रुपन्देही,
ताण्डव न्यूज ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले केपी ओलीको बुर्जुवा हेडक्वाटरमा बम हानेको बताएका छन् ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कमिटी रूपन्देहीले गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले केपी ओलीविरुद्ध १९ बुँदे राजनीतिक प्रस्ताव पेश गरेर ओलीको बुर्जुवा हेडक्वाटरमा बम हानेको टिप्पणी गरे ।

प्रतिनिधिसभा पुनःस्थापना भएको भन्दैमा आफूहरू ढुक्क भएर बस्ने अवस्था नरहेको अध्यक्ष दाहालले बताए । आफ्नै खुट्टामा नउभिइ, अरुको भरमा भोट पाउने अवस्था नरहेको बताउँदै उनले अब संगठन विस्तार र सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले ‘आफ्नै खुट्टामा उभिउँ आफ्नै संगठन बलियो बनाउँ’ भन्ने विशेष कार्यक्रम लिएर आउन लागेको बताए ।
‘आफ्नै शक्ति निर्माण गर्दै संगठन मजबुद बनाएर मात्र हामीले प्रतिक्रियावादीहरूलाई निस्तेज पार्न सकिन्छ,’ उनले भने, ‘यसअघि हामी युवा संगठन बनाउन चुकेको महसुस भइरहेको छ ।’ पहिलो निर्वाचनमा एक्लै बहुमत ल्याएका आफूहरू अहिले कहाँनिर चुक्यौं भनेर समीक्षा गर्नेबेला भएको उनको भनाइ छ ।
आफूहरूले संघर्ष र संगठन बनाउन थालेपछि क्रान्तिकारी र गुणात्मक हिसाबले संगठन निर्माण गर्न सक्छौं भन्ने आत्मविश्वास लिन दाहालले कार्यकर्तालाई आग्रह गरे । ‘आफैंभित्रको शक्तिलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने अवस्था देखियो,’ उनले भने, ‘दुई–तीन वर्ष मेहनत गर्ने हो भने पुनः पार्टीलाई देशको पहिलो पार्टी बनाउनसक्ने ताकत हामीसँग छ ।’
पछिल्ला केही वर्षहरूमा आफूबाट भएका गल्तीहरूको आत्मसमीक्षा गर्न थालेको बताउँदै उनले पार्टीभित्र भएका साथीहरूलाई बढी समय दिने र बाहिरतिर नलाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टी छाडेर जानेहरूको लागि भन्दा आफूसँग भएका साथीहरूको विषयमा बढी सोच्ने उनको भनाइ छ ।
अध्यक्ष दाहालले केपी ओलीसँग कुरा गर्दा आफूलाई जति आक्रोश कसैलाई नभएको बताए । ‘भएको सहमति लागू गर्दैनन्, सहमति लागू गर्न बिन्ती गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘मेरो क्रियाकलाप देखेर ‘यत्ति हो त प्रचण्ड’ भन्ने तपाईंहरूलाई लागेको थियो होला, तर प्रचण्ड त्यस्तो होइन ।’
अध्यक्ष दाहालले अहिलेको अवस्थामा सबैभन्दा सजिलो पार्टी आफ्नो भएको दावी गरेका छन् । अन्य पार्टीहरूमा दुई धार भएको अवस्थामा आफ्नो पार्टीमा एउटै भएको उनँको भनाइ छ । उनले एमालेमा ओलीले मनलाग्दी गर्न खोजे माधवकुमार नेपाल र झलनाथ खनाल समूहले विरोध गर्ने बताए ।
उनले भने, ‘कि त माधव नेपालले एमाले कब्जा गर्ने अवस्था आउन सक्छ कि भने उहाँहरू ठूलो विद्रोहमा लाग्नुहुनेछ, विद्रोहमा हामीसँगै हुनुहुन्छ ।’ रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.