www.tandavnews.com
Fact ~ In search of truth

नेकपा खारेजको फैसला पुनरावलोकनमा जाने माओवादीको तयारी

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैलासविरुद्ध पुनरावलोकनमा जाने तयारी थालेको छ । उक्त फैसलाको पुनरवलोकनका लागि आज माओवादीले कानून व्यवसायीसँग पारमर्श गरेको हो ।

सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र एकीकरण गरी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गर्दै पूर्ववत् अवस्थामा फर्काउने निर्णय गरेको थियो ।

Batas

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग नेकपाको नाम जुधेको भन्दै अदालतले पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा बदर गरी ती दुुई दललाई एकीकरण पूर्वको अवस्थामा पु¥याइदिएको थियो । अदालतको फैसलाअनुसार दुवै दलले पूर्ववत् अवस्थामा आ–आफ्नो गतिविधि अगाडि बढाएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको सो छलफलमा सहभागी कानून व्यवसायीले पनि सर्वोच्चले मागदाबीभन्दा बाहिर गएर फैसला गरेकाले पुनरवलोकनमा जान सकिने सुझाव दिएका सो पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । फैसलाको पुनरवलोकनका लागि ६० दिनभित्र प्रक्रिया अगाडि बढाउनुपर्ने कानूनी व्यवस्था छ ।

‘पार्टी एकता बदर गर्ने सर्वोच्चको फैसला बेठीक छ भनेर पहिलेदेखि नै कानून व्यवसायीले भन्दै आएका थिए, यो फैसला न्यायिकभन्दा पनि राजनीतिक प्रकृतिको छ, मागदाबी नै नगरेको विषयमा फैसला गरिएको छ, त्यसकारणले छिटोभन्दा छिटो पुनरवलोकनमा जानुपर्छ भनेर कानून व्यवसायीको सुझाव रह्यो’, उनले भने, ‘अब छिट्टै निर्णय गरेर पार्टी अगाडि बढ्छ ।’

सर्वोच्च अदालतको फैसलाबाट जनप्रतिनिधिमूलक संस्था संसद् पुनःस्थापना भए पनि सरकारको पछिल्लो गतिविधि फेरि पनि संसद् विघटन गर्ने दिशातर्फ उन्मुख रहेको पनि माओवादीले निष्कर्ष निकालेको छ । सरकारले सदनलाई प्रभावकारीरुपमा अगाडि बढाउन आवश्यक ‘बिजनेस’ दिन नसकेको भन्दै माओवादीले असन्तुष्टिसमेत व्यक्त गरेको छ ।

फेरि पनि संसद् भंग गर्ने संकेत देखापरेको र त्यस्तो अवस्था आए के गर्ने भन्दै कानून व्यवसायीसँग परामर्शसमेत गरिएको सचेतक गुरुङले बताए । ‘अहिलेको समसामयिक कानूनी जटिलता, संसद्मा देखापरेका असहजताका बारेमा नेताहरुले कानून व्यवसायीसँग परामर्श गर्नुभएको हो’, उनले भने, ‘सरकारले संसद्लाई ‘बिजनेस’ दिन छाडेको छ, जसरी भए पनि फेरि संसद् भंग गर्नेतर्फ सरकार अगाडि बढेको देखिन्छ । यस्तो अवस्थामा सदनलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा कानूनी परामर्श खोजिएको हो ।’

मन्त्रिपरिषद्को बैठकको सिफारिसमा गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । गत फागुन ११ गते सर्वोच्च अदालतले संसद् भंग गर्ने सरकारको उक्त कदम असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापित गराइदिएको थियो । छलफलमा राजधानीमा उपलब्ध स्थायी समितिका सदस्य र कानून व्यवसायीको सहभागिता थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.