पर्वत ।
पर्वतारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकका लागि मानसिक स्वास्थ्यसम्बन्धी विशेष तालीम सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघअन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालीममा पर्वतारोहण संघ सम्बद्ध ३९ जनाले सहभागिता जनाएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा बद्री केसीले कोभिड–१९ का कारणले मानसिक समस्याले गर्दा वैैदेशिक रोजगारलगायत क्षेत्रमा कार्यरत श्रमिकलाई नकारात्मक असर पारेको पाइएको बताए ।
विशेष गरेर पर्वतारोहण संघसँगको सहकार्यमा साहसिक नेपाली पर्वतारोही श्रमिक तथा पर्वतारोहण क्षेत्रका अन्य व्यक्तिका लागि यो तालीमले व्यक्तिगतरुपमा मात्रै नभई उसको परिवार तथा समाजलाईसमेत फाइदा पुगिरहेको डा केसीको भनाइ थियो ।
संघले कोभिड–१९ का कारणले प्रभावित नेपाली श्रमिकलाई विभिन्न गन्तव्य देशमा र नेपाल फर्केपछि पनि राहत तथा उद्धारका लागि सहयोग पु¥याएको जानकारी गराए। यस्तै संघका अर्का उपाध्यक्ष एवं महिला तथा युवा विभाग संयोजक रविना थापाले कोरोनाले सबै क्षेत्रमा आर्थिक एवं सामाजिकरुपमा समेत असर परेको र पर्वतारोहण एवं ट्रेकिङ व्यवसायमा समेत असर परेको बताए ।
तालीमले सो क्षेत्रमा संलग्न व्यक्तिलाई सहयोग पुग्ने थापाले बताउनुभयो । मानसिक स्वास्थ्यका सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ थियो । यस्तै संघका स्वास्थ्य समितिका संयोजक डा .सञ्जीव सापकोटाले संघले टेलिहेल्थका माध्यमबाट देशविदेशमा रहेका नेपालीलाई सहयोग पु¥याउनका लागि पहल गरिरहेको जानकारी गराए ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले गैरआवासीय नेपाली संघ र नेपाल पर्वतारोहण संघको सहकार्यमा यस्ता किसिमका कार्यक्रम गर्दै जाने बताए। प्रसिद्ध साहसी पर्वतारोही माया गुरुङ तथा अन्य यस क्षेत्रसँग सम्बन्धित सबै सहभागीले तालीम अत्यन्त फलदायी रहेको र आगामी दिनमा पनि संघबाट यस प्रकारको सहयोगको अपेक्षा राखेको धारणा राखेका थिए ।
तालीम कार्यक्रममा डा विजय ज्ञवाली तथा माधव खतिवडाले मानसिक स्वास्थ्य, तनाव एवं आत्महत्या रोकथाम जस्ता विषयमा प्रशिक्षण गराएका थिए। रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.