www.tandavnews.com
Fact ~ In search of truth

प्याराग्लाइडिङ दुर्घटना प्रकरण : ‘गलत ईन्सट्रक्सनले ज्यान गुमाए राजाराम मगरले’

पोखरा
ताण्डव न्यूज ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्य सहित त्रिभुवन आर्मी क्लबले प्याराग्लाईडिङका लागि शाहसी २३ जना सेनाको समुह छुट्टायो । धादिङ नीलकण्ठ नगरपालिकाका २३ वर्षीय सैनिक जवान राजाराम मगर पनि उक्त समुहमा छनौट भए । सो समुहमा ३ जना महिला र २ जना अफिसर समेत रहेका छन् । प्याराग्लाईडिङ समुहले एशियन प्याग्लाईडिङ एकेडेमीबाट एक वर्षे ‘बिगिनर्स कोर्स’ सक्यो र एड्भान्स कोर्ष र अभ्यासका लागि गत महिना मात्रै टोली पोखरा आईपुगेको थियो ।

‘बिगिनर्स कोर्स’ सकेका आर्मी टोलीले ‘एसआइभी’(आकस्मिक अवतरण बारे प्रशिक्षण) मंगलबार गर्ने भनिएपनि सोमबार मनोमानी अभ्यासमा उत्रिए । एसआईभी गराउन आधिकारिक ईन्सट्रक्टर आवश्यक पर्छ । जो नेपाल आर्मीसँग छैन । तर नेपाल आर्मीमा अरु भन्दा अनुभवी मानिएका प्यारापाईलट थिए ‘सागर जलारी’ । स्रोतका अनुसार सागरकै गलत ईन्ट्रक्सनको कारण ‘स्पाइरल डाइभ’ गर्ने क्रममा राजाराम मगरले ज्यान गुमाएका हुन् ।

Batas

सराङ्कोटबाट सोलो उडान गरेका राजाराम सिधै तालमा खसेका थिए । उद्धार समयमा नहुँदा अचेत बनेका मगरको रानीपौवा स्थित आर्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । अनुभवी प्यारापाईलट तथा विज्ञका अनुसार मृतक राजारामले प्रयोग गरिएको प्याराग्लाईडर मडिफाइड थियो । सागरले दिएको ईन्ट्रक्सन र राजारामको मडिफाईड प्याराग्लाईडरको तादम्यता नमिल्दा दुर्घटना हुन पुगेको प्यारापाईलटहरुको तर्क छ ।

स्रोतका अनुसार ह्याण्डलिङ गरिरहेका सागरसँग नत उडान अनुमतिपत्र (लाईसेन्स) छ नत उनी सर्टिफाइड ईन्सट्रक्टर नै हुन् । तथापी सागरले सञ्चार सेटबाट आर्मी टोलीलाई ईन्सट्रक्सन भने दिईनै रहेका थिए । १ वर्षे कोर्स पुरा गरेका उनीहरु सामान्य उड्न सक्थे । तर कुनै आधिकारिक ईन्सट्रक्सन विना नै एसआइभीमा उत्रदा कस्ले नियमन गर्ने ? प्यारापाइलटहरुको प्रश्न छ ।

यता ‘ना’ ले सो आर्मी टोलीले सामान्य अभ्यास मात्रै गरेको बताए पनि प्रत्यक्षदर्शीले ‘स्पाईरल डाइभ’ समेत गरेको बताए । “लाईसेन्स नै नभएका ‘सागर’ले कसरी ‘स्पाइरल डाइभ’ गराउन मिल्छ ? यस्तो माण्दण्ड विपरितको कार्यलाई कस्ले अनुगमन र नियमन गर्ने ?” स्रोतको प्रश्न छ ।

एसआइभी गर्दा आकस्मिक उद्धारको टोली समेत तैनाथ गरिनुपर्छ । तर त्यहाँ त्यो थिएन । एसआईभीका लागि पोखरा उपयुक्त ठाउँ मानिने भएकाले नेपाली मात्रै नभएर भारतीय प्रशिक्षार्थी समेत एसआईभी (आकस्मिक अवतरण बारे प्रशिक्षण) का लागि पोखरा आउने गर्दछन् । एसआईभीमा छिटो गतिमा अवतरण गर्नेबारे समेत अभ्यास गराईन्छ । ‘३ हजार उचाईमा भएको समयमा आकस्मीक रुपमा सुरक्षित अवतरण गर्न पर्याे भने स्पाईरल डाईभ हान्ने हो’, एक प्यारापाईलटले भने ।

नेपालमा एसआईभी प्रशिक्षक दुईजनामात्रै रहेका छन् । एलिस थापा र दामोदर पराजुली । ३ देखि ५ दिन सम्म हुने एसआईभी कोर्सका लागि प्रतिव्यक्ति ४५ हजार बढि लाग्ने गर्दछ ।

भनसुनको आधारमा ‘सागर’ नेपाली सेनामा

पोखरामा प्यारापाईलट सागर जलारीले समयसमयमा व्यवसायिक उडान समेत भर्दै आएका थिए । यतिबेला उनी नेपाली सेनामा छन् । सेनामा भर्ती भएपछि उनले सेना तथा सेनाका आफन्त र खैरेनिटार स्थित आर्मी शिक्षालयका तत्कालिन प्रमुख अर्जुन बस्नेतलाई समेत उडाएका थिए विना उडान अनुमतिपत्र (लाईसेन्स) ।

उनी विना लाईसेन्स गत वर्ष सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङमा सहभागी भए र समुहतर्फ प्रथम र व्यक्तिगत तर्फ द्वित्तिय स्थान समेत हाँसिल गरे । त्यसपश्चात उनलाई भनसुनको आधारमा बकासे पदमा नेपाल आर्मीका कर्णेल अर्जुन बस्नेतको पहलमा नियुक्त गरिएको स्रोत बताउँछ ।

स्रोतका अनुसार जलारी नेपाल आर्मीको नाममा रासन तथा भत्ता बुझ्दै आएका छन् । उनले प्याराग्लाईडिङको सम्बन्धित संस्था नेपाल हवाई खेलकुद संस्था (ना) को आँखा छल्दै व्यवसायिक उडान समेत भर्दै आएका छन् ।
त्यसोत ‘ना’लाई त्यो बारे थाहा नभएको भने होईन । विभिन्न पाईलट तथा सरोकारवालाहरुले ‘ना’लाई जानकारी पनि गराउदै आएपनि ‘ना’ निरिह बनेको स्रोतको भनाई छ ।

२:१५ मा दुर्घटना,४ बजे निवेदन

नेपाल हवाई खेलकुद संस्था (ना) ले मंगलबार एसआईभी गर्ने भनेर लिखित निवेदन प्राप्त गरेको भएपनि स्रोतका अनुसार दुर्घटना भएपछि मात्रै निवेदन पेश भएको बताईएको छ । सरोकारवाला संस्थाको स्वीकृति विना नै नेपाली सेनाको प्याराग्लाईडिङ टोलीले सोमबार सराङ्कोटबाट सोलो उडान भर्याे । सवा २ बजे राजाराम मगर दुघटनामा परे तर एसआईभिको लागि निवेदन ४ बजे पेश गरेको स्रोतको भनाई छ ।

यता अध्यक्ष कृष्ण भण्डारीले ‘ना’ लाई उनीहरुको मंगलबार मात्रै एसआईभीको सेडुअल रहेको जानकारी भएको ताण्डव न्यूजसँग बताए । ‘उनीहरुले सिकेर आएपछि हामीलाई यो ठाउँ उड्नको लागि व्यवस्था गरिदिनुस भनेर निवेदन गरेको थियो, उनले अलमलिदै थपे, ‘नेपाली सेना त अघिल्लो वर्ष देखि यही उडेको थियो यस वर्ष पनि त्यही लकडाउन पछि होला ।’

अध्यक्ष भण्डारीले व्यवहारिक जवाफ नदिएपनि नेपाली सेनाले टेकअफ तथा ल्याण्डिङका लागि व्यवस्था गरिदिन लिखित निवेदन ‘ना’ समक्ष पेश गरेको बताए ।

“प्याराग्लाईडिङसँग प्रत्यक्ष सरोकार राख्ने नेपाल हवाई खेलकुद संस्थाले मापडण्ड पुरा गरे नगरेको अनुगमन नगर्ने हो भने कस्ले गर्ने ? ‘ना’ कहिले सम्म राजनैतिक पहुँचको दवाबमा दब्ने र कहिलेसम्म लुक्ने ?” आम प्यारापाईलटहरुको प्रश्न छ ।

यस अघि गत मंसिर ८ गते सोमबार मापडण्ड विपरित फूल टिप्ने क्रममा व्यवासायिक उडान भरेका प्यारापाईलट राजु नेपालीले दुर्घटनामा परि ज्यान गुमाएका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.