अर्जुन गाहा (सुशान्त),
पोखरा/ताण्डव न्यूज ।
‘कोभिड–१९’ कोरोना भाईरसको संक्रमण फैलिन थालेपछि गृहमन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालयहरुले विज्ञप्ती जारी गर्दै भिडभाड, जमघट तथा सभा–समारोह नगर्न निर्देशन दिएको छ ।

पूर्व निर्धारित कार्यक्रमहरुलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय कास्कीले भीडभाड नगर्न र सामाजिक दुरी कायम गरि कार्यक्रम आयोजना गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सुचना अधिकारी श्रीनाथ पौडेलले ताण्डव न्यूजलाई जानकारी दिए ।
पोखरा महानगरपालिका ९ नयाँबजार स्थित पर्दशनी केन्द्रमा उनले भोली (शनिबार) हुने भनिएको लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं महाधिवेशनलाई मिनिमाईज गर्न निर्देशन दिएको बताए । ‘प्रशासनको निर्देशन अनुसार कार्यक्रम धेरै मिनिमाईज गर्नुभएको छ । पहिला प्रस्तावित कार्यक्रमलाई संशोधन गर्नुभएको छ । पहिले देखि तयारी भएको कारणले बर्जीत गरिएन, उनले भने, ‘उहाँहरुलाई प्रतिनिधि घटाउनुस् भिडभाड नगराउनुस, थोरै भन्दा थोरै उपस्थितिमा र घटाउन सक्ने जति घटाएर कार्यक्रम गर्नुस भनेका छौ ।’
सहायक सीडिओ पौडेलका अनुसार लायन्स क्लबलाई प्रतिनिधि घटाउन, कम भन्दा कम उपस्थिति गराउन र कार्यक्रम संशोधन गरी कोभिड संक्रमणको जोखिम न्यून गराउने गरी कार्यक्रम गर्न निर्देशन दिईएको छ ।
लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेजले भने गत ८ गते (आईतबार) पोखरामै पत्रकार सम्मेलनको आयोजना गरि देशभरका ४ हजार बढि प्रतिनिधिको उपस्थितिमा कार्यक्रम भव्य गर्ने जानकारी दिएको थियो ।
कास्की प्रशासनको निर्देशन पश्चात कार्यक्रमको रुपरेखा परिवर्तन गरिएको होष्ट क्लब (लायन्स क्लब अफ पोखरा माछापुच्छ्रे भिलेज) का अध्यक्ष शिवराज आचार्यले बताए । ‘कार्यक्रमको तयारी ९० प्रतिशत सकिएको छ, उनले भने, ‘बाहिरका गेष्टहरु आउदै हुनुहुन्छ र पोखराका रेडी छौ । हाम्रो अनुमान ४ हजार भन्ने थियो तर सँख्या घटेको छ । कन्फेरेन्स सरल ढङ्गले गर्ने पक्षमा गयौ ।’ कन्भेनर आचार्यका अनुसार देशभरका ४ हजार प्रतिनिधिबाट करिब १ हजारको मात्रै सहभागिता रहनेछ । ‘प्रशासनको निर्देशन भन्दा पहिलेनै तयारी थियो । निर्वाचन बेलुका ६ बजेबाट सुरु हुने थियो । अब मध्यान्ह १२ बजे बाटै गर्छाै, आचार्यले थपे, ‘निर्देशन मान्दै सेडुअल नै चेन्ज गरियो ।’
संक्रमणकोे जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले आम नागरिकलाई (फागु पूर्णिमा) होली घरमै बसेर मनाउन समेत निर्देशन दिएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.