www.tandavnews.com
Fact ~ In search of truth

मापदण्डविपरीत दोहनले छियाछिया कालीगण्डकी

धु्रवसागर शर्मा
गलेश्वर, रासस ।

आध्यात्मिक र वातावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालीगण्डकी नदी मानवीय दोहनका कारण सङ्कटमा पर्दै जान थालेको छ ।

हिन्दूधर्मावलम्बीले भगवान् विष्णुको अंश मानेर पुज्ने शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीमा लामो समयदेखि अवैधरुपमा दोहन हुँदै आए पनि सम्बन्धित निकाय भने मौन छन् । अवैधरुपमा नदीको उत्खनन गरी नदीजन्य वस्तुको चोरी निकासी हुने क्रम बढ्दै गएपछि कालीगण्डकीबाट बहुमूल्य शिला शालिग्राम लोप हुँदै गएको छ भने कालीगण्डकीको अस्तित्वसमेत सङ्कटमा परेको छ । नदीजन्य पदार्थको अवैध उत्खननले कालीगण्डकी सभ्यतामै समस्या र सङ्कट पर्न थालेको र बहुमूल्य शिला शालिग्रामसमेत लोप हुँदै गएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष पं भीमनाथ पौडेलले बताए ।

Batas

प्रदेश सरकारले नदीजन्य वस्तु निकाल्नका लागि मापदण्ड बनाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । व्यवसायीले आफू खुशी ढुङ्गा, गिट्टी बालुवा निकाली रहेका छन् । हेभी इक्वीपमेन्ट( डोजर, स्काभेटर) प्रयोग गरेर नदीमा वर्षौंदेखि रहेका ठूला ढुङ्गा निकाल्दा नदीले धार परिवर्तन गरी नदी किनारका बस्तीमा जोखिम बढेको छ । यसले गर्दा सबैभन्दा बढी असर म्याग्दीको सदरमुकाम बेनी र कालीगण्डकी करिडोरअन्तर्गतको बेनी जोमसोम सडकलाई परेको छ ।

नदीजन्य पदार्थ उत्खनन तथा निकासीका लागि सरकारले मापदण्ड बनाएर सोही अनुसार निर्देशित गरे पनि व्यवसायीले दिउँसोको समयमै ठूला मेशिन लगाएर दोहन गरिरहेका पर्वत बगरका इन्द्रबहादुर बरुवालले बताए ।

जमिनमा एकपटक बसिसकेको ढुङ्गालाई बगिरहेको नदीको बीचबाट निकालेर भारी मेशिन (स्काभेटर)को प्रयोग गरी छियाछिया पारिएको छ । नदी कटान तीव्ररुपमा भइरहेको अवस्थामा नदी उत्खनन र नदीजन्य वस्तुको चोरी निकासी गर्न सजिलो हुने गरी स्काभेटर र टिपर पु¥याउन सडकसमेत बनाइएको छ । कुनै निकायसँग सम्झौता पनि नगरी र नदी उत्खननको मापदण्डविपरीत नदीको दोहन भइरहेको छ भने सदरमुकामको कालीपुल क्षेत्र थप जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन् ।

उच्च जोखिमयुक्त सदरमुकामको सूचीमा राखिएको म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा नदी नियन्त्रणको बहानामा नदीको तीव्र बेगलाई रोक्न सक्ने ढुङ्गा निकाल्दासमेत जनप्रतिनिधि र सरोकारवाला निकाय मौन बसेपछि हरेक वर्ष नदीको अस्तित्व सङ्कटमा पर्नुको साथै सौन्दर्यसमेत गुम्दै गएको छ । व्यवसायीले रातको समयमा समेत नदी उत्खनन गर्दै आएका छन् ।

म्याग्दी, बागलुङ र पर्वत जिल्लाको विभिन्न स्थानमा अहिले दोहन भइरहेको छ । अवैधरुपमा भएको दोहनले नदीको धार परिवर्तन गरेर बस्तीतिर जाने सम्भावना देखिन्छ । मापदण्ड मिचेर नदी दोहन गर्दा म्यागदीको धार्मिकस्थल गलेश्वरधामदेखि सदरमुकाम बेनीबजार र बागलुङकोे माझी बस्ती, मालढुङ्गा तथा कालाखोला बगर क्षेत्रका घरसमेत उच्च जोखिममा पर्न थालेका छन् ।
–––

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.