काठमाण्डौं,
ताण्डव न्यूज ।
संसदीय दलको नेताबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टीको बैठक बिना निष्कर्ष सकिएको छ।
सत्ता साझेदारीको प्रस्ताव आएपछि सरकारमा जाने विषयमा मतभेदमा अल्झिईरहेको जनता समाजवादी पार्टी नेपाल संसदीय दलको बैठक सिंहदरबारमा बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो । जसपा संसदमा चौथो ठूलो दलको हैसियतमा छ ।

जसपालाई साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत पुर्याउने कसरत गरिरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको थियो । यद्यपी नेताहरुबीच कुरा नमिल्दा बैठकले ठोस उपाय निकाल्न सकेको छैन ।
सरकारमा जाने विषयमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसँग बाक्लो संवाद गरिरहेका थिए। अर्कातिर उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बाक्लो छलफलमा थिए।
ओली जसपालाई ल्याएर बहुमतको १३८ बनाउन चाहन्छन् भने प्रचण्ड कांग्रेस र जसपाको साथ लिएर सरकारमा जाने दाउमा छन्।ओलीप्रचण्डको आफ्नो आफ्नो दाउको सिकार भइरहेको जसपाले अहिलेसम्म संसदीय दलको नेता पनि चयन गर्न सकेको छैन। ओलीले जसपा अध्यक्ष ठाकुरलाई चुनावी सरकारको प्रधानमन्त्री प्रस्ताव गरेको चर्चा भइरहेको छ।
उता जसपा वरिष्ठ नेता राजेन्द्र महतोले आफूलाई संसदीय दलको नेता बनाउनुपर्ने माग गरिरहेका छन्। तानातानमा परेको जसपाले संसदीय दलको नेता र सरकारमा जाँदा सघाउने दलको टुंगो लगाउनुपर्ने थियो।
सत्ता साझेदारीका लागि जसपाले आजै एमालेले बनाएको कार्यदलसँग छलफल गर्ने कार्यक्रम राखेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले पनि छलफलका लागि ४ बजे आफ्नै निवासमा जसपाका नेताहरुलाई बोलाएका छन् ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.