यटन पुनःउत्थान समिति गण्डकी प्रदेशका सहसंयोजक समेत रहेका तुलाचनले जानकारी दिए ।

पश्चिमाञ्चल होटलसंघको सल्लाहकार समितिका संयोजक हरि शर्मा गैह्रेले आन्तरिक पर्यटकको महत्व सरकारले बल्ल बुझ्न थालेको भन्दै पर्यटनलाई अगाडि बढाउन ब्यबसायी विच सहकार्य जरुरी भएको भनाई राखे ।

नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै क्षेत्रीय होटल संघ नेपालगञ्जका अध्यक्ष आतिष सम्शेर राणाले कोभिड १९ का कारण होटल क्षेत्र ठूलो मारमा परेको भन्दै पोखरा र पश्चिमका व्यवसायी मिलेर भारतीय पर्यटक लक्षित मुक्तिनाथ दर्शनको प्याकेज विक्री गर्न सकिने प्रस्ताव राखे ।

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नेपालगंज–पोखरा विच हवाई सेवा संचालन आरम्भ हुनु सुखद पक्ष भएको बताए । पर्यटन प्रर्वद्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले दुई शहर विच सुरु भएको हवाई सेवाले सकारात्मक सन्देश दिएको भन्दै यी शहरका व्यवसायी आपसी लाभका लागि हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले निजी क्षेत्रले सरकारको मात्र मुख ताकेर बस्न नहुने भनाई राखे ।

पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले जाउँ है पोखरा अभियानले आन्तरिक पर्यटन प्रर्वद्धनमा ठूलो प्रभाव पर्दै आएको भन्दै पर्यटनलाई थप चलायमान बनाउन कनेक्टिभिटी महत्वपूर्ण हुने भनाई राखे । आपसी सम्बन्ध विस्तारका लागि समेत आफूहरु पश्चिम नेपाल पुगेको उनले सुनाए ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई सुदुर पश्चिमका प्रमुख भोजराज पाठकले हवाई र सडक यातायात पर्यटनका लागि अनिवार्य जस्तै हुने बताए । कन्चन्पुरमा आयोजित कार्यक्रममा होटल ब्यबसायी महांघका पर्यटन सचिव एवम् पर्यटन पुनःउत्थान समितिका सह–संयोजक परमानन्द भण्डारीले पर्यटन विकासका लागि प्याकेजहरु बनाएर अगाडि बढ्नु पर्ने सुझाव राखे ।

होटल व्यवसायी संघ कन्चनपुर अध्यक्ष जगदीशचन्द्र भट्टले शुक्लाफाँटलगायत पर्यटकीय सम्पदाले त्यस क्षेत्रको महत्व बढाएको बताए । उद्योग वाणिज्य संघ कञ्चनपुरका उपाध्यक्ष हेमराज जोशीले पनि कार्यक्रममा भनाई राखेका थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदश्य विप्लव पौडेलको पनि सहभागिता थियो । कार्यक्रमको संचालन पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.