www.tandavnews.com
Fact ~ In search of truth

मैले देखेको कास्कीकोट, विकासका निम्ति भएका प्रयत्न

जब म हुर्किदै गएँ, समाजका हरेक सामाजिक विषयमा मलाई खुल्दुली हुँदै गयो । यहाँ साना साना कुरालाई व्यवस्थापन गर्न नसक्दा र साना साना कुरालाई सम्बन्धित ठाउँमा पु¥याउन नसक्दा, सम्बोधन नहुँदा यहाँका मान्छेहरुको जीविकोपार्जनमा पनि गाह्रो भएको देखिन्थ्यो र मलाई के कुराले छोयो भने शहरबाट यति नजिक भए पनि किन कास्कीकोट विकास हुन सकेन ? मलाई यो कुराले पनि कहिल्यै खुसी दिएन ।

कास्कीको प्राकृतिक रुपले भरिपूर्ण छ । शाह राजाहरुको प्रथम उद्गमथलो भनेर यहाँ चिनिन्छ । कास्कीकोट पर्यटकीय रुपले हेर्दा एकदम रमणीय, स्वच्छ र आनन्दको अनुभूति दिलाउने खालको छ । राजा कुलमण्डलका सन्तान लमजुङ, गोरखा हुँदै राजाका रुपमा फैलिएका इतिहास छ ।

यस कास्कीकोटमा गुप्तकालिका मन्दिर, कुलमण्डल शाहको दरबार तथा अन्य भग्नावशेषहरु, भूमेस्थल, मन्दिर, खड्गाउँ कोट, देउराली मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् भने थामाकोगरा, भ्युटावर, कश्यपताल, कालिका मन्दिरबाट हिमश्रृंखलाहरु अवलोकन गर्न सकिन्छ । यी यहाँका प्राकृतिक पर्यटकीय स्थल हुन् । कास्कीकोटको माथिल्लो भुभाग सुन्दर तालतलैया टाकुरा माथि छ । हिमालको दक्षिणपट्टी महाभारतका पहाड र फाँटहरु देख्दा मनै आनन्द हुन्छ ।

Batas

यति हुँदा पनि हामीले सोचेजस्तो विकास किन हुन सकेन ?

यतिखेर कास्कीकोटमा केही ठूला र महत्वकांक्षी योजनाहरुको आवश्यकता छ र हुनुपर्छ । पामे हुँदै तल्लो भुभागबाट कास्कीकोटको माथिल्लो भुभागसम्म र पूर्वपश्चिम तोरीपानीदेखि फल्लापानीसम्म अति थोरैको दुरीमा पनि हावापानी र भुवनोटको हिसाबले धेरै भिन्नता पाइन्छ । त्यसैले यहाँको विकास पनि जुन भुवनावट छ त्यसैको मोडालिटीमा विकास हुनुपर्छ जस्तो लाग्छ । मानौ कि एकछिन कास्कीकोटको विकासलाई तिन तहमा भुवनोटका आधारमा विभाजन गरियो । सबभन्दा माथिल्लो भाग, बिचको भाग र सबभन्दा तलको भाग ।

अब सबभन्दा माथि पर्यटकीय हिसाबले विकास गर्न सकिन्छ । त्यो खालको बनावटको भुभाग छ, त्यो खालका सम्भवनाहरु छन् । बिच भुभगमा खेतीयोग्य जनिम भएका र यहाँको जग्गाको संरचना त्यस प्रकारको छ । त्यस कारण आधुनिक कृषि प्रणाली प्रयोग गरी कृषि गर्न सकिन्छ र यस भुभागमा धेरै जग्गा भएका कारण जग्गाहरु पनि बाँझा छन् । यहाँको माटोको परीक्षण गरी जडिबुटी लगाई व्यापक औद्योगिक उत्पादन हुने ठाउँको रुपमा चिनाउन सकिन्छ । तल्लो भुभागलाई कृषि व्यापार केन्द्र पर्यटकीय हिसाबले विकास गर्न सकिन्छ ।

साथै कास्कीकोटमा आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई एकदिनको बस्नको वातावरण सृजना गर्नको निम्ति हाइकिङको निर्माण गर्न सकिन्छ । त्यसको निम्ति पामे हुँदै कास्कीकोट दरबारसम्मको प्रकृतिसँग हिड्न मिल्ने पदमार्ग निर्माण गर्न सकिन्छ । साथै सराङकोटबाट देउरालीसम्मको अर्को हाइकिङ निर्माण गर्न सकिन्छ । पिकनिक स्पोटहरुलाई अझ व्यवस्थित गर्न सकिन्छ । थामाकोगरालाई नेचुरल मेडिटेशन हलको रुपमा प्रयोग गर्न सकिन्छ । यस्ता धेरै सम्भावनाहरु छन् र कास्कीकोट स्वास्थ्यमा पनि त्यस्तै खालको परिवर्तन आवश्यक छ । हाम्रा हेल्थपोष्ट, स्वास्थ्यसँग जोडिएका ठाउँहरु यहाँका जनताले विश्वास गर्ने खालका बनाउनु पर्दछ । शिक्षामा पनि त्यहीखालको परिवर्तन हुन आवश्यक छ ।

कास्कीकोटका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरु जुनसुकै ठाउँमा पनि प्रतिस्पर्धा गरेर जित्नेखालका विद्यालय बनाउनु पर्दछ । त्यस्तै गरी भौतिक संरचना निर्माण सबै विकास होइन तर भौतिक संरचना खासगरी भरपर्दा यातायात व्यवस्था अहिले सबभन्दा ठूलो आवश्यकता हो । माथि उल्लेखित कुुरा सुव्यवस्थित गर्ने हो भने अहिलेको अवस्थाभन्दा धेरै राम्रो कास्कीकोट बनाउन सकिन्छ । प्रत्यक्ष हेर्दा नदेखिए पनि यसले बेरोजगारीको ठूलो समस्यालाई समाधान गर्न सक्दछ । तर पनि यति हुँदाहुँदै सानो पुँजी र थोरै कसरतमा सम्पन्न हुन सक्ने योजनालाई विर्सन हुँदैन । जसले कास्कीकोट विकासमा ठूलै हिस्सा ओगट्दछ ।

कास्कीकोट पुरातात्विक शक्तिपिठ र संस्कृतिले चर्चित ठाउँ हो । विकाससँगसँगै यसको “कस्मेटिक कन्सर्न” मा पनि उत्तिकै ध्यान दिनु जरुरी छ । जसले गर्दा यसको पहिचानमा कुनै धराशायी नहोस् । हिजोआज विकास सापेक्षित परिभाषित छ, त्यसैले यस्ता कुरामा ध्यान दिइयो भने दिगो रुपमा सुन्दर बनाउन सकिन्छ । कास्कीकोटमा यस्ता क्षेत्रमा काम भइरहेको छ, मात्र मैले यस क्षेत्रका माननीय राजीव पहारीज्यू, मित्रकुमारी गुरुङ र वडाका जनप्रतिनिधिहरुको मेहनतले केही उपलब्धीहरु भएका छन् । तिनीहरुको म थोरै चर्चा गर्न चाहन्छु ।

– लौरुक लिफ्टीङ खानेपानी योजना : यो कास्कीकोटको एउटा गौरबको योजना हो । यसले कास्कीकोटमा ठूलो खानेपानी समस्यालाई समाधान गर्दछ ।
– ठूलाखेत भजाले सिंचाई योजना, जसले गर्दा बिच भुभागमा रहेको एक क्षेत्रको लगभग २०० रोपनी जग्गामा सिंचाई गर्न सकिन्छ ।
– सुईखेतबाट कास्कीकोट जोड्ने पक्की बाटो
– वनपाले फुल्सेडाँडा गुण्टेचौर मोटरबाटो, जुन बाटोले कृषिजन्य वस्तु र विचभागमा रहेको जनसंख्यालाई सहज रुपमा आवतजावत गर्न सहयोग गर्दछ ।
– कुलमण्डल पार्क निर्माण, जुन पौराणिक र पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण अर्थ राख्ने पार्क हो ।
– देउराली खडगाउँ पदमार्गमा खानेपानी योजना,
– ढावा सिंचाई आयोजना, जुन क्षेत्र तरकारी पकेटको निम्ति उपयुक्त ठाउँ हो ।
– कश्यपताल संरक्षण, जुन पुरातात्विक हिसाबले महत्वपूर्ण ठाउँ हो ।
– प्रगतिशील स्कुलहुँदै कालिका विद्यालयसम्मको मोटरबाटो, जुन मोटरबाटोले कास्कीकोटको सबभन्दा माथिल्लो भुभागसम्म पुग्ने बाटोको रुपमा प्रयोग गरिन्छ ।
– खेलमैदानको निम्ति पनि काम भइरहेको छ भने सामुदायिक विद्यालय व्यवस्थापनको निम्ति पनि बजेट विनियोजित भई कार्यान्वयन भएको छ । उक्त योजनाले माथिका परिकल्पना गरिएका योजनालाई केही हदसम्म सहयोग हुनेछ । जसले गर्दा माथिका योजना सफल हुन महत्वपूर्ण भूमिका खेल्दछ ।

मलाई कुनै न कुनै देखिने गरी परिवर्तन गर्न सकियोस् भन्ने तिव्र चाहना छ । उसो त, कास्कीकोटमा अवाधारणाको खाँचो भन्दा व्यवहारिक र सकारात्मक सोंचको महसुस भइरहेको देख्छु । दिनहुँ नयाँ नयाँ योजना बनिरहेका छन्, त्यो कति प्रयोगमा उतारियो, कति प्रयत्न गरियो त्यो समीक्षाको विषय होला । हुन त “बड्स टु डिट्स” अर्थात शब्दलाई कार्यरुप दिन त्यस्तो सहज छैन जति सहज परिकल्पना गर्दा हुन्छ तर पनि नयाँ नयाँ सोंच र परिकल्पना आफ्नै किसिमको महत्व छ र रहनेछ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.