www.tandavnews.com
Fact ~ In search of truth

दरबन्दी मिलान गर्दा शिक्षक अपुग

मनाङ ।

दरबन्दी मिलानका कारण जिल्लाका विद्यालयमा शिक्षक अपुग भएको छ ।

जिल्लाभर २०२ शिक्षक रहेकामा ९६ सरुवा भएपछि १३६ मात्र रहँदा शिक्षकको अभाव देखिएको हो । नेपाल सरकार शिक्षा मन्त्रालयका अनुसार विद्यार्थीको अनुपातमा बढी भएका जिल्लाबाट कम भएका जिल्लामा सरुवा गरेसँगै मनाङका केही विद्यालय शिक्षकविहीन अवस्था पुगेका हुन् ।

Batas

नेपाल सरकारले सबै बालबालिकालाई विद्यालयको पहुँच पु¥याउने लक्ष्य राखे पनि शिक्षक दरबन्दी कटौती हुँदा विद्यालयको पहुँचबाट टाढा हुने देखिएको छ । दुरगम जिल्ला भौगोलिक विकटता कारण बालबालिका घण्टौँ लगाएर विद्यालय पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

यहाँका शिक्षक स्थानीय तह र जनप्रतनिधिले केन्द्रमा पटकपटक पहल गर्दा पनि सुनाइ नभएपछि शिक्षकले समस्या समाधानको माग गर्दै शिक्षा विकास तथा समन्वय एकाइमा ज्ञापनपत्र बुझाएको छ । शिक्षक सरुवा गर्दा भौगोलिक विकटता पहिलो आधार मानी महिला शिक्षकलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।

जिल्लाभर कूल २८ विद्यालयमा ६५१ विद्यार्थी रहेको समन्वय एकाइ मनाङको तथ्यांक छ । एकाइका अनुसार विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी कटौती हुँदा कतै विद्यालय मात्र रहने र कतै शिक्षक मात्र हुने देखिन्छ ।

विद्यालय र विद्यार्थी सङ्ख्याका आधरमा दरबन्दी कटौती हुँदा समस्या भएको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । उनका अनुसार गाउँपालिकामा दुई माध्यमिक र नौवटा आधारभूत गरी ११ वटा विद्यालय छन् । दरबन्दी मिलानले आधारभूत तहका ४९ र माविको एक गरी ५० दरबन्दी काटिँदा ११ वटा विद्यालयमा नौ जनामात्र शिक्षक दरबन्दी कायम हुँदा समस्या भएको घलले बताए ।

शिक्षक दरबन्दी मिलानले सरुवा गर्दा सबैभन्दा बढी नासो गाउँपालिकाका विद्यायलयहरू मर्कामा परेका छन् । यता समन्वय एकाइ मनाङका प्रमुख नारायण रेग्मीका अनुसार विद्यालयमा प्राथमिक तहमा ५१ जनाभन्दा धेरै विद्यार्र्थी भएमात्र शिक्षक थप गर्न सकिने बताए । जिल्लाभर कुनै पनि विद्यालयमा यो मापदण्डा पुग्दैन यसरी गरिएको मापदण्डले नै समस्या आएको रेग्मीले बताए ।

हिमाली क्षेत्रका विद्यालयमा यो मापदण्ड कायम गरिनु हुँदैन । यहाँ त भौगोलिक आधारमा बालबालिकाको विद्यालयसँग दूरी राख्नु उचित हुने पनि उनको भनाइ छ । राज्यले अरू जिल्ला र हिमाली जिल्लालाई एकै नजरले होर्दा समस्या आउने शिक्षक संघ मनाङका अध्यक्ष आनन्दराज घिमिरेले बताए ।

यसरी दरबन्दी मिलनले शिक्षकहरू सरुवा हुँदा स्थानीय तहले नयाँ शिक्षक भर्ना गर्नुपर्ने र स्थानीय तहको विकासका लागि आएको बजेट तलब भत्तामा सकिने शिक्षक कृष्णदास कोइराला भन्छन् । विद्यार्थी संख्याका आधारमा दरबन्दी मिलान गर्दा मनाङको शिक्षा क्षेत्रमा असर पर्ने देखिन्छ ।

कोरोनासँगसँगै बल्लतल्ल सञ्चालनमा आएका यहाँका विद्यालय शिक्षक सरुवाका कारण पठनपाठनमा समेत प्रभाव परेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । कतै शिक्षक छैनन् कतै विद्यार्थी छैनन् । यसो त देशकै थोरै जनसंख्या रहेको यस जिल्लामा सरकारको मापदण्डअनुसार विद्यार्थी संख्या पुग्न कठिन छ । विद्यालय र बालबालिकाको दूरीका हिसाबले काम गर्नु जरुरी रहेको शिक्षक चेकमान गुरुङले बताए । उनका अनुसार राज्यले सबै क्षेत्रमा सुगम र दुर्गमलाई छुट्टाछुट्टै मापदण्डा बनाउनुपर्ने उनको भनाइ छ ।

हाल यस जिल्लाका चारवटा गाउँपालिकामध्ये नार्पाभूमिबाहेक अरू तीन गाउँपालिकाका शिक्षक दरबन्दी काटिएको छ । ङिस्याङ गाउँपालिकाबाट २२, नासो गाउँपालिकाबाट ५२, चामे गाउँपालिकाबाट २२ गरी ९६ जना शिक्षक जिल्लाबाहिर सरुवा भएको छ । दरबन्दी मिलानकै कारण सरुवाका सूचीमा परेका शिक्षकहरूले तलबसमेत नपाएको गुनासो गरेका छन् । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.