www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा मापदण्ड विपरितका क्रसर उद्योग बन्द हुने

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा मापदण्ड विपरित सञ्चालनमा रहेका क्रसर बन्द हुने भएको छ । मापदण्ड विपरित सञ्चालन गरेका क्रसरहरु बन्द गर्न भन्दा अरु विकल्प नरहेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीले ताण्डव न्यूजसँग बताए ।

मापदण्ड विपरितका क्रसर उद्योगसँग दुई वटा विकल्प रहेको मेयर जिसीले सुनाए । ‘एक मापदण्ड पुरा गरेर सञ्चान गर्ने, अर्को बन्द गर्ने,’ उनले भने, ‘राष्ट्रिय गौरवको होस् या अरु कुनै होस् , मलतब भएन । सबै क्रसर उद्योगले मापदण्ड पूर्ण रुपमा पालना गर्नु पर्छ ।’

Batas

मापदण्ड विपरितको क्रसरको हकमा कुनै सम्झौता नहुने जि.स.स कास्कीका प्रमुख क्षेत्रीको भनाई छ । ‘हामीले प्रमुख जिल्ला अधिकारी ज्यू लगायतले स्थलगत अनुगमन गरेका हाँै,’ उनले भने, ‘कि मापदण्ड पालना गर्ने या बन्द गर्ने अरु केही कुरा छैनौँ । हामीले मापदण्ड पालना नगरेको उद्योगको विवरण तयार पारेका छौँ, कैफियत अनुसार काम कारवाही हुन्छ ।’

जिल्ला अनुगमन समिति र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले कास्कीमा रहेको क्रसर उद्योगको अनुगमन गर्दा १२ वटै क्रसर उद्योगले पूर्ण रुपमा मापदण्ड पालन नगरेको पाइएको थियो । जसको आधारमा ति उद्योगहरुलाई समितिले स्पष्टकरण सहित कागजात पेश गर्न लगाएको थियो । केही क्रसर उद्योगले जवाफ र कागजात पेश गरेपनि चित्त बुझ्दो जवाफ नआएको अनुगमन समितिका सदस्य सचिव तथा जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए ।

यस्तो छ अटेरी क्रसरको विवरण

(१) स्ट्रोङ्ग एग्रीगेट एण्ड ब्लक उद्योग, पोखरा–३२

स्ट्रोङ्ग एग्रीगेट एण्ड ब्लक उद्योग पोखरा–२३ का सञ्चालक सितादेवी पोख्रेल र झम्कनाथ पोख्रेल हुन् । २०६२ साल कात्तिक १० गते ब्लक उद्योग दर्ता गरेको पाइन्छ । ब्लक उद्योग दर्ता गरेर क्रसर उद्योग सञ्चालन गरेको पाइएकाले जिल्ला अनुगमन समितिले तत्काल बन्द गर्न भनेको छ । यस उद्योगले ब्लक मात्र उत्पादन गर्ने हो तर क्रसर नै सञ्चालन गरेको हुनाले प्रशासनले बन्द गराउन लगाएपनि क्रसरबाट उत्पादन गरेको सामाग्री अझै किनबेच गरेको पाइन्छ ।

(२) कार्यसिद्धी विनायक निमार्ण सामग्री उद्योग प्रा.लि, पोखरा–२९

कार्यसिद्धी विनायक निमार्ण सामाग्री प्रा.लि पोखरा–२९ पोखराकै सबै भन्दा ठूलो र अटेरी क्रसर हो । २०५३ साल साउन ३ गते अथार्त दुई दशकदेखी सचालनमा आएको कार्यसिद्धि विनायकले अझैसम्म इ.आइ.ए÷आइ.इ.इ नगरिकन कानुनको खिल्ली उढाएको छ । यसका सञ्चालक सुरेन्द्र त्रिपाठी र देवबहादुर ज्वारचन लगायतका टिम मापदण्ड विपरित क्रसर चलाउन माहिर मानिन्छन् ।

यस उद्योगले इ.आइ.ए.आइ.इ.इ रिपोर्ट समेत पेश नगरेकोले क्रसर उद्योग बन्द नगर्नु पर्ने कुनै कारण भए आफ्नो प्रमाण कागजात सहित पत्र प्राप्त भएको मितीले ५ दिन भित्र कागजात पेश गर्ने लगाउने भन्दै अनुगमन समितिले पत्रचार समेत गरेको थियो । तर अटेरी कार्यसिद्धी विनायकले पत्रको प्रती उत्तर समेत गैरजिम्मेवारी पूर्ण पठाएको जिल्ला समन्वय समिति कास्कीको भनाई छ । यस क्रसरको छुट्टै सामराज्य छ, यसले आफ्नो सामराज्य तयार पर्न प्रकृतिक स्रोत साधनमाथी बलात्कार गरेको छ । कार्यसिद्धी क्रसरले पोखरा–२९ र पोखरा–३३ जोड्ने पुललाई समेत असर पर्ने काम गरेको छ । त्यति मात्र होइन यसले सेती नदिको (साविक बग्ने बाटो)डाइभर्सन चेन्ज गरेको छ ।

(३) जे.के क्रसर उद्योग, पोखरा–२५

यस उद्योगले पनि हालको मापदण्ड अनुसार क्रसर सचालन गरेको पाइदैन् । रामप्रसाद सुबेदीहित ३ जनाले सञ्चालन गरेको यो क्रसर उद्योग नदिवाट ३ सय मिटर दुरीमा क्रसर राखेको छ । यस कम्पनीले पनि हाल कायम रहेको मापदण्ड बमोजिम आइ.इ.ए र आइ.इ.इ स्वीकृत गरी उद्योग सचालन गरेको पाइदैन् । त्यति मात्र होइन यस उद्योगले खोला छेउमा जथाभावि उत्खनन् गरेको पाइन्छ । यो उद्योग पोखरा हेम्जाको तल्लो भागमा (खोच)मा भएको हुनाले सम्बन्धित निकायको नजरमा पर्न गाह्रो छ ।

(४) इलाइट कन्स्ट्रक्सन प्रालि,पोखरा–२५ (स्वच्छन्दा इलाइट जे भि )

यस प्रालिले क्रसर उद्योगका लागि अनुमती लिएको छैन् । राजु रानाभाटले पोखरा–२५ वडा कार्यालयबाट ग्राभेल उत्खननका लागि मात्र अनुमती लिएको पाइन्छ । यसले राजमार्गबाट करिब ३ सय मिटर र याम्दी खोलबाट करिब १०–१५ मिटरको दुरीमै क्रसर सञ्चालन गरेको छ । त्यति मात्र होइन यो क्रसर बस्तीबाट जम्मा ५० मिटरमा छ । यसबाट निक्लिने धुलो सोझै बस्तिमा जाने गरेको नाङ्गो आखाँले देख्न सकिन्छ । पुष्पलाल मध्यपमहारी लोकमार्ग आयोजनको नाम यसले क्रसर उद्योगले पैसा कमाउने काम गरेको आरोप छ ।

(५) कन–टेक प्रा.लि, पोखरा–१४

कन–टेक प्रा.लि बेला बेलामा विवादमा आउने क्रसर उद्योग हो । यसले पनि जिल्ला समन्वय समितिबाट २ बर्षको लागि उत्खनन्को लागि मात्र स्वीकृत लिएको छ । क्रसर सञ्चालनकै लागि अनुमती नलिइ सेती खेलाबाट १० मिटरको मात्र दुरीमा क्रसर सञ्चालन गरेको पाइन्छ । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलमा आवश्यक पर्ने क्रसरबाट उत्पादन गरिएको सामग्री लैजाना क्रसर उद्योग सचालन गरेको दाबी गरेको पाइन्छ ।
आयोजना सँग गरेको सम्झौता पत्र, आर्पुिर्तको परिमाण, र अव आपुर्ति बाकी परिमाण खुल्ने गरे विवरण पेश गर्न जिल्ला समुन्वय समितिले पत्र काटेको छ ।

(६) भिजन लुम्बिनी उर्जा कम्पनी, माछापुछ्रे–२

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ मा रहेको भिजन लुम्बिनी उर्जा कम्पनी प्रा.लि ले दुरी मापदण्ड पुरा गरेको छैन् । राजमार्गबाट ५ सय मिटर र सेती गण्डकीबाट २ सय मिटरको दुरीमा क्रसर सचालन गरेको पाइन्छ । जिल्ला अनुगमन समितिले यो उद्योगलाई सञ्चालनका लागि मापदण्ड पूरा गर्न र आयोजनासँग गरेको सम्झौता पत्र, आपुर्तिको परिमाण , र अब आपुर्ति बाँकी परिमाण , कहिल्यै सम्म आपुर्ति गराउने भनी विवरण मागेको छ ।

(७) झ्यामोलोग्मा हाइड्रो पावर कम्पनी, माछापुच्छ्रे २

झ्यामोलोग्मा हाइड्रोले सञ्चालन गरेको क्रसर राजमार्गबाट ५ सय मिटर र सेती नदिवाट ५ देखी १० मिटर मात्र दुरीमा छ । मापदण्ड पालना नगरेकै कारण यस आयोजनालाई पनि कागजात पेश गर्न जिल्ल अनुगमन समितिले पत्र पठाएको छ ।

(८) हिम्दुत एण्ड थोकर-ड्रागन जे भि

यस कम्पनीले पनि आइ इ ए स्वीकृती लिएका छैन् । यस कम्पनीलाई पनि जिल्ला अनुगमन समितिले विवरण र थप कागजात पेश गर्न लगाएको छ ।

(९) फेउसरका बराह क्रसर उद्योग प्रा.लि, माछापुछ्रे –२

यस क्रसर उद्योगले दर्ताको लागि निवेदन दिएको छ । खोलाबाट करिब १ सय मिटर दुरीमा उद्योग खोलेको पाइन्छ । यसले माछापुच्छे« गाउपालिकाबाट उत्खनन्का लागि मात्र अनुमति लिएको छ ।

(१०) आज्आन्द्रो कन्स्ट्रसन जापानिज कोर्पोरेसन, पोखरा–१९

यो जापानिज कम्पनीले पोखरा–१९ खानेपानी प्रसोधन केन्द्र निर्माण गर्दैछ । त्यसैका लागि त्यहाँ क्रसर पनि सञ्चालन गरेको भनेपनि अनुमती लिएको छैन् । यस कम्पनीले खोलाबाट करिब २० मिटरको दुरीमा क्रसर राखेको छ ।
(११) चुरुङ्गा गौतम ब्लक उद्योग, माछापुच्छ्रे गाउपालिका–३

यस उद्योगले पनि आइ.इ.ए र आइ.इ.इ सवीकृत नलाई उद्योग सचालन गरेको छ । यस क्रसर उद्योगले राजमार्गबाट करिब ५ सय मिटर र खोलबाट १ सय मिटरको दुरीमा क्रसर सचालन गरेको पाइन्छ ।

(१२) सेती गण्डकी क्रसर उद्योग, माछापुच्छ्रे –२

यस उद्योगले हाइड्रो पावर प्रोजेक्टको लागि क्रसर सञ्चालन गरेको भनिएपनि पुष्टी हुने गरि कुनै पनि कागजात जिल्ला अनुगमन समितिलाई पेश गर्न सकेको छैन् । त्यही भएको हुनाले यसको विवरण आउन नसकेको अनुगमन समिति बताउछ ।

भिडियो रिपोर्ट

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.