www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री गुरुङको प्रश्नः स्तरीय बाटो बनाउन किन सक्दैनौँ, नेपाली सधैँ ४ फिटको बाटो हिड्नुपर्ने हो?

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली हिड्ने सडक बाटो दीर्घकालिन रुपमा स्तरीय बनाउन किन सक्दैनौँ भन्दै प्रश्न गरेका छन् ।

पोखरामा सुरु भएको नगर विकास कोषको गण्डकी प्रदेश स्तरीय प्रादेशिक कार्यशाला गोष्ठीको उद्घाटनपश्चात सम्बोधन गर्दै गुरुङले हामीले ४०/५० वर्षसम्म टिक्ने स्तरीय बाटो किन बनाउन सक्दैनौँ भन्दै प्रश्न गरेका हुन् ।

Batas

‘नेपालीहरु सँधै ४ फिटको बाटोमा हिँड्नुपर्ने हो ? ओटाशिल सडक मात्र बनाउनुपर्ने ?४०/५० वर्षसम्म टिक्ने स्तरीय बाटो बनाउन हामी किन सक्दैनौँ? उनले भने

यस्तै मुख्यमन्त्री गुरुङले वैदेशिक सहायताबाट हुने विकास नेपालीको आवश्यकता अनुसार हुनुपर्ने विचार राखे । उनले भने‘ बैदेशिक सहायता आउने वित्तिकै उनीहरुले भनेजस्तै गरी काम गर्नुपर्छ भन्ने मान्यता राख्ने होईन, विकाश हाम्रो आवश्यकता अनुसार हुनुपर्छ’ । वैदेशिक दासत्वको मानसिकताबाट माथि उठ्नुपर्ने मुख्यमन्त्रीको भनाई थियो । वैदेशिक सहायता भन्ने वित्तिकै उनीहरुको आवश्यकता अनुसार खर्च गर्ने काम गलत रहेको उनले बताए ।

मुख्यमन्त्री गुरुङले संघीयता राज्यका लागि महँगो व्यवस्था भएपनि जनताका लागि भने सबैभन्दा सस्तो व्यवस्था भएको जनाए । संघीयता आफैमा महँगो व्यवस्था नभएपनि यसलाई महँगो बनाउने काम भैरहेको उनले बताए । ‘भन्ने नै हो भने जिल्ला समन्वय समिति आवस्यक छैन, ७ प्रदेशमा ७ वटा मात्र हाई कोर्ट भए पुग्ने ठाउँमा २२ वटा बनाईएको छ त्यसले पनि आर्थिक भार बढाएको छ।’ मुख्यमन्त्री गुरुङले भने

स्थानीय सरकार स्थायी सरकार भएकाले कार्यरत जनशक्तिको उचित व्यवस्थापन हुन सके जनताले छरितो रुपमा सेवा पाउने उनको भनाई थियो ।

सो अवसरमा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्यञ्जुले मानिस बसेका सबै ठाउँमा शहरको जस्तै सुविधा दिन नसकिने बताए ।

सुविधायुक्त ठाउँमा नागरिकहरुको बसोबास गराई भौतिक पूर्वाधारको विकास गरिनुपर्नेमा उनको जोड थियो । उनले शहरीकरणको मुख्य समस्या भनेकै आर्थिक व्यवस्थापन गर्नु रहेको भन्दै उनले मागेर ल्याएको बजेटले शहर विकास हुन नसक्ने बताए ।

उनले स्थानीय प्रादेशिक र संघ सरकारको सहकार्यमा योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । ‘प्रदेश सरकार बजेट खर्च गर्न सक्दैनन, स्थानीय सरकारलाई बजेट अभाव हुने गरेको छ उनले भने बरु स्थानीय सरकारलाई बजेट दिए जनताको काम हुन्थ्यो’ उनले भने ।

सोही अवसरमा बोल्दै पोखरा महानगरका प्रमुख एवं नगर विकास कोषका सदस्य मानबहादुर जिसीले नगरविकास कोषको काम गर्ने शैली र नीतिमा समेत परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले कोषले लगानी गर्ने विषयमा प्रदेश सरकारसँग पनि समन्वय गर्नुपर्नेमा जोड दिए ।

गोष्ठीमा प्राविधिक सत्र अन्तर्गत नगर विकास कोषको दूरदृष्टि एवं ४ वर्षे व्यवसायिक योजना, नगरविकास कोषको व्यवसाय प्रर्वद्धन तथा कार्य प्रकृया, आयोजनामा जग्गा सम्बन्धि कानूनी विष्लेषण, खानेपानी आयोजना तयारी, सञ्चालन र व्यवस्थापनमा स्थानीय तह र उपभोक्ता संस्था, सहलगानी तथा वैकल्पिक वित्तिय श्रोत परिचालन विधि लगायत विषयमा कार्यपत्र प्रस्तुति गर्ने कार्यक्रम छ ।

नगर विकास कोषका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासन महाशाखा प्रमुख सुर्य बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.