www.tandavnews.com
Fact ~ In search of truth

वसन्त आरोहणः दुई आरोही समूहलाई अनुमति

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’ दिएको छ ।

विभागले गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) र सोलुखुम्बुमा पर्ने नुप्से (७,८६४ मिटर) आरोहणका लागि अनुमति जारी गरेको छ । नुप्सेमा चार र मनास्लुमा एक जनाको आरोही टोली छन् ।

Batas

दुई आरोही समूहलाई अनुमति जारी गरिएको र अन्य धेरै आरोहीले आरोहण अनुमतिका लागि विभागसमक्ष निवेदन दिएको विभाग, पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराईले जानकारी दिए । उनका अनुसार आरोहण अनुमति माग्ने आरोहीमा अधिकांशले सगरमाथा र अन्नपूर्ण हिमाल आरोहण गर्न चाहेका छन् ।

आरोहणकै लागि अहिले विभागमा ५० भन्दा बढी अनअराइभल भिसाका लागि विभिन्न मुलुकका आरोहीले निवेदन दिएको विभागले जनाएको छ । वसन्त यामको आरोहणका लागि विभिन्न कम्पनीमार्फत धमाधम आरोहीले निवेदन दिएका हुन् ।

मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरु भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ । कोभिड–१९ महामारीकै बीच आरोहणमा केही आशाका संकेत देखिएका छन् । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आगामी वैशाखमा सगरमाथा आरोहण गर्ने भएको छ ।

यस वर्षको वसन्त याममा सर्वोच्च शिखर आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली आज नेपाल आउने जनाएको छ ।

नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड ९डिफेन्स फोर्स० मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ । सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

कोभिड–१९ का कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँद याममा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका संकेत देखिएका छन् ।

विदेशी पर्यटकलाई नेपाल प्रवेशवापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ ।

व्यवसायीको मागबमोजिम सरकारले पनि विदेशी पर्यटक आगमनलाई सहज तुल्याउन क्वारेन्टिन व्यवस्था खुकुलो बनाउने र पिसिआर नेगेटिभ यात्रुलाई सहज रुपमा भ्रमण व्यवस्था गर्ने संस्कृति मन्त्रालयले जनाएको छ ।

अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने जनाइएको छ । पर्वतारोहणको मुख्य याम वसन्तका लागि अहिले विभिन्न पर्वतारोहणसम्बन्धी कम्पनीमार्फत धमाधम बुकिङ चलिरहेको छ ।

महामारीकै बीच बहराइनका राजकुमारसहितको टोलीलाई गत शरद् याममा मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले गत असोज २९ गते मनास्लुको सफल आरोहण गरेको थियो । त्यसपछि कतारका राजकुमारसहितको टोलीले गत कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो ।

असहज परिस्थिति भए पनि विदेशी विशिष्ट व्यक्तिको आरोहणले पर्वतारोहणमा उत्साह जगाएको छ । अहिले पर्यटनका सबैजसो क्षेत्र खुलिसकेका छन् । पर्यटकीय गतिविधि पनि बढेको छ ।

सरकारले कोभिडका कारण स्थगन गरिएको पदयात्रा र पर्वतारोहण कात्तिकदेखि खुलाएको थियो । महामारीका कारण अघिल्लो वर्ष वसन्त याममा कुनै पनि आरोहण हुनसकेको थिएन ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.