www.tandavnews.com
Fact ~ In search of truth

निगमसँग रहेका चिनियाँ जहाजको व्यवस्थापन हुने

काठमाडौं।

सरकारी निर्णयअनुसार नेपाल वायुसेवा निगमसँग रहेका छ वटा चिनियाँ जहाजको व्यवस्थापन हुने भएको छ ।

चिनियाँ जहाज प्रभावकारीरुपमा सञ्चालन तथा व्यवस्थापन हुन नसक्दा आर्थिक भार बेहोरिरहेको निगमका लागि यो व्यवस्थापन निकै ठूलो उपलब्धी हो । निगमसँग दुई वटा ‘एमए ६०’ र चार वटा ‘वाई १२ ई’ गरी छ चिनियाँ जहाज छ । यी जहाज आन्तरिक उडान प्रयोजनका निम्ति ल्याइएको थियो ।

Batas

एक एमए ६० र एक वाई १२ जहाज नेपाल सरकारलाई चिनियाँ सरकारबाट ‘जिटुजी’ वापत अनुदानमा प्राप्त गरेको थियो । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले सरकारलाई प्राप्त अनुदानको दुई जहाज वापत थप एक एमए ६० जहाज र तीन वटा वाई १२ जहाज सहुलियतपूर्ण ऋणमा चीनको विमान उत्पादन गर्ने कम्पनी ‘एभिक इन्टरनेश्नल’ बाट खरिद गरेको थियो ।

‘लोड पेनाल्टी’, बीमा, ‘पार्टस’को आपूर्ति, महङ्गो ‘पार्टस’, महङ्गो ‘सिमुलेटर’ तालीमलगायतको समस्याले चिनियाँ जहाजको सञ्चालनमा निगमले निकै नै आर्थिक नोक्सानी बेहोर्दै आएको थियो ।

निगमका सह–प्रवक्ता सुलेख मिश्रका अनुसार २०७७ असार १६ गतेको सञ्चालक समितिको वैठकले सोही वर्षको साउन १५ गतेबाट सम्पूर्ण चिनियाँ जहाज ‘ग्राउन्डेड’ गर्ने निर्णय गरेको थियो । चिनिया जहाजँमध्ये पाँच वटा मात्र सञ्चालन योग्य छन् । एक बिग्रिएको छ । नाइन एन एकेयु कलसाइन जहाज २०७६ चैत १५ गते नेपालगञ्जस्थित धावनमार्गमा दुर्घटना भई सञ्चालन गर्न नमिल्ने अवस्थामा रहेको छ । बाँकी पाँच वटा विमानको लागि ‘लिजआउट’ गर्ने निगमको योजना छ ।

निगमले २०७० र त्यसपछि विभिन्न मितिमा चिनियाँ जहाज भित्र्याएको थियो । २०७१ बाट आन्तरिक उडानमा चिनियाँ जहाज प्रयोग भएको थियो । निगमले चिनियाँ जहाज ग्राउन्डेड गरेदेखि सरकार समक्ष सोको व्यवस्थापनका लागि पत्राचार गर्नुको साथै उपयुक्त व्यवस्थापनका लागि अनुरोध गर्दै आएको थियो ।

सरकारले केही महिनादेखि उक्त जहाज व्यवस्थापनका लागि प्रक्रियागत चरण र सुक्ष्म अध्ययन विश्लेषणपछि व्यवस्थापनका लागि निर्णय गरेको थियो । निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार २०७७ चैत ४ गते अर्थमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट निगमले चिनियाँ जहाजको व्यवस्थापनसम्बन्धी मार्ग प्रशस्त भएको छ ।

प्रवक्ता श्रेष्ठले चिनियाँ जहाजको स्वामित्व हस्तान्तरण नगरी नेपाल सरकार र निगमको अधिकतम हित हुनेगरी स्वदेशी वा विदेशी वायुयान सञ्चालकलाई लिजमा सञ्चालन गर्न दिन खुला प्रस्ताव आह्वान गरी लिज आउट गर्ने बताए । निगमलाई सरकारले लिज आउट नभएमा विक्रेता÷उत्पादकसँगको समन्वयमा नेपाल सरकारलाई र निगमलाई अधिकतम हित हुने गरी ती जहाज विक्रीको प्रक्रिया अघि बढाउनुपर्नेछ ।

निगमको आर्थिक अवस्थालाई विश्लेषण गर्दा चिनियाँ विमानबाट निगमलाई आयको तुलनामा व्ययभार प्रत्येकवर्ष थप्दै लगेको देखिन्छ । हाल सरकारको व्यवस्थापनसम्बन्धी निर्णयले निगमलाई ठूलै राहत भएको निगमले उल्लेख गरेको छ । चिनियाँ जहाज ग्राउन्डेड भएपछि निगमसँग आन्तरिक उडानका लागि अहिले मात्र दुई थान टुइनअटर जहाज छन् । निगमले देशका प्रमुख गन्तव्य र क्षेत्रीय उडानसमेत सञ्चालन गर्दै आएको छ ।

निगमले अन्तराष्ट्रियतर्फ दुई वटा न्यारो बडी ए ३२० जहाज र दुई वटा वाइड बडी ए ३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.