चितवन ।
चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ ।
एक वर्षदेखि काठमाडौँमा उपचार गराउँदै आउनुभएका भरतपुर महानगरपालिका–१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आउनुभएका लामालाई उनकी छोरी उषा तामाङले कलेजो दान गरेका थिए । राजधानी बाहिर कलेजो प्रत्यारोपण सेवा सञ्चालनको अनुमति लिई पहिलो पटक सफल प्रत्यारोपण गरिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कलेजो प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक सर्जन डा सञ्जय यादव, डा एकानन्द सिंह, डा प्रवीण जोशी, डा जयन्तकुमार साह, डा अभिषेक भट्टराई, एनेस्थेसियोलोजिष्ट डा किरण अधिकारी, डा सुरेश गौतम, डा नवीन यादवलगायतको समूहले सफल प्रत्यारोपण गरेको बताइएको छ ।
विगत वर्षदेखि कलेजो प्रत्यारोपणका लागि आन्तरिक तयारी गरिरहेको कलेजले आवश्यक सबै उपकरण, दक्ष प्राविधिक जनशक्ति र कलेजोसम्बन्धी विशेषज्ञका प्रयासबाट कलेजो प्रत्यारोपण गरेको उनको भनाइ छ । कलेजो प्रत्यारोपणका लागि चार सर्जन, तीन क्रिटिकल केयर, तीन एनेस्थेसियोलोजिष्ट र १० विशेषसहितको टोली अस्पतालमा छ ।
नेपालमा नै उपचार र शिक्षणमा अग्रणी मानिने कलेजका प्रबन्ध निर्देशक एवं अध्यक्ष प्रा डा हरिशचन्द्र न्यौपानेले सफल रुपमा कलेजो प्रत्यारोपण गर्नु कलेजको उपलब्धिका रुपमा लिइएको बताउनुभयो । भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्र र काठमाडौँको शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण हुँदैआएको छ ।
यहाँ उपचारका लागि २५ लाख लाग्ने उनले जानकारी दिए । अहिले अस्पतालमा कलेजोको उपचारका लागि दैनिक १० देखि २० जना आउने गरेको र तीमध्ये २० प्रतिशत कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामी रहेको अस्पतालले जनाएको छ । अस्पतालले विसं २०७६ वैशाखमा कलेजो प्रत्यारोपणका लागि अनुमति लिएको थियो । रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.