www.tandavnews.com
Fact ~ In search of truth

पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन

काठमाडौं ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् । पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् ।

Batas

पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा .घनश्याम खतिवडाले राससलाई जानकारी दिए । बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने थियो ।

बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले एक घण्टामा दर्शन गरेर फर्कन सकिने छ । बेलुकीसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ ।

नागेश्वरमा पनि भक्तजनको भीड

यसैगरी काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला टाउनप्लानिङमा रहेको नागेश्वर महादेव मन्दिरमा पनि आज बिहान ३ बजेदेखि नै भक्तजनका लागि चार ढोका खोलेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । बिहानदेखि अहिलेसम्म करिब पाँच हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजंग राजयमाझीले जानकारी दिए ।

बिहान १० बजेपछि नागेश्वर महादेव मन्दिरमा पनि धेरै भक्तजन दर्शनका लागि लाममा बसेका छन् । विसं १८८१ मा सरदार वाक्सिङ मन्दिर स्थापना गरेको हो । महाशिवरात्रिका अवसरमा नागेश्वर महादेव मन्दिरमा पनि विशेष पूजासहित चारै प्रहर पूजा आराधना गरिन्छ । नागहरूले मानेको र पूजा आराधना गरेकाले नागेश्वर नाम रहेको उनले सुनाए।

गोकर्णेश्वरमा बालयन्त्रको पूजाराधना

यसैगरी गोकर्णेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथमा दर्शनपछि दुवै यन्त्रको महत्व बुझेका भक्तजन गोकर्णेश्वर महादेव मन्दिरमा समेत दर्शनका लागि जाने गरेका छन् ।

उपत्यकाका डोलेश्वरलगायत विभिन्न स्थानमा रहेका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन महाशिवरात्रि पर्व मनाइन्छ ।

निःशुल्क गुर्जो वितरण

महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका भक्तजनलाई आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटको नेतृत्वमा निःशुल्क गुर्जोको चिया पिलाइएको छ । भक्तजनलाई गुर्जोको महत्वका विषयमा समेत जानकारी गराएर धुलो र चियाका पोका निःशुल्क वितरणसमेत गरिएको उनले सुनाए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.