www.tandavnews.com
Fact ~ In search of truth

१२ वर्षसम्म मर्मत नहुँदा मोटरेबल पुल जीर्ण, जोखिमपूर्ण यात्रा गर्न बाध्य

पर्वत ।

निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा यहाँको एक मोटरेबल पुल जीर्ण बन्दै गएको छ ।

समय समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र सडक दोबिल्ला फलेबास–सडकको मोदीखोलामा निर्मित मोटरेबल पुल जीर्ण बनेको हो ।

Batas

कुश्मा नगरपालिका– ८ दोबिल्लास्थित मोदीखोलामाथि रहेको सो मोटरेबल पुलको समय समयमा मर्मत नहुँदा सवारीसाधन र यात्रुहरु समेत जोखिमपूर्णरुपमा वारपार गर्न बाध्य भएका छन् ।

पुलको अधिकांश ठाउँमा नट बोल्टु खुस्किएको, पुलमा रहेका पाता उप्किएका तथा ठाउँ ठाउँमा खिया लागेको, पुलको दुवै छेउमा माटो जमेको भए पनि कुनै निकायले मर्मतमा ध्यान नदिँदा सवारीसाधन र यात्रु जोखिममा परेका छन् ।

पुलका पाता नै उप्किएर खाल्डा परेका छन् । तत्कालीन जिल्ला विकास समितिले हेरालो राखेर नियमितरुपमा रेखदेख तथा सफा गर्ने गरेको भए पनि अहिले यसतर्फ ध्यान नदिँदा झनै जिर्ण बन्दै गएको सवारी चालकको गुनासो रहेको छ ।

पुलको नियमितरुपमा रेखदेख नहुँदा ओभर लोड गरिएका गाडी, डोजर, लोडरलगायतका हेबी इक्युमेन्टसमेत पुलबाटै वारपार गर्ने गर्दा पुलका पातामा प्वाल पर्ने समस्या देखिएको स्थानीय चित्रसागर श्रेष्ठले बताए । उनले भने, ‘पुलमा जुनसुकैबेला पनि ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ ।

पुलबाट पाँच स्थानीय तहका ४५ भन्दाबढी वडामा सवारीसाधन आवातजावत आउने गर्दछन् । दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन चल्ने उक्त पुल १५ टन भारवहन क्षमता भएको भएपनि ओभरलोड गरी लैजाँदासमेत कुनै निकायले कारवाही नगरेको स्थानीय राम शर्मा पौडेलले बताए । ठूलाठूला डोजर लोडर जस्ता उपकरणहरु यहीँबाट तार्ने गरेकोसमेत पौडेलको भनाइ छ ।

जिल्ला समन्वय समितिले पुल मर्मतका लागि कोष नभएकाले रेखदेख भए पनि जीर्ण बन्दासमेत मर्मतको काम गर्न नसकिएको बताएको छ । पूर्वाधकार विकास कार्यालयले पुलमा पाता मिलाउनेबाहेक अन्य मर्मतको योजना नरहेको जनाएको छ । टुक्रिएका, छुट्टिएका फलामका पाता बोल्डिङ गरेर जोड्नेबाहेक अरु योजना नरहेको सो कार्यालय प्रमुख कृष्ण आचार्यले बताए ।

पुल मर्मतका लागि लागत तयार गरेर मन्त्रालयमा माग गरिएको र रकम निकासा भएमा पूर्णरुपमा मर्मत गर्न सकिने उनको भनाइ छ । स्थानीय विकास मन्त्रालयले नेपालमै नमूना पुलका रुपमा सस्पेन्डेड मोडलमा सो पुल निर्माण गरेको थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.