www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय सडक सञ्जालमा जोडिन हुम्लालाई अझै दुई वर्ष लाग्ने

काठमाडौं ।

सडक सञ्जालसँग जोडिन बाँकी रहेको देशको एकमात्रै जिल्ला सदरमुकाम हुम्लाको सिमकोट चालु आर्थिक वर्षमा पनि सडक सञ्जालमा नजोडिने भएको छ ।

सडक विभागका अनुसार अहिलेको गतिमा काम हुँदा सिमकोटमा सडक पुग्न अझ दुई वर्षभन्दा बढी समय लाग्ने देखिएको छ । कर्णाली करिडोरअन्तर्गत सो राजमार्गमा सडक विभाग र नेपाली सेना दुवैले निर्माणको काम गरिरहेको छ ।

Batas

सडक विभागले निर्माण गरिरहेको खण्डमा १६ किमी साधारण बाटो खन्न बाँकी रहेको विभागका उपमहानिर्देशक शिव नेपालले बताए । सो खण्डमा विभागले निर्माण गर्दा ढिलाइ भइरहेकाले सेनालाई नै निर्माण गर्न भनेको थियो । त्यसको टुङ्गो नलागेकाले अहिले विभागले नै सुस्त गतिमा काम गरिरहेको छ ।

विभागले निर्माण गर्दा पनि विष्फोटनको काम सेनाले गर्नुपर्ने भएकाले सेनालाई नै जिम्मेवारी दिन फाइल अघि बढाइएको उनले  बताए । उनले भने, ‘रक्षा मन्त्रालयमा फाइल पठाएको भएपनि त्यसको टुङ्गो लागेको छैन ।’

देशभरका ७७ जिल्लाका सदरमुकामध्ये एउटा सदरमुकाममा मात्रै सडक नपुगेकाले सिमकोटसम्म ट्रयाक खोलिसक्ने लक्ष्य लिइँदै आएको छ । सो स्थानमा खटिएका विभागका इञ्जिनीयरका अनुसार लक्ष्य लिइएको काम अझै दुई वर्ष पहिले सकिँदैन । पहाडी क्षेत्र त्यसमा पनि अत्यधिक चट्टान भएकाले त्यसलाई काट्दै लैजानुपर्ने अवस्था रहेको उपमहानिर्देशक नेपालले बताए ।

विष्फोटक पदार्थ सजिलो उपलब्ध नहुनु नै सिमकोटसम्म सडक पु¥याउन नसकिनुको मुख्य समस्याका रुपमा रहेको छ । नेपाली निर्माण व्यवसायीको क्षमता र कठिन भूगोलका कारण निर्माणमा ढिलाइ भइरहेको छ । उनले भने, ‘कणार्लीको नदी किनारैकिनार चट्टानी क्षेत्र हुँदै सडक अघि बढाउन गाह्रो काम छ ।’

कुनै पनि सडकमा चट्टान फोरेर निर्माण गर्नका लागि आवश्यक पर्ने विष्फोटक पदार्थ सेनाले उपलब्ध गराउने गर्छ । सो सडकमा आवश्यक सामग्री उपलब्ध गराउन सेनाको टुकडी निर्माणस्थलबाट टाढाटाढा रहेका छन् । त्यहाँबाट निर्माणस्थलसम्म सेनालाई ल्याउँदा ढिलाइ हुने उनले बताए । उनले भने, ‘निर्माणस्थलमा टुकडी नराख्दासम्म निर्माणले गति लिँदैन ।’

राजमार्गमा निर्माणसँगै सडक विस्तारको काम अघि बढाइएको छ । हिल्सादेखि सिमकोटसम्म ३५ किमी चौडा गर्ने काम भइरहेको छ । अहिले गर्न सकिने ठाउँमा विस्तार गर्ने र अप्ठेरो ठाउँमा पहिले ट्याक खोलिसकेर मात्रै सडक बिस्तार गर्ने योजना बनाइएको उपमहानिर्देशक नेपालले बताए ।

हिल्सादेखि सिमकोटसम्म ९० किमी सडक ट्याक खुलाइएको उनले बताए । सोही खण्डमा ४०० मिटर भने डिजाइनअनुसार खन्न नसकिएकाले चौडाइ कम छ र ग्रेड पनि नमिलेको उनले बताए ।

सो सडकमा बजेटको भने समस्या नभएको विभागले जनाएको छ । गत आवमा सो सडकका लागि छुट्टाइएको बजेट खर्च भएको थिएन । चालु आर्थिक वर्षमा पनि छुट्टाइएको बजेट खर्च भइसक्ने नदेखिएको उपमहानिर्देशक नेपालले जानकारी दिए । सडकमा जग्गाको समस्या आउने गरेपनि निर्माण नै रोकिने अवस्था छैन ।

सेनाले निर्माण गरेको स्थानमा ट्रयाक खोल्ने काम सकिनै लाग्दा विभागले निर्माण गरेको स्थानमा भने कहिलेसम्म खुलिसक्छ भन्नेमा विभाग प्रष्ट छैन । विभागले निर्माण गरेको ठाउँमा पनि विष्फोटक पदार्थ सेनासँग किनेर र उनीहरुकै सुरक्षामा निर्माणस्थलमा पु¥याउनुपर्छ ।

सेनासँगको सहकार्यमा काम गर्नुपर्ने भए पनि यो काम सेनाको प्राथमिकतामा त्यो काम नभएको उपमहानिर्देशक नेपालले बताए । अहिले निर्माणस्थलमा छुट्टै टुकडी व्यवस्था नभएर अरु काममा खटिएकालाई समय समयमा निर्माणस्थल लैजाने गरिएको छ ।

सेनालाई निर्माणस्थल लगेर केही दिन काम गरेर फर्कने र पुनः विभागले सो स्थानमा सफा गरेर अर्को पटक बोलाउने गरेको उनले बताए । उनले भने, ‘टाढाबाट धाएर जाँदा महिनामा दुईतीन पटकभन्दा विष्फोटन गर्न सकिएको छैन ।’

सेनाले निर्माण गरिरहेको खुलालुदेखि सलिसल्ला १२३ किमी सडकको निर्माण अन्तिम चरणमा पुगेको छ । सो सडक सेनाले चालु आर्थिक वर्षमा नै हस्तान्तरण गर्ने योजना बनाएको छ । सलिसल्लादेखि सिमकोटसम्म ५० किमी सडक निर्माण विभागले गरिरहेको छ । विभागले सलिसल्लाबाट सिमकोट र सिमकोटबाट सलिसल्लातर्फ गरी दुवैतर्फबाट काम गरिरहेको छ ।

विभागले ३४ किमी ट्रयाक खोलिसकेर बीचमा १६ किमी सडक खन्न बाँकी छ । ट्रयाक खोल्न बाँकी ठाउँ पूरै चट्टानी भाग नभएर कतै चट्टान र कतै सजलो जमिन छ तर बीचको सजिलो भागमा पुग्नु पहिले चट्टान फोरेर अघि बढ्नुपर्ने भएकाले धेरै क्षेत्र ट्रयाक खोल्न बाँकी रहेको उनले बताए । उनले भने, ‘बीच बीचको सजिलो ठाउँमा पनि काम हुन सकिरहेको छैन ।’

राजमार्ग आठ मिटर चौडाइ कायम गर्ने गरी काम भइरहेको छ । पहिले ट्रयाक खालिसकेर चौडाइ बढाउन सकिने भएकाले अहिले धेरै ठाउँमा ट्रयाक खोल्ने काम पहिले भइरहेको विभागले जनाएको छ । राजमार्गमा कतिपय पुल निर्माणाधीन छ भने कतिपय डिजाइनको क्रममा छ ।

सडक ट्रयाक खुलेपछि पुलका लागि आवश्यक सामग्री पु¥याउन सकिने भएपनि अहिले पुल निर्माण गर्ने स्थानसम्म निर्माण सामग्री पु¥याउन गाह्रो भएको उपमहानिर्देशक नेपालले बताए । आवश्यक उपकरण बोकेर नसकिने र हेलिकप्टरबाट लैजाँदा खर्चिला हुने भएकाले निर्माण अघि बढ्न सकिरहेको छैन ।

सडक निर्माणमा आवश्यक इन्धन पहिले चीनबाटै ल्याउने गरिएको थियो । कोभिड–१९ का कारण अहिले भने इन्धन उताबाट ल्याउनसमेत समस्या भएको विभागले जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.