www.tandavnews.com
Fact ~ In search of truth

मौजामा ‘सेमी हाई अल्टिच्यूड’ खेल मैदानको शिलान्यास

पोखरा
ताण्डव न्यूज ।

अहिले ठूला ठूला रंगशालाहरु शहर केन्द्रित भईरहेका छन् । तर अबको केहि वर्षपछि शहरी कोलाहलबाट मुक्त ठाउँमा खेलकूदको रौनक बढ्ने र दर्शक पनि आकर्षित हुने विश्वासका साथ पोखरा महानगरपालिकाले १६ सय ५० मिटरको उचाईमा फुटबल मैदान निर्माण थालेको छ ।

मैदानको शनीबार एक कार्यक्रमबीच शिलान्यास गरिएको हो । पोखरा महानगरका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले मैदानको शिलान्यास गरे । “ सेमी हाई अल्टिच्यूड” खेल मैदान का रुपमा निर्माण गर्न लागिएको यो मैदान समुन्द्री सतहबाट १६ सय ५० मिटरको उचाईमा बन्ने भएकाले यसको आफ्नो छुट्टै विशेषता रहने महानगरको विश्वास छ । खेलकूदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्धेस्यका साथ खेल मैदान निर्माण गर्न थालिएको महानगरका मेयर मानबहादुर जिसीले बताए । विश्वकै उत्कृष्ठ ठाउँमध्ये पोखरा पनि एक रहेको भन्दै उनले खेलकूदको माध्यमबाट पर्यटन प्रर्वद्धनका लागि खेल मैदानले सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।

Batas

मैदानका लागि आवस्यक सहयोग गर्न प्रदेश सरकारको तर्फबाट आवस्यक पहल गर्ने गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले आश्वासन दिए ।

सो अवसरमा बोल्दै शहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेले मैदानको निर्माणसंगै खेल गतिविधि बढ्न सकेमा ग्रामिण क्षेत्रको आर्थिक विकास तिव्र हुने बताए ।

मैदान निर्माणका लागि प्राविधिक तयारी पनि पूरा गरिएको छ । करिब १६ करोड लागत लाग्ने यो मैदान सम्म्याउनका लागि महानगरले यस वर्ष रु ४० लाख विनियोजन गरिसकेको छ भने वर्षेनी यसमा आवस्यक बजेट विनियोजजन गरिने महानगरपालिका योजना महाशाखा प्रमुख, ईन्जिनियर शारदामोहन काफ्लेले बताए ।

एक हजार सात सय मिटरको उचाईमा रहेको यो खेल मैदानमा इलेभन ए साईड फुटबल खेल्न मिल्नेगरी संरचना निर्माण गरिने छ । मैदानसँगै त्यहाँ करीब ३ हजार दर्शक अटाउने क्षमताको प्राकृतिक प्याराफिटसमेत निर्माण गरिने वड नं २० का अध्यक्ष सिम गुरुङले बताए । त्यस्तै, खेलाडीका लागि चेञ्जिङ रुम, शौचालयलगायतका संरचनापनि निर्माण गरिनेछ । सो मैदानको दक्षिणी भागमा बास्केटबल र भलिवल कोर्टसमेत बनाईनेगरी डिपीआर तयार भएको छ ।

खेल मैदान बनाईसकेपछि नेपालको राष्ट्रिय फुटबल टिमलाई प्रशिक्षण (क्लोज क्याम्पमा राखेर) पनि गराउन सकिने वडाध्यक्ष गुरुङले बताए । खेल मैदान नजिकै नेपालकै चर्चित आँटी घर मौजा होम–स्टेसमेत भएकाले त्यहिं राखेर क्लोज क्याम्प चलाउन सकिने उनको भनाई छ । ‘हिमालको काखमा ग्रामिण परिवेशमा अर्गानिक वस्तुहरु खाएर प्रशिक्षण गराउने हो भने पक्कैपनि नेपालको फुटबलमा सकारात्मक नतिजा दिन्छ भन्नेमा हामी विश्वस्त छौं’ उनले भने ।

उत्तरमा लहरै खुलेका हिमालको काखैमा रहेको यो मैदानमा कुनेपनि खेल खेल्न पाउँदा खेलाडीहरुलाई समेत छुट्टै अनुभव हुनेछ । मैदानबाट माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमालका श्रृंखलाहरु दृश्यावलोकन गर्न सकिन्छ । उसो त खैल मैदान नजिकैको थुम्कोबाट पोखरा बजारसँगै नजिकका क्षेत्रहरु प्रष्टसँग देखिन्छ ।

एक दशकअघि मेला र महोत्सव गर्ने खुला चौरमा अन्तराष्ट्रिय मापदण्डको फुटबल मैदान निर्माणका गर्न लागि स्थानीयबासी पनि कस्सिएका छन् । शिलान्यास कार्यक्रम चलिरहँदा स्थानीयहरुले पञ्चे बाजा सहित मैदान निर्माणको स्वागत गरे ।

आँटीघर मौजाको थाप्लोमा रहेको यो मैदान भन्दा उत्तर तर्फ आवस्यक अरु पनि जग्गा भएकाले मैदानका लागि जग्गाको अभाव नहुँने उनीहरुको विश्वास छ । फुटबल मैदान निर्माण भएपछि होमस्टेलाई प्रभावकारी बनाउन

सकिए आँटीघर मौजा खेल मैदानमा राष्ट्रियस्तरकै प्रतियोगिता सञ्चालन गर्न सकिने उनीहरुको भनाई छ । गाउँमा पर्यटन प्रर्वद्धन तथा खेल क्षेत्रको समेत विकासमा थप टेवा मिल्ने स्थानीय शुसिल बस्नेतले बताए ।
यसअघि पोखरा महानगरपालिकाले आफनो पाँचौ नगरसभा मार्फत मौजामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्ने योजना अघि सारेको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.